भीसी गजे घलेको सम्झनामा संग्रहालय

भूकम्पले भत्किएका घर हेर्न आउने आगन्तुकका लागि अब संग्रहालय अर्को आकर्षण बनेको छ
हरिराम उप्रेती

बारपाक (गोरखा) — दोस्रो विश्वयुद्घमा भिक्टोरिया क्रस पाएका गजे घलेको जन्मथलो बारपाकमा उनकै नामको संग्रहालय स्थापना भएको छ । गुरुङ र घले समुदायको बाहुल्यता रहेको यो गाउँमा परम्परागत सामग्री संकलन गरेर संग्रहालयमा राखिएको छ ।

भीसी गजे घलेको सम्झनामा संग्रहालय

‘लाहुरे गाउँ’ भनेर चिनिने बारपाकका अधिकांश युवाको लक्ष्य सेनामै जागिर खाने हुन्छ । भर्तीमा जान प्रोत्साहन गर्ने देन उनै भिसी घलेको रहेको स्थानीयले बताए । सन् १९१८ मा जन्मिएका घले २० वर्षको उमेरमा भर्तीमा गएका थिए । उनले सन् १९४३ मा बर्माको लडाइँमा वीरता प्रदर्शन गरेपछि प्रतिष्ठित भिक्टोरिया क्रस पाएका थिए । सन् २००० मार्चमा दिवंगत घलेलाई अझै पनि बारपाकमा प्रेरक व्यक्तित्वका रूपमा लिइन्छ ।

२०७२ वैशाख १२ को भूकम्पलगत्तै घाइतेको उद्धारका लागि भारतीय सेनाले ठूलो सहयोग गरेको थियो । यहाँबाट धेरैजना भारतीय सेनामा रहेकाले बारपाक लक्षित उद्धारलाई प्राथमिकता दिइएको थियो । ‘यहाँका धेरैजना सेनामा कार्यरत भएकाले पनि त्यो बेला इन्डियन आर्मीले हामीलाई निकै सहयोग गर्‍यो,’ स्थानीय जित गुरुङ भन्छन्, ‘अहिले फौजमा रहेका र रिटायर भएर पेन्सन बुझिरहेकाहरू थुप्रै छन् ।’

सडक पूर्वाधारको विकास र आधुनिकतासँगै बारपाकमा सहरियाले उपभोग गर्नेजस्तै सुविधा पुगिसकेको छ । परम्परागत सामग्रीको प्रयोग हराएको छ । भीसी घलेको सम्मानसँगै नयाँ पुस्तालाई पुर्खाले उपयोग गरेका सामान देखाउन संग्रहालय स्थापना भएको छ ।

भूकम्पको केन्द्रविन्दु बारपाकले निकै क्षति बेहोरेको थियो । यहाँ पुनर्निर्माणको काम धमाधम छ । भूकम्पले भत्किएका घर हेर्न पुगेका आगन्तुकका लागि अब संग्रहालय अर्को आकर्षण बनेको छ ।

पुर्खाहरूले प्रयोग गरे पनि अहिलेका युवाले नदेखेका सामग्री संग्रहालयमा राखिएको स्थानीय खेमराज घलेले बताए । ‘गजे घलेको घरमा पुरानो बन्दुक भेट्टायौं, संग्रहालयमा राखेका छौँ,’ उनले भने, ‘त्यो बन्दुक गजेले प्रयोग गर्थे वा गर्दैनथे भन्नेचाहिँ यकिन गर्न सकेनौं ।’

बेलायती सेनामा रहँदा घलेले प्रयोग गरेको सुट प्रदर्शनीमा राखिएको छ । ‘सात भिक्टोरिया क्रस विजेतामध्ये चारजना गोरखाकै छन्,’ उनले भने, ‘हामीले गजे घलेको संग्रहालय बनाएपछि अन्य ठाउँका गाउँलेहरूले पनि त्यो सिको गर्न सक्छन् ।’

