इन्धन ढुवानी ठप्प

शंकर आचार्य

पर्सा — प्रहरीले सहकर्मीलाई कुटेको विरोधमा इन्धन बोक्ने ट्यांकर चालकले सोमबार बिहानैदेखि काम ठप्प पारेका छन् ।

इन्धन ढुवानी ठप्प

ना३ख ९६३९ नम्बरको ट्यांकर चालक चितवनका सन्तोष प्रसाईंलाई सीमा प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक (सई) विनोद मल्लिक र उनी मातहतका एक प्रहरी कर्मचारीसमेतले आइतबार साँझ भारतीय सीमामा कुटपिट गरेको भन्दै चालकहरूले काम ठप्प पारेका हुन् ।

उनीहरूले ट्यांकर यथास्थानमा पार्किङ गरी सीमावर्ती भारतीय बजार रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनबाट तेल लोड गर्न र भारतकै बरौनीबाट इन्धन लिएर आउने कामसमेत ठप्प पारे । नेपाल ट्यांकर चालक संघमा आबद्ध ३ सय चालकले काम ठप्प पारेको संघका केन्द्रीय अध्यक्ष विनोद मानन्धरले बताए ।

‘चौकीका सई मल्लिकले यसअघि पनि ट्यांकर चालकलाई दुव्र्यवहार गर्दै आएका थिए,’ उनले भने, ‘तर यसपटक भने अचाक्ली भयो, ट्रिपर र भारतीय मालवाहक सवारी चालकलाई केही नभन्ने तर ट्यांकर चालक देख्नासाथ जाइलाग्न खोज्ने उनको व्यवहार असह्य भएपछि हामी बाध्य भएर विरोधमा उत्रनुपरेको हो ।’

उनले घटनाको निष्पक्ष छानबिन गरी सई मल्लिक र दोषी अर्का प्रहरीलाई कारबाही नभएसम्म विरोध जारी राख्ने बताए । चालक प्रसाईंले आफू आइतबार साँझ आईओसीको रक्सौल डिपोमा इन्धन लिन जाँदा ढिला भएर नपाएपछि त्यहाँबाट खाली ट्यांकर लिएर नेपाल फर्किंदा सीमामा प्रहरीले दुव्र्यवहार र कुटपिट गरेको बताए ।

आफूले नेपालस्थित शंकराचार्य गेटनजिक ट्यांकर पार्किङ गर्न खोज्दा त्यहाँ खटिएका एक प्रहरी जवानले अपशब्द प्रयोग गर्दै लाठीले देब्रे तिघ्रामा प्रहार गरेको बताए । उनको तिघ्रामा घाउ भएको छ । ‘मैले नियमपूर्वक पार्किङ गर्न खोज्दा पनि ती प्रहरी जवानले मलाई गालीगलौज गर्दै लाठीले हिर्काए,’ प्रसाईंले भने, ‘मैले आफू गलत नहुँदा पनि प्रहरीले दुव्र्यवहार गरेकामा विरोध जनाउन खोज्दा ती प्रहरी जवानले फोन गरी तत्कालै चौकी इन्चार्ज सई मल्लिकलाई बोलाए ।’

सई मल्लिक आएलगत्तै उनले पनि अपशब्द प्रयोग गरी आफूलाई गालीगलौज गर्दै गालामा थप्पड हिर्काएको प्रसाईंले बताए । गाला र कानमा समेत चोट लाग्ने गरी दुवै हातले पुन: हिर्काएपछि आफू केहीबेर अचेत भएको प्रसाईंको भनाइ छ । उनीहरूले सहचालक सुरज गिरीलाई पनि त्यसरी नै अपशब्द प्रयोग गरेको उनले बताए ।

नेपाल आयल निगम अमलेखगन्ज क्षेत्रीय कार्यालय प्रमुख प्रदीप यादवका अनुसार रक्सौल र बरौनीबाट ३ सय थान ट्यांकरले दैनिक ४ लाख लिटर इन्धन आयात गर्दै आएका छन् । उनले एक दिन इन्धन आयात प्रभावित भए त्यसको असर इन्धनको आपूर्ति व्यवस्थामै पर्ने बताए । यो नाका भएर भित्रिने इन्धनले मुलुकको इन्धनको ७० प्रतिशत हिस्सा ओगटेको छ । उनले हाल राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको अभाव रहेकोमा यसरी आयात ठप्प भए त्यसले हवाई सेवासमेत प्रभावित हुने बताए ।

यो नाकाबाट भित्रिने इन्धन वीरगन्ज, पोखरा, जनकपुर र राजधानीसम्मै पुग्ने गर्छ । आफूले सीमामा भएको घटना र त्यसकारण बन्द भएको इन्धन ढुवानीको समस्याबारेमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह र निगम केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको पनि यादवले बताए ।

जिल्ला प्रहरीका डीएसपी राजन लिम्बूले ट्यांकर चालकले दाबी गरे जस्तो कुटपिट नभएको जिकिर गरे । ‘चालकले ट्राफिक नियम उल्लंघन गर्दा प्रहरीबाट सामान्य मौखिक दुव्र्यवहारसम्म भएको हो, कुटपिट नै भएको छैन,’ उनले भने, ‘चालकले नियमविपरीत काम गरेको देखेपछि प्रहरीले रोक्न खोजेको मात्र हो ।’

नाकाको जाम खुलाउन र त्यहाँ ट्राफिक व्यवस्था राम्रो बनाउन खटिएका प्रहरीको मनोबल गिर्ने गरी संघले काम गरेको उनले आरोप लगाए । ‘यसरी नाकामा खटिएका प्रहरीको मनोबल गिराउने काम गरिए त्यहाँ प्रहरीले ड्युटी नगर्दा मुलुकको मुख्य नाका नै अवरुद्ध हुन जान्छ,’ डीएसपी लिम्बूले भने, ‘आरोप लगाइएबमोजिम प्रहरी दोषी पाइए उनीहरूलाई कारबाही गर्न हामी पछि पर्दैनौँ ।’

प्रकाशित : वैशाख ४, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?