३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिकित्सकलाई कारबाही गर्न अटेरी

‘यहीँ उपचार हुन सक्ने बिरामीलाई अन्यत्र रिफर गरिनु गम्भीर लापरबाही हो’
भूषण यादव

वीरगन्ज — प्रसूति व्यथाले च्यापेपछि नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएकी महिलालाई उपचारै नगरी फर्काउने चिकित्सकमाथि कारबाही अघि बढाउन अस्पताल प्रशासन उदासीन देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी र अस्पताल विकास समितिले चिकित्सकलाई कारबाही गर्न निर्देशन दिए पनि अस्पतालले अटेरी गरेको हो ।

फागुन २३ गते बारा मनहर्वा–२ की सविता चौधरीलाई व्यथा लागेपछि नारायणी अस्पताल ल्याइएको थियो । सामान्य प्रक्रियाबाट प्रसूति हुन नसक्ने देखेपछि चिकित्सकले शल्यक्रिया गर्ने निर्णय लिएका थिए । पति नागेन्द्रलाई मञ्जुरीनामामा हस्ताक्षरसमेत गराइसकेका थिए । शल्यक्रियाका लागि अन्य परीक्षण गर्ने क्रममा गर्भवतीलाई हेपाटाइटिस ‘बी’ संक्रमण रहेको खुल्यो । त्यसपछि ड्युटीमा रहेकी डा.विमला बछारले शल्यक्रिया गर्न मानिनन् । नागेन्द्रका अनुसार उनले शल्यक्रिया नै नगरी सवितालाई अन्तै लैजान दबाब दिइन् । ‘हामी गरिबसँग पैसा छैन, कहाँ जाने भनेर बिन्ती पनि गर्‍यौं,’ उनले भने, ‘तर, चिकित्सकले मानेनन् । आफन्तसँग सापट लिएर गर्भवती श्रीमतीलाई एम्बुलेन्समा राखी सरकारी अस्पतालबाट बाहिरिएँ ।’

त्यहीबीच चौधरीका आफन्तले पर्साका प्रजिअ विनोदप्रकाश सिंहलाई घटना जानकारी गराए । उनले अस्पताल विकास समिति अध्यक्ष विनोद गुप्तालाई सत्यतथ्य बुझी कारबाही गर्न निर्देशन दिए । गुप्ताले तत्काल सविताको अस्पताल भर्नादेखि डिस्चार्जसम्मका कागजात नियन्त्रणमा लिएर जाँच गरे । ‘अस्पतालमै रहेका आफन्तलाई भेटेर बिरामी फिर्ता बोलाउन आग्रह गरँे,’ उनले भने, ‘उनीहरू झन्डै ५ किमि परको गण्डक चोक पुगिसकेका रहेछन् ।’ प्रसूतिगृहका इन्चार्ज डा. सुरेन्द्र चौधरीलाई बिरामीको अवस्था जानकारी गराएपछि उनले त्यही साँझ शल्यक्रिया गरी सकुशल बच्चा निकाले ।

घटनाको विस्तृत अध्ययनपछि समिति अध्यक्ष गुप्ता र सदस्य सुशील खेतानले फागुन २४ गते मेसु डा. एनामुल हकलाई ड्युटीका क्रममा गम्भीर लापरबाही गर्ने चिकित्सकलाई निलम्बन गरी कारबाही अघि बढाउन लिखित प्रतिवेदन नै दिएका छन् । ‘यही अस्पतालमा उपचार हुन सक्ने बिरामीलाई किन रिफर गरियो ?,’ गुप्ताले भने, ‘यो गम्भीर लापरबाही हो ।’ उनका अनुसार अस्पतालको रजिस्टरमा बिरामीलाई औषधि चलाइएको देखिन्छ तर कार्डेक्स चार्टमा कुनै विवरण छैन । भर्ना चार्ट पनि भरिएको छैन ।

डा. बछार नै ड्युटीमा रहेका बेला गत महिना अन्य २ घटनामा पनि बच्चाको मृत्यु भएकाले छानबिन गर्न प्रतिवेदनले सुझाएको छ । प्रतिवेदन बुझाएको झन्डै ३ साता बित्न लाग्दा मेसुले न चिकित्सकलाई निलम्बन गरेका छन्, न त छानबिन समिति गठन गरिएको छ । बरु चिकित्सक नै बछारलाई जोगाउन एकजुट भएका छन् । समिति अध्यक्षले प्रतिवेदन बुझाउने दिन उनीहरूले २ घण्टा काम ठप्प पारेका थिए ।

मेसु डा. एनामुल हकले आरोपित चिकित्सकलाई स्पष्टीकरण सोधिएको बताए । ‘स्पष्टीकरण चित्तबुझ्दो भएकाले कारबाही नगरिएको हो,’ उनले भने, ‘चिकित्सकले आफ्नो हातमा घाउ भएकाले शल्यक्रिया गर्न नमानेको जनाएकी छन् ।’ चिकित्सकलाई घाउ लाग्दैमा त्यहीँ उपचार हुन सक्ने बिरामी किन अन्यत्र रेफर गरियो त ? ‘बिरामीलाई हेपाटाइटिस ‘बी’ देखिएकाले पनि चिकित्सक आत्तिएकी हुन्,’ हकले भने ।

प्रकाशित : चैत्र ११, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?