१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दूधकोसीले फेरियो सोक्मटार गाउँ

सोक्मटार (ओखलढुंगा) — मध्यपहाडी लोकमार्गको निर्माणसँगै स्थानीयको जीवनस्तरमा परिवर्तन देखिन थालेको छ । सडक पुगेपछि नदी किनारका बस्ती व्यापारिक केन्द्र बन्दै छन् । स्थानीय कृषि उपजले बजार लिन थालेको छ । घन्टौँ हिँडेर गन्तव्यमा पुग्नुपर्ने झन्झट हटेको छ । गाउँ र सदरमुकामको दूरी छोटिएपछि स्थानीयले राहत महसुस गरेका छन् ।

दूधकोसीले फेरियो सोक्मटार गाउँ

सडक पुगेपछि कृषि प्रणालीमा नयाँ आशा जागेको छ । सोक्मटार गाउँ त्यसको उदाहरण हो । गत वर्षसम्म यहाँका बासिन्दा चैतको खडेरी र उखरमाउलो गर्मीमा दिनभरि थकाइ मार्थे । गाउँमा शीतलमा बस्ने ठाउँ हुन्नथ्यो । यो वर्ष गत कात्तिकबाट दिनचर्या बदलिएको छ । सौर्य ऊर्जा (सोलार) सहित पानी तान्ने पम्प जडान भएर दूधकोसीको पानी पाखोबारीमा सिँचाइ हुन थालेपछि उनीहरूको दैनिकी फेरिएको छ ।

लोकमार्गको उदयपुर जिल्ला कटेलगत्तै सुनकोसी नदीको हर्कपुर पुल तरेपछि ओखलढुंगा प्रवेश हुन्छ । त्यही हर्कपुरबाट तीन किलोमिटर माथि हिलेपानी गाउँ छ । हिलेपानी भन्ज्याङबाट उत्तरतर्फ सोलुखुम्बु र पूर्वतर्फ खोटाङ हलेसी जाने दोबाटो छुट्छ । हिलेपानी भन्ज्याङमुनि दूधकोसी किनाराको बस्ती सोक्मटारमा अहिले ठूलो परिवर्तन आएको छ । केही वर्षअघिसम्म साउन र भदौमा मात्र मकै फल्ने गाउँमा अहिले चैत महिनामै मकैका घोगा लागेका छन् । अधिकांशले बारीमा गोलभेडा फलाइरहेका छन् । आलु, काउली, बन्दा, मुला, गाँजर, फर्सीलगायत तरकारी उमारेका छन् ।

हर्कपुर, जयरामघाट बजार, मानेभन्ज्याङ हाट, सदरमुकाम ओखलढुंगा र खोटाङको हलेसी बजारसम्म पुर्‍याएर बेच्ने गरेका छन् । ढुवानीका निम्ति कसैले डोको र नाम्लो लगाएर बोक्नुपरेको छैन । मोटरसाइकल र ट्याक्टरलगायत सवारीसाधन प्रयोग गर्दछन् ।

प्रत्येक घरपरिवारको आयस्रोत बढ्न थालेको छ । वैदेशिक रोजगारी जानेसमेत गाउँ फर्किएका छन् । ‘गाउँमै कोसीको पानी पुगेपछि विदेश नफर्किने सोच बनाएँ,’ अरबमा चार वर्ष बिताएर फर्किएका युवा विष्णुराज राईले भने, ‘मिहिनेत गर्ने ठाउँ पाएमा अरबभन्दा गाउँमै कमाउन सकिन्छ ।’ सौर्य ऊर्जाबाट तानिएको दूधकोसीको पानीले सोक्मटार गाउँका ३० घरधुरी लाभान्वित भएका छन् । सयौँ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ ।

सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदानबापत नि:शुल्क रूपमा सौर्य ऊर्जा प्रणाली जडान गरिदिएको हो । जम्मा १ सय १८ वटा सोलार प्यानल र ६ वटा पानी तान्ने पम्प छन् । १८ वटा प्यानल बराबर एउटा पम्पले ६३ एमएमको पाइपमा पानी तान्ने गर्छ । यसको कुल लागत २ करोड १५ लाख रुपैयाँ छ ।

