सुरु भयो यार्सा मार्च

स्थानीय तहले राजस्व संकलन गर्ने
वसन्तप्रताप सिंह

बझाङ — जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाको मुख्य आयस्रोतको रूपमा रहेको यार्सा संकलनको तयारी सुरु भएको छ ।

सुरु भयो यार्सा मार्च

विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा संकलन क्षेत्रमा ३ महिनाका लागि लेकतिर सामल ढुवानी गर्नेहरूको लर्काे लाग्न थालेको छ ।

विशेषगरी, सुर्मा, साइपाल, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाका यार्सागुम्बा संकलकहरू यतिखेर सपरिवार लेक उक्लन थालेका हुन् । वैशाख पहिलो सातादेखि सुरु हुने यार्सा संकलनपूर्व नै स्थानीयले ३ महिनाका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री लेकतर्फ पुर्‍याउने गर्छन् । भेडा खच्चर हुनेहरूले चौपायाबाट र नहुनेले बोकेरै सामानहरू संकलन क्षेत्रमा पुर्‍याउने गर्छन् ।

लेकमा बस्न पाल गाड्ने तथा दाउराको जोहो गर्न स्थानीयहरू चैत मध्यतिर नै संकलन क्षेत्रमा पुग्ने गर्छन् । यार्सा संकलनका लागि भनेर यस क्षेत्रबाट धनगढी, महेन्द्रनगर, काठमाडौंलगायतका बाहिर जिल्लामा काम विशेष र अध्ययनका लागि गएका बासिन्दा पनि सबैजसो बझाङ आइसकेको सुर्माका देव बोहराले बताए ।

लेकमा सामल पुर्‍याइसकेपछि थकाइ मार्दै संकलकहरू । तस्बिर : वसन्तप्रताप

यस अवधिमा अल्पकालीन रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएकाहरू पनि घर फर्किने गरेको उनले बताए ।

उत्तरी भेगका सबै गाउँका बासिन्दा वैशाखदेखि असार महिनासम्म पूर्ण रूपमा यार्सा संकलन क्षेत्रमा बस्ने गर्छन् । गाउँमा अशक्त, वृद्धवृद्धा, सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने बालबालिका मात्र हुन्छन् । ‘धेरैजसो लेक उक्लिइसके,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘बाँकी रहेका केही परिवार पनि आजभोलि नै जाने तयारीमा छन् । चैत अन्तिमतिर सबै गाउँ खाली भइसक्छन् ।’

लेक जानेका कारण अहिले सदरमुकाम चैनपुर र स्थानीय बजारमा सरसामान किन्नेहरूको निकै भीडभाड हुन थालेको छ । लेकमा आवश्यक पर्ने जुत्ता, ज्याकेट लगायतका न्याना लत्ताकपडा, उपभोग्य सरसामान खरिद गर्नेहरूका कारण बजारको कारोबारमा निकै वृद्धि भएको फेन्सी पसल सञ्चालक डबलबहादुर खडकाले बताए । ‘परिवारका सबै सदस्यलाई न्याना लुगा किन्नेको भीड लाग्न थालेको छ । एकै परिवारले २०/२५ हजारसम्मका लुगा खरिद गर्ने गरेका छन्,’ अन्य क्षेत्रमा न्यानो लुगाको सिजन नभए पनि बझाङमा भने गर्मी मौसम सुरु हुन लाग्दा न्याना लुगाको माग बढेको उनले बताए ।

स्थानीय तहले यार्सा संकलन क्षेत्रमा जानेहरूबाट राजस्व संकलन गर्ने तयारी गरेका छन् । केही दिनअघि बसेको गाउँपालिकाको बैठकले गाउँपालिकाभित्र बसोबास गर्नेबाट प्रतिव्यक्ति एक सय, गाउँपालिका बाहिरका संकलकबाट प्रतिव्यक्ति पाँच सय र बाहिरी जिल्लाका संकलकबाट एक हजार रुपैयाँ राजस्व संकलन गर्ने निर्णय गरेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

यस्तै साइपाल गाउँपालिकाले स्थानीय तहभित्रका संकलकका लागि २ सय ५०, छिमेकी स्थानीय तहका संकलकका लागि ३ सय ५०, जिल्लाभित्रका संकलकका लागि ५ सय र जिल्ला बाहिरका व्यक्तिबाट १ हजार राजस्व संकलन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र धामीले बताए । उनले यार्सा संकलन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लाडि सुरक्षा व्यवस्थाका लागि पनि जिल्ला र प्रदेश स्तरमा पत्राचार गर्ने काम भइसकेको उनले बताए ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?