वर्षाैं पुराना सामग्री संग्रहालयमा देख्न सकिने उनले बताए । ‘म ४२ वर्षको भएँ, मैले नै नदेखेका पुराना सामान देख्न पाएको छु,’ उनले भने । करिब दुई सय वर्षपहिले बारपाकका स्थानीयले मुसा मार्न प्रयोग गर्ने पासो पनि संग्रहालयमा राखिएको छ । ‘काठको लाम्चो खालको, तल मुसाले खानेकुरा खाएपछि माथि धागो हल्लिएर काठले मुसा ढाक्ने पासो छ, यो निकै पुरानो हो,’ उनले भने ।

बाँसबाट बनेका घिउ र दही राख्ने ठेकी–मदानी पनि संग्रहालयमा जतन गरिएको छ । ८० वर्ष पुरानो खुत्रुकेलगायत संग्रहालयमा ८० भन्दा बढी प्रकारका सामान राखिएको एडभेन्चर ग्रामीण विकास कार्यक्रम सेभेन सिस्टरकी अध्यक्ष दलकुमारी घलेले बताइन् ।

‘हामीले गाउँलेबाटै संकलन गरेका हौं,’ उनले भनिन् । संग्रहालयमा राखिएका बच्चा सुताउने बाँसका कोक्रा, गोठालाहरूले प्रयोग गर्ने बाकस र खुत्रुके लगायतका सामान यतिबेला चलनबाट हराएको छ । ‘बारपाकका घले–गुरुङहरूको परम्परागत भान्सा कोठा, परिवारका सदस्य भान्साको काममा सरिक भइरहेको अवस्थालाई जीवन्त ढंगले प्रस्तुत गर्ने प्रयत्न गरेका छौं,’ उनले भनिन् ।

घरको भुइँतलामा भान्सा कोठा, मध्यभागमा चुलो वा अँगेनो र जाडोयाममा अँगेना वरिपरि परिवारका सदस्यहरू आगो ताप्न भेला हुने विषयलाई वेशभूषासहित डमी बनाएर प्रदर्शनमा राखिएको छ । ‘आफूलाई चाहिने घरेलु प्रयोगका सामान आफैं बनाउनु जनजातिको विशेषता हो,’ उनले भनिन्, ‘संग्रहालयबाट त्यसको झझल्को दिन खोजेका छौं ।’

भूकम्पपछि आधुनिक शैलीका घर र भान्सा कोठा बन्न थालेपछि परम्परागत भान्सा कोठा र चुलो हराएका छन् । त्यस्ता परम्परागत विशेषता जोगाउन नसकेकामा बारपाकमा चिन्ता गर्नेहरू पनि छन् । सम्पदा संरक्षणको ज्ञान भएका प्राविधिकले सल्लाह दिएको भए परम्परागत घरको विशेषता जोगाउन सकिने उनीहरूको बुझाइ छ । संग्रहालय अवलोकनका लागि पुगेका पर्यटकले बारपाकको स्थानीय पहिचान झल्काउने आठ मिनेट अवधिको डकुमेन्ट्री पनि हेर्न सक्नेछन् ।

संग्रहालय अवलोकन गर्न आउनेका लागि शुल्क निर्धारण गरिएको छ । विदेशी पर्यटकलाई प्रतिव्यक्ति ५०, नेपालीलाई २५ र विद्यार्थीलाई १५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । गत शनिबारदेखि सञ्चालनमा आएको संग्रहालयसहित सूचना केन्द्र भवन स्थापनाका लागि ४३ लाख ३० हजार रुपैयाँ खर्च भएको सेभेन सिस्टरकी सहसचिव निशा घलेले बताइन् ।

‘पर्यटन मन्त्रालयको १५ लाख, पुरातत्त्व विभागको २२ लाख र सांसद कोषको ६ लाख २० हजार रुपैयाँ सहयोगले संग्रहालय स्थापना भएको हो,’ उनले भनिन् । सेभेन सिस्टर र बारपाक होमस्टेसँगको समन्वयमा संग्रहालय स्थापना भएको हो ।

२०७१ सालमा अस्थायी रूपमा संग्रहालय स्थापना भए पनि २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको थियो । भूकम्पले संग्रहालयमा क्षति पुर्‍याए पनि बचेका सामग्री संकलन गरेर पुन: प्रदर्शनमा राखिएको हो । अब संग्रहालयमा गजे घलेको डमी बनाउने योजना स्थानीयले बनाएका छन् ।

प्रकाशित : वैशाख १७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?