कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेयरविरुद्ध उपमेयर अनशनमा

जनकपुर — नगरपालिका कार्यालय मेयरले आफ्नै घरबाट सञ्चालन गरिरहेको भन्दै धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणुदेवी झा आमरण अनशनमा बसेकी छन् ।

मेयरविरुद्ध उपमेयर अनशनमा

एउटै दल राष्ट्रिय जनता पार्टी (राजपा) बाट स्थानीय तहको चुनाव जितेका मेयर रामज्ञान मण्डल र उपमेयर झाबीचको विवादले नगरपालिकाको काम ठप्प छ ।

मेयर मण्डलको काम गर्ने शैलीप्रति विमति जनाउँदै ५ वटा माग राखेर उपमेयर झा आइतबारदेखि बघचौडास्थित नगरपालिका कार्यालयमै आमरण अनशनमा बसेकी हुन् । उनले उपमेयरको अधिकार सुनिश्चित हुनुपर्ने, बघचौडास्थित नगरपालिका केन्द्रमा नियमित कार्यालय सञ्चालन गर्नुपर्ने, मेयरले आफ्नो जनकपुरस्थित घरमा सञ्चालन गरिरहेको समान्नतर कार्यालय बन्द गर्नुपर्ने, नगरको नीति तथा कार्यक्रम र बजेट पारदर्शी हुनुपर्ने तथा विकास निर्माणलाई निरन्तरता दिनुपर्ने माग गरेकी छन् ।

उच्च रक्तचापकी बिरामी उपमेयर झाको स्वास्थ्यस्थिति बिग्रिन थालेपछि उनलाई अनशन स्थलमै स्लाइन दिएर राखिएको छ । उपमेयर झाले अधिकांश स्थानीय तहमा उपमेयरलाई अधिकार र सेवा–सुविधाबाट वञ्चित गरेको र ‘एस मेन’ मात्र बनाइएको आरोप लगाइन् ।

‘मेयरजस्तै उपमेयरलाई जनताले नै मत दिएर जिताएको हो,’ उपमेयर झाले भनिन्, ‘उपमेयरलाई माटोको मूर्ति बनाउन मात्र खोजियो । नगरको नीति–कार्यक्रम र बजेटमा समेत रायसल्लाह गरिएन ।’

प्रकाशित : चैत्र ६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?