कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्नेहा हत्या प्रकरण: खेतमा भेटियो अस्तु

धनुषा — पिताबाटै हत्या गरिएकी जनकपुरकी स्नेहा यादवको शव जिल्लामै अन्त्येष्टि गरिएको खुलेको छ । प्रहरीले मंगलबार सहिदनगर नगरपालिका ७ निबुवा टोलनजिक अस्तु बरामद गरेको छ ।

पिता दिलीप यादवकै बयानका आधारमा प्रहरीले शव जलाइएको स्थान फेला पारेको हो । यसअघि उनले बिरामी छोरीलाई उपचारका लागि भारत लैजाँदा बाटोमै मृत्यु भएको र उतै अन्त्येष्टि गरेको बताउँदै आएका थिए । जनकपुर २ वकिल टोलमा डेरा बस्दै आएका दिलीपले छोरीलाई चरम यातना दिँदा फागुन ९ गते उनको मृत्यु भएको थियो । त्यसलगत्तै दिलीपको दम्पती नै घरमा ताल्चा ठोकेर फरार भएको थियो ।

घटनाको सातादिनपछि प्रहरीले दिलीपलाई सिरहाबाट पक्राउ गरेको थियो । धनुषाकै सहिदनगर ७ धबौली घर भएका उनी नेपाल विद्युत् प्राधिकरण जनकपुर शाखाका कर्मचारी हुन् । १९ वर्षीया स्नेहा काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । कलेजले स्नेहाको आचरणबारे गुनासो गरेपछि उनले छोरीलाई जनकपुर झिकाएर चरम यातना दिए । छोरीको मृत्यु भएपछि उनले प्रमाण नष्ट गर्न हतारहतार शव जलाएका थिए ।

जनकपुरस्थित डेराबाट शव लैजान प्रयोग गरिएको गाडी, सहयोगी र घटनाको अन्य प्रमाण जुटाएर केरकार गरेपछि दिलीपले अन्त्येष्टि गरेको स्थान बताएका हुन् । बयान अनुसार खोजी गर्दै जाँदा निबुवा टोलको बस्तीभन्दा अलि पर गहुँ खेतमा शव जलाइएको फेला परेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर साहसहितको टोली निबुवाटोल पुगेको थियो । प्रहरीका अनुसार सिँचाइका लागि बनाएको बाँधनजिक शव जलाएपछि दिलीपले प्रमाण नष्ट गर्न पानीले पुछपाछ पारेका थिए । त्यहाँबाट केही हड्डी बरामद भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?