२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राजधानीमै बढ्यो बलात्कार

४३ दिनमा २६ उजुरी
हरेक दिन ३ घटना
३ वर्षमा ३ हजार ५ उजुरी
जनकराज सापकोटा

काठमाडौँ — राजधानी जिल्ला काठमाडौंमा पछिल्ला दिन भएका बलात्कारका घटनाले प्रहरी प्रशासनलाई नै झस्काइदिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार फागुन १ देखि चैत १३ भित्र काठमाडौंमा जबरजस्ती करणीका २६ उजुरी परेका छन् ।

राजधानीमै बढ्यो बलात्कार

मानव विकास सूचकांक उपल्लो बिन्दुमा रहेको जिल्लामै बलात्कार घटनाको उक्लँदो ग्राफले अन्यत्रको अवस्था अकल्पनीय रहेको संकेत गर्छ ।

प्रहरीका अनुसार दर्ता भएका उजुरीका पीडितमा १० वर्षमुनिका ३ बालिका छन् भने १० देखि १५ वर्ष उमेर समूहका ९ जना, १५ देखि २० वर्ष उमेर समूहका २ जना, २० देखि ५० वर्ष उमेर समूहका १० जना र ५० वर्ष माथिका एक जना महिला बलात्कारको सिकार भएका छन् । प्रहरीले दर्ता भएका २६ मुद्दाका २६ जना नै आरोपीलाई पक्राउ गरिसकेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/७१ यताका तीन वर्षमा देशभरको रेकर्डअनुसार बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन् जसअनुसार प्रत्येक दिन औसतमा ३ वटा बलात्कारका घटना भएका देखिन्छन् । यो त प्रहरीमा दर्ता भएका घटनाको मात्र तथ्यांक हो । प्रहरीका अनुसार दर्ता वा सार्वजनिक नभएका घटना पनि जोड्ने हो भने कहालीलाग्दो तथ्यांक भेटिन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ९ सय ३५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । त्यसयताका वर्षमा यो संख्या बढ्दो देखिन्छ । २०७१/७२ मा ९ सय ८१ वटा बलात्कारका घटना दर्ता भए भने २०७२/७३ मा बढेर एक हजार ८९ पुगेको देखिन्छ ।

नक्कली डाक्टर बनेर बलात्कार
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ६ चैतमा आइपुगेकी एक युवतीको बयान सुनेर प्रहरी चकित पर्‍यो । ती युवतीले आफूलाई एक जना डाक्टरले झुक्याएर मित्रनगरको एक गेस्टहाउस पुर्‍याई बलात्कार गरेको जाहेरी दिइन् । जाहेरीपछि प्रहरीले घटनाको दिनको सीसीटीभी फुटेजका आधारमा बलात्कारमा संलग्न युवकको खोजी सुरु गर्‍यो ।

पक्राउ परेका युवक डाक्टर नरहेको, परिचय बदलेर घिनलाग्दो कर्तुत गरेको खुल्दा अनुसन्धानमा संलग्न प्रहरी नै जिल्ल परे । बाँसबारीमा रहेको गंगालाल अस्पतालमा आमाको उपचार गराउने क्रममा भेट भएका एक युवकले आफूलाई डाक्टर सन्तोष घलेको नामले चिनाएका थिए । ती युवकले सामान्य चिनाजानीकै आधारमा आफ्नो अस्पतालका डाक्टरसँग राम्रो चिनजान रहेको र उपचारमा सहयोग गर्ने भन्दै युवतीसँग निकटता बढाए । पीडित युवतीका अनुसार युवकले सामाखुसीमा आफ्नो सानीआमासँग भेट गर्न जाने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर मित्रनगरको गोरखा फूलबारी गेस्टहाउस पुर्‍याए । युवतीले आफूलाई कोठाभित्र थुनेर चुकुल लगाई डरत्रास देखाएर पटकपटक जबरजस्ती करणी गरेको बयान दिएकी छन् ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा गाेंगबुबाट गत सोमबार सन्तोष भन्ने युवकलाई पक्राउ गरेपछि पो प्रहरीले थाहा पायो, उनी न डाक्टर रहेछन्, न उनको नाम नै सन्तोष रहेछ । महाराजगन्ज वृत्तका डीएसपी योगेन्द्र थापाका अनुसार उनी पाल्पा, तानसेन ११ स्थायी घर भई काठमाडौं महानगरपालिका २६ बस्ने अर्जुन कोइराला रहेछन् । डीएसपी थापाले बलात्कारकै उद्देश्यले प्रेरित भएर ती युवक आफ्नो परिचय ढाँटेर युवतीसँग नजिकिएको बताए ।

प्रहरीका अनुसार कुनै समय नेपाली सेनाको जवान रहेका कोइराला बलात्कारमा संलग्न भएकै कारण बर्खास्तगीमा परेका थिए । महाराजगन्ज वृत्तले थप अनुसन्धान गर्न उनलाई काठमाडांैं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिसकेको छ ।

प्रकाशित : चैत्र १६, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?