१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीमा विवाद चुलियो

तेह्रथुम/संखुवासभा — तेह्रथुमको लालीगुराँस र संखुवासभाको धर्मदेवी नगरपालिकाबीचको सीमा विवाद चुलिएको छ । विवादले पर्यटकीय क्षेत्र तीनजुरे डाँडामा निर्माण भइरहेको सुविधासम्पन्न भ्यु टावर प्रभावित भएको छ ।

पर्यटन मन्त्रालयको सहयोगमा सिमा क्षेत्रमा १ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको चारतलाको भ्यु टावर धर्मदेवी नगरपालिकावासीले आफ्नो क्षेत्रमा पर्ने भन्दै रोकेका हुन् । दुवै नगर प्रमुखसहितका स्थानीय टावर निर्माण स्थलमा भेला भएर तीन पटकसम्म छलफल गरे पनि टुंगोमा पुग्न सकेका छैनन् ।

पछिल्लो पटक गत चैत ३ गते टावर निर्माण स्थल तीनजुरे डाँडामा वसेको दुवै नगरवासीको छलफलमा समेत विवाद समाधान हुन नसकेको लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले बताए । सोही छलफलमा दुवै नगरपालिकाले आआफ्नो क्षेत्रबाट नापीका कार्मचारीसमेत ल्याएका थिए । तर नापी कर्मचारीले पनि प्रविधि र नक्सा अभावमा टावर कुन नगरपालिका क्षेत्रको जमिनमा पर्छ भनेर एकिन गर्न नसकेको बताएका छन् ।धर्मदेवी नगरपालिकाले टावर निर्माण स्थल आफ्नो क्षेत्रमा पर्ने भन्दै लिखित रूपमा दिन लालीगुराँस नगरपालिकासँग माग गरेपछि छलफल बिनानिष्कर्ष टुंगिएको नगर प्रमुख माबोहाङले बताए ।


नगरपालिकालाई सीमा विवादजस्तो जटिल विषयमा लिखित निर्णय गर्ने अधिकार नभएको नगर प्रमुख माबोहाङले बताए । गुराँस भूमि तीनजुरे डाँडामा पूर्वी तराई र भारत विहारदेखिका पर्यटकलाई आकर्षित गरी पर्यटकीय विकास गर्न लालीगुराँस नगरपालिकाले टावर निर्माण थालेको थियो । टावर निर्माण सुरु भएको एक वर्षपछि निर्माण स्थल आफ्नो क्षेत्रमा पर्ने भन्दै संखुवासभाकी प्रदेश सांसद पूर्णकुमारी गुरुङ, नगर प्रमुख रमेश जिमी र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीसमेतको टोलीले निर्माण स्थलमै आएर रोक लगाएका थिए । त्यसपछि दुवै नगरपालिकाबीच पटक पटक भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।


सीमा क्षेत्रमा निर्माण टावर लालीगुराँस नगरपालिकाले आफूहरूसँगको समन्वयविनै बनाएको र आफूहरूको पहिचान नै गुमेकाले सीमा निर्धारणपछि मात्र टावर निर्माण गर्न दिइने धर्मदेवी नगरपालिका प्रमुख रमेश जिमीले बताए । ‘टावर निर्माण नै गर्न नदिने हाम्रो उद्देश्य होइन,’ नगर प्रमुख जिमीले भने, ‘सीमा निर्धारणपछि काम अघि बढाऔं भनेका हौं ।’ नगर प्रमुख जिमीले टावर निर्माण कुनै एक जिल्लामा नभई सिमाना पर्ने दाबी गरे ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?