कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइका ३ सय योजना अलपत्र

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–१३, कुदुको तीन सय हेक्टर खेतीयोग्य फाँट बाँझो छ । वडा नम्बर १०, भुरचौरको २ सय ४० हेक्टर जमिनको अवस्था पनि उस्तै । कुशे गाउँपालिका–८ मा दुई सय हेक्टर र बारेकोट गाउँपालिका–३ रोकायगाउँको १ सय ४० हेक्टर जमिनमा खेती हुन सकेको छैन ।

सिँचाइका ३ सय योजना अलपत्र

यी उदाहरण मात्रै हुन् । सिँचाइ अभावमा जिल्लाको १० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ । यसले अन्न उत्पादनमा ह्रास आउँदा जिल्लावासी बर्सेनि खाद्य अभाव झेल्न बाध्य छन् । जिल्लामा २५ हजार हेक्टर जमिन खेतीयोग्य भए पनि अधिकांशमा आकाशे पानीकै भर पर्नुपर्छ । १५ हजार हेक्टरमा मात्र हिउँदे बाली हुने गरेको छ ।

५ हजार हेक्टरमा बाह्रै महिना र ३ हजारमा आंशिक सिँचाइ हुने गरेको कृषि प्रसार अधिकृत मुकेश रामजालीले बताए । ‘हिउँदे बाली लगाइएको ५० प्रतिशत जमिन आकशे पानीको भरमा छ,’ उनले भने । सिँचाइ अभावले अधिकांश भूभागमा अन्नबाली र तरकारी तथा फलफूल खेतीको उत्पादन शून्य हुने गरेको रामजालीले बताए । बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिकालगायत स्थानीय तहका अधिकांश गाउँमा खाद्य असुरक्षा बढेको पनि उनले जानकारी दिए ।

एकातिर खेतीयोग्य जमिन बाँझो छ, अर्कातिर बजेट अभावमा यहाँका तीन सय सिँचाइ योजनाको निर्माण अलपत्र छ । माथिल्लो निकायमा पहुँच नहुँदा जिल्लाबाट सिफारिस भई गएका सिँचाइ योजनाको बजेट तथा कार्यक्रम स्वीकृत नहुने गरेको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद पौडलले बताए । चालु आवमा १० प्रतिशत योजनाका लागि समेत बजेट विनियोजन नभएको र स्वीकृत भएका योजनामा पनि न्यून बजेट मात्रै रहेको उनले जानकारी दिए ।

६ करोड लागतको कुदु लिफ्ट सिँचाइ योजनाको बजेट कार्यक्रम स्वीकृत नहुँदा वर्षौंदेखि काम अघि बढ्न सकेको छैन । ‘सिँचाइ सुविधा नपुगेको खेतीयोग्य जमिन १० हजार हेक्टरभन्दा बढी छ,’ पौडेलले भने, ‘कार्यालयमा पनि योजनाको चाङ छ । सबै योजना सम्पन्न गर्न एक अर्ब बजेट चाहिन्छ ।’ न्यून बजेट र जनशक्ति अभावले काम गर्न कठिन भएको उनको गुनासो छ ।

भुरचौर सिँचाइ योजना निर्माण सुरु भएको तीन वर्ष बित्यो तर अझै सम्पन्न भएको छैन ।

सरोकारवाला पक्षको लापरबाहीले १० करोड लागतको योजना अलपत्र हुँदा जमिन बाँझै छ । स्वीकृत योजनामा पनि दुई लाखदेखि १० लाख मात्र बजेट आउने गरेको पौडेलले बताए । ‘यति थोरै बजेटले योजना सुरुवातसमेत गर्न सकिँदैन,’ उनले भने, ‘त्यसमाथि विगतका जिल्ला परिषद्ले पास गरेका सयौं योजना स्वीकृत हुन सकेका छैनन् ।’ अन्य जिल्लामा करोडौंको दरले बजेट विनियोजन हुने गरे पनि जाजरकोटमा २/३ करोड मात्र बजेट आउने गरेको डिभिजनले जनाएको छ । कनिका छरेजसरी आउने बजेटले सिँचाइ योजना अघि बढाउन नसकिँदा आकाशे पानीका भरमा खेतीपाती हुने गरेको कृषक भद्रबहादुर बटालाले बताए ।

प्रकाशित : वैशाख २७, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?