१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करी र हत्या प्रकरण: थुनछेक बहस सुरु

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका सबै प्रतिवादीलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन सरकारी वकिलहरूले माग गरेका छन् ।

सुन तस्करी र हत्या प्रकरण: थुनछेक बहस सुरु

तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै उनीहरूले इजलाससमक्ष बिहीबार यस्तो माग गरेका हुन् ।
प्रमाणका आधारमा सबै उत्तिकै जिम्मेवार भएकाले उनीहरूलाई छाड्दा समाजमा संगठित अपराधमा संलग्नहरूको मनोबल बढ्न सक्ने उनीहरूले तर्क गरेका थिए । मोरङ जिल्ला अदालतमा सुरु भएको ‘थुनछेक बहस’ का क्रममा सरकारी पक्षका वकिलले यस्तो जिकिर गरेका हुन् ।

सरकारतर्फबाट चार जना वकिलले बहस गरेका थिए । संगठित अपराधमा संलग्न भएकाले उनीहरूलाई धरौटी वा तारिखमा छाड्दा प्रमाण नष्ट गर्ने जोखिमसमेत रहेको उनीहरूले बताए । संगठित अपराधमा अरू धेरैको समेत संलग्नता रहेको र कतिपय फरारकै सूचीमा रहेकाले अभियुक्तकै सुरक्षा जोखिममा पर्न सक्ने भन्दै उनीहरूले थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन ध्यानाकर्षण गराए ।

संगठित अपराध ऐनअन्तर्गत उनीहरूमाथि थप अभियोगपत्र पेस गर्न सकिने सम्भावना भएकाले पनि अभियुक्तहरूलाई छाड्दा प्राप्त र सम्भाव्य अन्य प्रमाण लोप हुन सक्ने सरकारी वकिलहरूको भनाइ छ ।

बिहीबार सरकारका तर्फबाट बहसमा सहभागी काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजालले तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्त दोषी देखिएको बताए ।

इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष उनले आफ्नो बहस प्रस्तुत गरेका थिए । यसैगरी मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले पनि अभियुक्तहरूलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरे । धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्य, सप्तरीका पुण्यप्रसाद सापकोटाले पनि सरकारका तर्फबाट बहस गरेका थिए । सापकोटाको बहस नसकिएकाले शुक्रबार उनीसहित उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, मोरङका सहन्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले पनि बहस गर्ने भएका छन् ।

अभियुक्ततर्फका ८३ जना कानुन व्यवसायी
यसैबीच प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या थपिएको छ । मंगलबारसम्म ४४ जनाले बहसका लागि नाम दर्ता गराएकामा बिहीबार थपिएर ८३ जना पुगेका छन् । बहसका लागि प्रदेश १ का विभिन्न जिल्लासहित काठमाडौंबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलगायतले पनि नाम दर्ता गराएको अदालतको मुद्दा शाखाका प्रमुख रुद्र खड्काले बताए । सरकारी पक्षबाट बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने रजिस्ट्रार नवराज दुलालले बताए ।

आफन्तसँग भेट
बहसका क्रममा प्रहरी नियन्त्रणमा रहेका सबै ३० जना अभियुक्त इजलासमा उपस्थित थिए । इजलासबाहिर उनीहरूका आफन्त भेला भएका थिए । कतिपयले बहस विश्रामको समयमा खाजा र पानी ल्याएर खुवाएका थिए ।

यही मौकामा आफन्तसँग अभियुक्तहरूले कुराकानी गर्न पाएका थिए । यही समयमा इजलास रहेको कोठाबाहिर कतिपय अभियुक्तले आफ्नातर्फबाट बहस गर्न नाम दर्ता गराएका कानुन व्यवसायीसित छलफलसमेत गरेका थिए । उक्त प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले अघिल्लो बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि अदालतले पाँच दिन लगाएर प्रहरी नियन्त्रणका सबै अभियुक्तको बयान लिएको थियो । यस क्रममा कतिपयले प्रहरीमा दिएकै बयान दोहोर्‍याएका थिए भने कतिपयले बयान फेरेका थिए । यो मुद्दाका कुल ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन् ।

प्रकाशित : वैशाख २८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?