हुलाकी मार्ग : वनको अटेरीले निर्माण अधुरै

सडक क्षेत्रभित्र पर्ने जैविकमार्गका रूख हटाउन वन प्रशासनबाट ढिलाइ हुँदा र कान्द्रा नदीको पुलको डिजाइन परिवर्तनले निर्माणमा ढिलाइ
मोहन बुढाऐर

धनगढी — कैलालीको धनगढीदेखि सत्ती–खक्रौलासम्मको ६२ किमि लामो हुलाकी सडकको निर्माण अझै पूरा भएको छैन । उक्त खण्डअन्तर्गत पर्ने वसन्ता जैविकमार्गका रूख कटान नहुँदा निर्माण अधुरै रहेको हो ।

हुलाकी मार्ग : वनको अटेरीले निर्माण अधुरै

उक्त सडकको ८ वर्षअघि निर्माण सुरु गरिएको थियो । हुलाकी सडक आयोजना प्रमुख मनीषकुमार साहले सडक क्षेत्रभित्र पर्ने जैविकमार्गका रूख हटाउन वन प्रशासनबाट ढिलाइ हुँदा र कान्द्रा नदीको पुलको डिजाइन परिवर्तनले निर्माणमा बिलम्ब भएको बताए । ‘हुलाकी सडकको २ किमि क्षेत्र वसन्ता जैविकमार्गमा पर्छ,’ उनले भने, ‘वनले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरी सडकभित्र परेका रूख हटाउने काम अहिलेसम्म सुरु गरेको छैन ।’ यी दुवै कारणले २ वर्षअघि भारत सरकारले निर्माण सम्पन्न गरिसक्नुपर्ने उक्त खण्ड पूरा हुन नसकेको हो । ६२ मध्ये १८ किमि मात्रै बन्न बाँकी छ । पूर्व–पश्चिम हुलाकी सडकको पहिलो चरणको कामअन्तर्गत भारत सरकारले धनगढीदेखि सत्ती–खक्रौलासम्मको ६२ किमि सडक निर्माणको काम सुरु गरेको थियो ।

भारतीय ठेकेदार कम्पनी जीआर गावतले सन् २०१० बाट निर्माण सुरु गरी २०१६ मा बीचैमा छाडेको थियो । त्यो बेला निर्माण कम्पनीले हसुलियाको कटनी नदीदेखि लालबोझीको कान्द्रा नदीसम्मको १८ किलोमिटर हुलाकी सडक मात्रै निर्माण गर्न बाँकी राखेको थियो ।

‘तत्कालीन अवस्थामा हुलाकी सडकभित्र पर्ने २ किमि जैविकमार्गका रूख हटाउने काम हुन सकेन,’ साहले भने, ‘कान्द्रा र कनरी नदीमा पुल निर्माणको कामसमेत ढिलो भयो, त्यसैले भारतीय पक्षले बीचैमा काम बन्द गर्‍यो ।’ उनका अनुसार नेपाल सरकारका तर्फबाट गरिनुपर्ने पुल निर्माण र जैविकमार्गको रूख हटाउने काम समयमै भए २ वर्षअघि नै भारतीय निर्माण कम्पनीले ६२ किमि हुलाकी सडक निर्माण सम्पन्न गरिसक्थ्यो । उक्त कम्पनीले धनगढीदेखि हसुलियासम्मको ३१ र भजनीदेखि सत्तीसम्मको १२ गरी ४३ किमि एक लेन सडक निर्माण गरेको थियो ।

भारत सरकारले निर्माण गरेको हुलाकी सडक । तस्बिर : मोहन

सोही कम्पनीले हुलाकी सडकअन्तर्गत पर्ने सत्ती–लम्की २७ किमि सडक खण्डको निर्माण सम्पन्न गरेको आयोजना प्रमुख साहले बताए । उनले भारत सरकारले निर्माण गर्न बाँकी छाडेको १८ किमि सडक अहिले नेपाल सरकार आफैंले बनाउन सुरु गरेको जानकारी दिए । टुडी प्रेरणा चन्द्र एन्ड वसन्त जेभी कम्पनीले कामको जिम्मा पाएको छ । सरकारले चैत २०७५ भित्र निर्माण सम्पन्न गर्ने गरी २७ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

उक्त निर्माण कम्पनीले हालसम्म १८ प्रतिशत काम गरेको आयोजना प्रमुख साहले बताए । उनले कान्द्रा नदीको पुलको डिजाइन परिवर्तनले पनि निर्माण सम्पन हुन केही ढिलो हुने बताए । डिजाइन परिवर्तन गरिएको पुल निर्माणको ठेक्का ५ करोड ६१ लाखमा लामा शाल्पा शेर्पा जेभी कम्पनीलाई दिइएको छ । उक्त निर्माण कम्पनीले अहिलेसम्म काम सुरु नै गरेको छैन । यस्तै कटनी नदीको पुल निर्माणमा पनि ढिलाइ भएको छ ।

‘बारम्बार ताकेता गर्दासमेत ठेकेदार कम्पनीले तोकिएको समयमा पुल निर्माण गर्नेतर्फ चासो देखाएको छैन,’ आयोजना प्रमुख साहले भने, ‘ठेक्का भएको ६ वर्ष पूरा हुँदैछ । निर्माणको काम ८५ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।’ उनले ठेकेदार कम्पनीलाई दिइएको अन्तिम म्याद पनि गुजारेमा कारबाही गर्ने चेतावनी दिए । उक्त कम्पनीसित कटनी नदीको पुल निर्माण सम्पन्न गर्न २ करोड ६९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित : वैशाख २५, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?