जुधेरै मर्छन् बाघ

बाघ जोगाउन चुनौती
रमेशकुमार पौडेल

चितवन — सौराहाबाट झन्डै तीन किलोमिटर पश्चिम बद्रहनी गाउँपारिको गाईघाटमा आइतबार एउटा पोथी बाघ मृत अवस्थामा फेला परेको छ । सोही क्षेत्र वरपर चैत १० गते पनि मरेको एउटा पोथी बाघ भेटिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पुर्वी क्षेत्रको जंगलभित्र आइतबार बिहान मृत फेला परेको बाघ । 

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालय प्रमुख सहायक संरक्षण अधिकृत अविनय पाठकका अनुसार मृत बाघको घाँटी र पेटमा गहिरो घाउ छ । अर्को बाघसँग जुधेका कारण मरेको हुन सक्ने उनको अनुमान छ । एक महिनाअघि पनि चोटकै कारण पोथी बाघ मरेको थियो । त्यो पनि अर्को बाघसँग जुधेको अनुमान लगाइएको छ ।

बाघका डमरु दुई वर्षसम्म आमासँगै रहन्छन् । त्यसपछि अलगिन्छन् । मरेका बाघ तीन वर्ष उमेरसम्मका थिए । ठाउँ र आहाराका लागि अरू बाघसँग लडाइँ भएको निकुञ्जका अधिकारीको अनुमान छ । यो बीचमा निकुञ्जबाहिरको जंगलमा पनि त्यस्तै घटना भए । राष्ट्रिय वन क्षेत्रअन्तर्गत पर्ने रत्ननगरको पञ्चकन्या सामुदायिक वनभित्र वैशाख ७ गते एउटा बाघ मृत फेला पर्‍यो । त्यसअघि पनि पञ्चकन्या वनभित्रै चैत ७ गते पनि मृत बाघ भेटिएको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

Citizen

दुर्लभ वन्यजन्तु मानिन्छ बाघ । चितवनको पूर्वी क्षेत्रमा चैतयता चार बाघ मरेपछि संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । वन अधिकृत पौडेलका अनुसार बरन्डाभार क्षेत्रको वनभित्र गत साउनमा पनि एउटा बाघ मरेको अवस्थामा फेला परेको थियो । भेटिएका सबै बाघ भाले रहेको उनले बताए ।

निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा एकपछि अर्को मृत बाघ भेटिँदा संरक्षणकर्मी चिन्तित छन् । नेपालमा दुई सयभन्दा कम बाघ छन् । सबैभन्दा धेरै बाघ चितवनमै छन् ।

‘आउँदो केही वर्षभित्र बाघको संख्या दोब्बर बनाउने संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् । महिना दिन नबित्दै एकपछि अर्को बाघ मर्दा बढ्ने होइन, घट्ने जस्तो देखियो,’ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले समुदायमा गठन गरेको बाघ संरक्षण उपसमितिका संयोजक जितु लामाले भने । आठ वर्षअघि विश्वमा बाघ पाइने देशहरूको सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या त्यो बेलाको भन्दा दोब्बर बनाउने घोषणा गरेको थियो । ‘घोषणा गरेर मात्रै हुँदैन । बाघको बासस्थानको व्यवस्थापन पनि हुनुपर्छ । बँदेल र चित्तलजस्ता आहारा बढ्नुपर्छ । आहारा कम भएपछि बाघ जुधेर मर्ने गर्छन् । अहिले त्यही भएको हो कि भन्ने देखिन्छ,’ लामाले भने ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आहारा राम्रो भएका क्षेत्रमा १२ देखि १५ वर्ग किलोमिटर क्षेत्रमा एउटा भाले बाघ बस्न सक्छ । एउटा भाले बाघ बस्ने क्षेत्रमा दुई तीनवटा पोथी बाघ बसेका हुन्छन् । अहिले मरेका बाघहरू के कारणले मरेका हुन्, तत्कालै केही भन्न नसकिने उनको भनाइ छ ।

‘उनीहरूमाथि अर्कोले आक्रमण त गरेको छ । तर के कारणले आक्रमण गरेको हो ? यही नै हो भनेर तत्कालै भन्न सकिएन,’ अर्यालले भने । भर्खर माउबाट छुटेका बच्चा भएकाले उनीहरूले राम्रोसँग सिकार गर्न पनि नसकेको हुन सक्ने अर्यालको अनुमान छ । ‘कुनै भालेले मारेको सिकार खान जाँदा आक्रमणमा परेको पनि हुन सक्छन्,’ अर्यालले भने ।

अघिल्लो वर्ष चितवन निकुञ्जमा चारवटा बाघ मरेका थिए । त्यसमध्ये एउटा बच्चा थियो । त्यो बाघ खोलामा डुबेर मरेको थियो । बाँकी तीनमध्ये दुईवटा बूढो भएर र अर्को एउटा मात्रै जुधेर मरेको देखिएको सूचना अधिकारी अर्यालले बताए । सन् २०१३ को गणनाअनुसार नेपालमा १ सय ९८ वटा बाघ छन् जसमध्ये १ सय २० वटा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको राष्ट्रिय वन क्षेत्रमा छन् । बाघ दुर्लभ वन्यजन्तु भएका कारण कुनै व्यक्तिले मारेमा पाँचदेखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : वैशाख १०, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीलाई चिठी लेख्दै बालबालिका

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरिका एक हजार बालबालिकाले आफू पढ्दै गरेको विद्यालयको अवस्था चित्रण गर्दै प्रधानमन्त्रीलाई चिठी लेख्ने भएका छन् । ‘शिक्षाको विश्वव्यापी अभियान’ अनुसार शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई), नेपालले यस्तो तयारी गरेको हो । वैशाख ११ बाट सुरु हुने साताव्यापी यो अभियान विश्वभर सञ्चालन हुँदै छ ।

सार्वजनिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीले विद्यालय सुधारका निमित्त मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखेको चिठी प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने अभियानका अध्यक्ष कुमार भट्टराईले पत्रकार सम्मेलनमा बताए । ती पत्र स्थानीय तह र शिक्षा मन्त्रालयमा समेत पुर्‍याइनेछ ।

संविधानले सुनिश्चित गरेको माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको अधिकार कार्यान्वयनका निम्ति केन्द्र, प्रदेश र स्थानीय सरकारले आफ्नो कुल बजेटको कम्तीमा २० र कुल गार्हस्थ उत्पादनको कम्तीमा ६ प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने अभियानको माग छ । सन् २००३ देखि शिक्षाको विश्वव्यापी अभियान (जीसीई) जारी छ ।

प्रकाशित : वैशाख १०, २०७५ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्