सौर्य ऊर्जा र प्रविधिको प्रयोग गरी सोक्मटारदेखि झन्डै १ हजार ३ सय मिटर उचाइमा पानी पुर्‍याउन सकेमा हिलेपानी गाउँका झन्डै चार सय घरधुरी लाभान्वित हुने देखिन्छ । फरक फरक तीन ठाउँमा पानी ट्याङकी निर्माण गरी पानी जम्मा गरिएको स्थानीय शिक्षक दिलीप राईले बताए । ‘बिहानै पानी आउँदैन, तर जति जति घाम चर्किंदै जान्छ उति उति नदीको पानी बढेर आउँछ,’ उनी भन्छन्, ‘त्यसैले पनि दिउँसो आराम गर्ने फुर्सद हुन्न ।’

सुर्ती खेतीमा रोक
सोक्मटार गाउँको परम्परागत नगदेबाली सुर्ती खेती हो । तर रोम्दु खोलादेखि सुरु हुन लागेको अर्को सिँचाइ योजनाले भने अब सुर्ती खेती गर्न नपाइने जनाएको छ । ‘हामीले सिँचाइको योजना सम्पन्न गरेपछि त्यो पानीबाट सिञ्चित गरेर सुर्ती खेती गर्न पाइन्न,’ सिँचाइ सबडिभिजनका प्रमुख महेश यादवले भने, ‘अन्य तरकारी तथा नगदेबाली लगाउनका लागि हामीले अग्रिम जानकारी र अभिमुखीकरण दिइसकेका छौँ ।’

नसुध्रिएको पशुपालन
सोक्मटार भेगमा परम्परागत रूपमा गाई, गोरु, भैँसी, बाख्रा, सुँगुर, कुखुरा र हाँस पालन गरिन्छ । यहाँ उन्नत जातका पशु पालन हुन सकेको छैन । अर्कोतर्फ ती घरपालुवा पशुलाई हिउँदभरि छाडा छाड्ने चलनले सामूहिक कृषि प्रणालीमा बाधा पुग्ने गरेको छ ।

यस्तै मानव सिर्जित फोहोरमैला सिधै नदीमा विसर्जन गर्ने गरिएको छ । त्यसैले गर्दा प्रदूषण बढेको छ । प्लास्टिकजन्य कोकाकोला, डिउ, स्प्राइटका बोटल, कुरकुरे, चाउचाउ, बिस्कुट जस्ता नकुहिने खोल, प्लास्टिकका झोला, पुराना लत्ताकपडा नदीमा फाल्ने गरिएको छ । त्यसैगरी घर, होटलका फोहोर, शौचालयका नाली सिधै नदीमा जोडिएका छन् । त्यसैले गर्दा स्थानीयले नदीको पानी पिउन छाडेका छन् ।

प्राकृतिक स्रोत दोहन
लोकमार्गले जनजीवन सहज तुल्याउनु सकारात्मक पक्ष हो । तर नदी किनाराका बस्ती नै जोखिममा पार्ने गरी अवैध रूपमा बालुवा, गिट्टी र ढुंगा झिक्ने गरिएको छ ।

दूधकोसीपारि खोटाङतर्फको खान्डुङ खोला पहिरोले सोक्मटार गाउँ कटान गरेको छ । सोक्मटार गाउँमा सौर्य ऊर्जाबाट दूधकोसी नदीको पानीले सिँचाइ पुगेकै छ । त्यसका अलावा सरकारी योजनामा पाँच किलोमिटर पूर्वोत्तर रोम्दुखोलाबाट खानेपानी ल्याइएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा रोम्दुखोलाबाट सोक्मटार सिँचाइको योजनासमेत तीव्र गतिमा बन्दैछ । ‘नयाँ प्रविधिमा आधारित सिँचाइ योजना’ अन्तर्गत सोक्मटार रोम्दुखोला सिँचाइ योजनाको काम सुरु हुन लागेको हो । उपभोक्ता समितिसँग कामको सम्झौता भइसकेको छ ।

प्रकाशित : वैशाख ६, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?