कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक बलात्कारपछि हत्या: ‘प्रहरीले घटना सामसुम पार्न खोज्यो’

दमक — सामूहिक बलात्कारपछि हत्या गरिएकी महिलाका आफन्तले प्रहरीले हत्यारा पक्राउ गर्न बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मोरङ मधुमल्लाका उनीहरूले बुधबार दमकमा पत्रकार सम्मेलन गरी तत्काल हत्यारा पक्रन स्थानीय प्रशासनसँग माग गरे ।

सामूहिक बलात्कारपछि हत्या: ‘प्रहरीले घटना सामसुम पार्न खोज्यो’

मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लाकी ४४ वर्षीया शान्तिकुमारी तामाङको हत्या भएको डेढ महिना बिते पनि प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन । पत्रकार सम्मेलनमा मृतककी भदै रेणुका राईले हत्यारा पक्रन तथा घटना अनुसन्धान गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको आरोप लगाइन् । ‘हामी कमजोर परिवारको भएकैले घटनाप्रति प्रहरीले गम्भीरता देखाएन, प्रहरीले घटना ढिसमिस गराउन खोजेको देखिन्छ,’ उनले भनिन् । हत्यामा संलग्न आरोपमा काठमाडौंबाट केही व्यक्तिलाई पक्राउ गरिए पनि तत्कालै छाडिएकोप्रति परिवारले आपत्ति जनाएको छ ।

दाजु भवीराज राईले आन्दोलन गरेर भए पनि हत्यारालाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए । हत्यारा सार्वजनिक नहुँदासम्म गाउँलेले सुरक्षा तथा पीडित परिवारले राहत महसुस गर्न नसक्ने उनको भनाइ छ । ‘डेढ महिनासम्म हामीले अरू कुनै काम राम्ररी गर्न पाएका छैनौं । प्रहरीले खोज्दैछौं भनेकाले हत्यारा पक्राउ पर्ने आसमा बस्यौं तर अहिलेसम्म कुनै प्रगति भएको देखिँदैन,’ उनले भने ।

स्थानीय नगेन्द्रकुमार लामिछानेले दबाब नपुगेकाले घटनाप्रति प्रहरी प्रशासन गम्भीर नबनेको आरोप लगाए । उनले कानुनी राज्यमा डेढ महिनासम्म हत्यारा पक्राउ पर्न नसक्नु आमजनताका लागि चिन्ताको विषय भएको बताए ।

फागुन १९ गते राति आफ्नै गाउँमा शान्तिकुमारीको हत्या भएको थियो । सामूहिक बलात्कार र हत्यापछि ढुंगाले किचेर फालिएको शव निर्वस्त्र अवस्थामा गाउँकै राम्री खोला किनारमा भेटिएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले घटनाबारे अनुसन्धान जारी रहेको बताए । अहिलेसम्मको अनुसन्धानले घटना स्थानीयवासीबाटै भएको देखिएको पनि उनले जनाए । ‘घटनाप्रति प्रहरी गम्भीर नभएको भन्ने आरोप निराधार छ । हामी निरन्तर अनुसन्धानमा जुटिरहेका छौं,’ थापाले भने, ‘केही टेक्निकल अनुसन्धान पनि गर्नुपर्ने भएकाले त्यसतर्फ जुटिरहेका छौं ।’

प्रकाशित : वैशाख ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?