२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संग्रहालय निर्माणमा अल्झन

संग्रहालय निर्माण अन्योलमा परे पनि पार्क बनाउन सुरु

गोरखा — भूकम्पको केन्द्रविन्दु बारपाकमा प्रस्ताव गरिएको भूकम्प स्मृति जीवित संग्रहालयको निर्माण अन्योलमा परेको छ । दलित बस्तीको करिब सात रोपनी जग्गामा संग्रहालय बनाउने तयारी गरिए पनि थातथलो छाड्ने र नछाड्नेमा स्थानीयको मत बाझिएको छ । जग्गा प्राप्ति नहुँदा निर्माणमै अन्योल छ ।

संग्रहालय निर्माणमा अल्झन

‘१० परिवारले बाउ–बाजेको पालादेखि बस्दै आएको ठाउँ छाड्दैनौँ भनेका छन्,’ वडाध्यक्ष रोशन विकले भने । उनीहरू अहिले पुरानै ठाउँमा नयाँ घर बनाउने तयारीमा जुटेकाले संग्रहालयका लागि जग्गा प्राप्त हुन नसकेको उनले बताए । ३५ मध्ये अरू परिवार ठाउँ छाडेर सरकारी जग्गामा सरिसकेका छन् । ‘भूकम्पले जीर्ण बनाएको बस्ती भौगर्भिक हिसाबले बस्न अयोग्य रहेको एक थरीको भनाइ छ । अर्को पक्ष पुरानो ठाउँ छाड्न सक्दैनौं भन्छन्,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।


जोखिम क्षेत्रका स्थानीयलाई स्थानान्तरण गरी संग्रहालय बनाउने योजना अघि सारिएको थियो । स्थानान्तरण गर्ने क्षेत्रको जग्गा प्राप्तिको फाइल पुनर्निर्माण प्राधिकरणसम्म पुगे पनि स्वीकृत भइसकेको छैन । प्राधिकरणको टोलीले एक साताअघि संग्रहालय बनाउने भनिएको ठाउँको स्थलगत निरीक्षण पनि गरेको थियो । २०७२ वैशाख १२ को भूकम्पले भत्काएको संरचना र भग्नावशेष जस्ताको तस्तै राखेर संग्रहालय निर्माणको योजना बनाइएको थियो ।


बारपाकमा संग्रहालय र भूकम्प स्मृति पार्क निर्माण एकै चरणमा सुरु गर्ने तयारी थियो । जग्गा विवादका कारण संग्रहालय निर्माण अन्योलमा परे पनि पार्क निर्माण भने सुरु भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भूकम्प स्मृति पार्क निर्माण गर्न लागिएको हो । पुनर्निर्माण कार्यालयमार्फत जिल्ला आयोजना कार्यान्वयन इकाइले पार्क निर्माणको काम सुरु गरेको जनाएको छ । १३ करोड ७ लाख लागतमा बन्ने पार्कको निर्माण कार्य दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । २ सय १६ रोपनी क्षेत्रफलमा पार्क निर्माण सुरु भएको सहरी विकास मन्त्रालयअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइकी उपप्रमुख सुनीता श्रेष्ठले बताइन् ।


‘भूकम्प स्मृति स्तम्भ हुने नै भयो, त्यसको वरिपरि १४ वटै जिल्लाका भूकम्पमा परी ज्यान गुमाएकाहरू सबैको नाम हुन्छ,’ उनले भनिन् । यीसँगै बगैंचा, शौचालय, चमेनागृह र प्रतीक्षालयलगायत संरचना पार्कभित्र निर्माण गरिनेछ । पार्क निर्माणका लागि गत आर्थिक वर्षमा १ करोड र चालु आवमा ४ करोड विनियोजन भएको छ ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?