बलेवा विमानस्थलमा परीक्षण उडान

प्रकाश बराल

बागलुङ — लामो समयदेखि बन्द बलेवा विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ । तारा एयरलाइन्सको १८ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको हो ।

बलेवा विमानस्थलमा परीक्षण उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी र प्राविधिकसहित १० जना राखेर परीक्षणका लागि जहाज पठाएको थियो ।

आगामी शुक्रबारदेखि यात्रुका लागि नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान भर्ने सहमतिअनुसार परीक्षण उडान गरिएको प्राधिकरणका पोखरा निर्देशक भोलाप्रसाद गुरागाईंले बताए । पहिलो उडानमा आएका पाइलट सन्तोष शाह, प्रभाकर घिमिरे, सञ्जीव श्रेष्ठ र को–पाइलट सिर्जना हुमागाईंले साना जहाजका लागि विमानस्थल सहज भएको बताए ।

उनीहरूले मैदानलाई अझै सम्याउनुपर्ने, जहाजको पार्किङ स्थल र यात्री प्रतीक्षालय निर्माण गर्नुपर्ने सुझाव दिए । नागरिक उड्डयन प्राधिकरण र दुवै जहाज कम्पनीसँग बागलुङ नगरपालिकाले सम्झौता गरेर १२ सिटभन्दा कम भएमा नगरपालिकाले सिट भारवहन गर्ने गरी विमानस्थल सञ्चालन गर्न लागिएको हो । नगरपालिकाले बलेवामा कार्यालय सञ्चालनका लागि नि:शुल्क जग्गा उपलब्ध गराउने सम्झौता छ । नियमित उडान भएमा प्राधिकरणले आगामी वर्ष १५ करोड रुपैयाँ लगानी गरेर मैदानलाई कालोपत्रे गर्ने आश्वासन दिएको छ । मैदानबाहेकका पूर्वाधारका लागि चाहिने जग्गा भने नगरपालिकाले उपलब्ध गराउनेछ ।

पहिलो चरणमा दुवै कम्पनीले साताको दुई उडान भर्नेछन् । दुवै कम्पनीका लागि नगरपालिकाले १०/१० लाख रुपैयाँ धरौटी जम्मा गरेको छ । त्यस्तै चालु वर्षकै लागि नगरपालिकाले मैदान मर्मतका लागि १० लाख र विमान कम्पनीलाई क्षतिपूर्ति दिनुपरेमा १० लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

बलेवा विमानस्थल सञ्चालनमा आएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले राजधानी जान हवाईमार्ग प्रयोगमा सहज हुनेछ । पोखरा पुगेर मात्रै अन्तको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । चालक शाहका अनुसार बलेवादेखि काठमाडौंको त्रिभुवन विमानस्थलमा पुग्न ४५ मिनेटको उडान हुनेछ ।

परीक्षण उडानमा आएको प्राविधिक टोलीले प्राधिकरण र नगरपालिकालाई आवश्यक सुझाव दिएको तारा एयरलाइन्सका प्रबन्धक सन्त प्रजापतिले बताए । ‘केही दिनमै थप सुधार भएपछि उडान नियमित हुनेछ,’ उनले भने, ‘उडान कुन दिशाबाट सहज हुन्छ भनेर आजै ५ पटक ल्यान्ड गरेर हेरेका छौं ।’

उनले रन–वे पर्याप्त भएकाले अन्य समस्या नहुने बताए । २०१८ मा विमानस्थल निर्माण भएको थियो । २०४८ मा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि जहाज आउन छाडेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । ‘अब हामी नियमित उडान सञ्चालनका लागि पहल गर्छौं,’ उनले भने, ‘आवश्यक पूर्वाधार निर्माण गरेर यात्रुलाई पनि सहज यात्राको व्यवस्था गरिनेछ ।’ जहाज नचल्दा तत्काल उपचारमा लैजाने बिरामी पुर्‍याउन सधैं समस्या हुने गरेको उनले बताए ।

लामो समयदेखि जहाज नचल्दा विमानस्थलको मैदान गौचरनमा परिणत भएको थियो । गत वर्षको बजेटमा १ करोड रुपैयाँ लगानी गरेर विमानस्थलमा घेरबार गर्ने काम भइसकेको छ । हाल बागलुङ बजारदेखि बलेवासम्म कच्ची सडक छ । उक्त सडकको पनि स्तरोन्नति गरिने योजना रहेको नगरप्रमुख पौडेलले बताए ।

प्रकाशित : चैत्र ६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?