कान्ति लोकपथ: निर्माण अन्तिम चरणमा

हेटौंडा — ६ दशक अघिदेखि निर्माण कार्य सुरु भएको कान्ति लोकपथ कात्तिकदेखि सञ्चालनमा आउने भएको छ । ‘यो पथ भएर कात्तिकको अन्तिमसम्ममा मालवाहक ट्रक र यात्रुवाहक बस गुड्नेछन्,’ कान्ति लोकपथ आयोजना प्रमुख देवेन्द्र साहले भने, ‘त्यतिबेलासम्म करिब ५ किलोमिटरबाहेक बाँकी सडक कालोपत्रे गरिसक्नेछौं ।’

कान्ति लोकपथ: निर्माण अन्तिम चरणमा

चालु आवको असार मसान्तसम्ममा मकवानपुरतर्फ २६ र ललितपुरको १२ गरी ३८ किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्य छ । बाँकी कालोपत्रे भदौ–असोजदेखि सुरु गरिने आयोजनाले जनायो । विस्फोटक पदार्थको अभावले केही भाग फराकिलो पार्न भने समस्या भएको छ । मकवानपुरतर्फ साढे १ किलोमिटर, ललितपुरको ४ किलोमिटर सडकलाई फराकिलो बनाउन विस्फोटक आवश्यक छ ।

विस्फोटक पदार्थको अभावले चालु आवको ९ महिना बितिसक्दा पनि उक्त क्षेत्रमा काम हुन नसकेको आयोजनाले जनाएको छ । करिब साढे ५ किलोमिटर सडक फराकिलो पार्न छिट्टै टेन्डर निस्कँदैछ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा हेरिएको यो लोकपथमा माघ महिनाको अन्तिम सातादेखि यात्रुवाहक बस सञ्चालन गर्ने योजनासाथ काम थालिएको भए पनि विस्फोटक पदार्थको अभाव नै मुख्य बाधक बनेको छ ।

तर, निर्माण सुरु भएको ६२ वर्षपछि लोकपथ पूर्णता पाउने अन्तिम चरणमा पुगेको छ । हलुका सवारीसाधन हेटौंडा–काठमाडौं आवतजावत गर्न थालिसकेका छन् । सडक चौडा र नाली बनाउने तथा कालोपत्रेका काम तीव्र गतिमा भइरहेका छन् ।

१३ वटा प्याकेजमा काम भइरहेको छ । हेटौंडातर्फको साढे १५ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजना प्रमुख साहले बताए । ललितपुरतर्फ पनि ४ किमि कालोपत्रे भइसकेको छ । उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने दुई सय २६ र पालुङ हुँदै आउने एक सय ३६ किमि सडकको विकल्प तयार हुनेछ ।

यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन् । कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’ को प्रयोग गरिँदैछ । निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरमा एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा ६० करोड रुपैयाँ खर्च भएको आयोजनामा चालु आवका लागि पनि त्यति नै रकम विनियोजन गरिएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?