पुल छ, सडक छैन

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिका–२३ प्रसौनीबिर्तामा ५ वर्षअघि निर्माण गरिएको पक्की पुल उपयोगमै आउन सकेको छैन । करिब साढे ४ करोडको लागतमा निर्माण गरिएको पुलसम्म पुग्ने बाटो नहुँदा प्रयोगमा नआएको हो ।

पुल छ, सडक छैन

सडक विभागले प्रसौनीबिर्ता इटियाही टोलस्थित सिर्सिया खोलामा ६१ दशमलव ८६ मिटर लामो पुल निर्माण गरेको थियो । पुल बनाए पनि बाटो नबनाइदिँदा समस्या छ ।

पुलको पूर्वतर्फबाट निस्किएको बाटो स्थानीयको घर–खेतमा पुगेर टुंगिन्छ । आवागमनका लागि स्थानीयले खोलाको बगर र नम्बरी खेत उपयोग गरेका छन् । साइकल र मोटरसाइकल चालकले जोखिम मोलेर मुस्किलले बैकल्पिक बाटोबाट आवागमन गर्छन् । चारपांग्रे सवारीसाधन र टायरगाडा चलाउन सकिँदैन । पैदल यात्रुलाई पनि
सास्ती छ ।

महानगरकै मनियारी, इनर्वा, भवानीपुर, सौराहा र घुर्मीका बासिन्दालाई सडक नहँुदा वीरगन्ज बजार आउजाउमा कठिनाइ भएको छ । वडा नं. २२ का वडा सदस्य रामप्रसाद यादवले स्थानीय रामलाल हजरा, खोबारी हजरा र ठग हजरासमेत गरेर ३ जनाले सार्वजनिक ऐलानी जग्गामा घर बनाएकाले बाटो निर्माण गर्न नसकिएको आरोप लगाए ।

‘उनीहरूकै हठको कारण ठूलो लगानीमा बनेको पुलको उपयोग हुन सकेको छैन,’ उनले भने, ‘वडा कार्यालयले चैत ४ गते सूचना प्रकाशित गरी तीनैजनालाई आ–आफ्नो घर–टहरा हटाउन सूचित गरेको छ, अटेर गरे नियमबमोजिम कारबाही हुनेछ ।’

अर्का स्थानीय धुरेन्द्र पासवानले खोलामा पुल भए पनि बाटो नभएर पुलको पूर्ण उपयोग हुन नसक्दा वरपरका गाउँका थुप्रै बासिन्दालाई कष्ट भएको बताए ।

पुलको पूर्वी भागमा दायाँबायाँका जग्गाधनी रामाधार हजरा र दुर्गा राउतले आफ्नो नम्बरी जग्गाबाट १५/१५ फिट जग्गा सार्वजनिक उपयोगका लागि दिएका छन् । सार्वजनिक ऐलानी जग्गामा बसेका भनी स्थानीयले दाबी गरेका ३ परिवारमध्ये खोबारी हजराका छोरा सत्यनारायणले आफूहरू मात्र नभई गाउँका ३० घरधुरी ९ कट्ठा १७ धुर ऐलानी जग्गामा बसेको दाबी गरे । ‘हटाउने भए हामीलाई मात्र किन सबै ऐलानी जग्गामा बसेकालाई पनि हटाउनुपर्‍यो,’ उनले भने, ‘कि त हामी ३ परिवारलाई हटाउँदा त्यसको विकल्प दिनुपर्‍यो ।’

बढ्यो जोखिम
बर्दिया (कास)— बबई नदीको जब्दीघाटमा गत बर्खामा भासिएको पुलले जोखिम बढाएको छ । पुलले नदी थुनिने खतरा बढेकाले स्थानीयले तत्काल मर्मत थाल्न माग गरेका छन ।

बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर चौधरीले वर्षाअगावै समस्याको सम्बोधन नभए जब्दीलगायत सदरमुकाम गुलरिया बाढीको जोखिममा पर्ने बताए । ‘एकातिर बालुवा थुप्रिएको छ । अर्कोपट्टि वृक्षरोपण गरिएकाले पानी बग्ने ठाउ‘ छैन,’ उनले भने, ‘पुल पनि भासिएकाले निकास नहु‘दा दर्जन बढी गाउ‘ डुबानको चपेटामा पर्ने सम्भावना छ ।’

उत्तर–दक्षिण जोड्ने उक्त पुल भासिएको ८ महिना बितिसक्दा पनि सरोकारवाला निकायले मर्मतमा चासो देखाएका छैनन् । निर्माणमा लापरबाही गर्ने ठेकेदार कम्पनीमाथि छानबिनसमेत गरिएको छैन । कम्पनीले पिलरमुनि बग्ने पानीलाई अर्को ठाउँमा लैजान डाइभर्सन गर्नुपर्ने थियो । त्यो काममा पनि ढिलाइ भएको स्थानीयले बताए ।

उक्त पुल गत साउन २८ गतेको बाढीले भासिएको थियो । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले १६ करोड ६८ लाख लागतमा पुल निर्माण गरेको थियो । पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार पर्साबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पुल भासिएपछि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आएको थियो । तर, पिलर खन्ने काम नभएपछि फर्कियो । गुलरिया नगरपालिका–४ का वडाध्यक्ष रामबहादुर रावलले राज्यले चासो नदिए डोजर लगाएर पुल भत्काउन बाध्य हुने चेतावनी दिए ।

यस्तै पुल महाशाखाले दुई महिनाअघि ललितपुरस्थित इन्जिनियरिङ अध्ययन् संस्थानका कन्सल्टेन्स प्रमुख इन्जिनियर नारायण गौतमसहितको ४ सदस्यीय टोलीलाई छानबिन गर्न पठाएको थियो । छानबिन टोली प्रतिवेदन तयार गरी काठमाडौं फर्केको छ ।

प्रकाशित : चैत्र ८, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?