कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुन तस्करी र हत्या प्रकरण : सरकारी वकिलहरूको बहस जारी

आइतबारदेखि प्रतिवादीका वकिलको बहस

विराटनगर — सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङमा शुक्रबार पनि सरकारी वकिलहरुको थुनछेक बहस जारी छ ।

सुन तस्करी र हत्या प्रकरण : सरकारी वकिलहरूको बहस जारी

बिहीबार सरकारका तर्फबाट काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका मनोज आचार्य र सप्तरीका पुण्यप्रसाद सापकोटाले बहस गरेका थिए ।


इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष भएको बहसमा उनीहरुले तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्तहरु दोषी देखिएको बताएका थिए । अभियुक्तहरुलाई थुनामै राखेर कारबाही अघि बढाउन उनीहरुले माग गरे ।


सापकोटाको बहस बिहीबार नसकिएकाले शुक्रबार पनि जारी रहने जिल्ला अदालतले जनाएको छ । उनीबाहेक शुक्रबार उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, मोरङका सहन्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले बहस गर्नेछन् ।


तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका सबै प्रतिवादीहरूलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाइनुपर्ने सरकारी वकिलहरूको माग छ ।


प्रमाणका आधारमा सबै उत्तिकै जिम्मेवार भएकाले उनीहरुलाई छाड्दा समाजमा संगठित अपराधमा संलग्नहरुको मनोबल बढ्न सक्ने उनीहरुले तर्क गरेका छन् ।


संगठित अपराधमा संलग्न भएकाले उनीहरुलाई धरौटी वा तारेखमा छाड्दा प्रमाण नष्ट गर्ने जोखिम समेत रहेको उनीहरुले बताएका छन् । संगठित अपराधमा अरू धेरैको समेत संलग्नता रहेको र कतिपय फरारकै सूचीमा रहेकाले अभियुक्तहरु स्वयंको सुरक्षा जोखिममा पर्न सक्ने भन्दै सरकारी वकिलहरुले अदालतलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन ध्यानाकर्षण गराएका हुन् ।


संगठित अपराध ऐन अन्तर्गत उनीहरुमाथि थप अभियोगपत्र पेस गर्न सकिने सम्भावना भएकाले पनि अभियुक्तहरुलाई छाड्दा प्राप्त र सम्भाव्य अन्य प्रमाण लोप हुन सक्ने सरकारी वकिलहरुले थुनामै राख्न माग गरेका छन् ।


यसैबीच, प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या बिहीबार साँझसम्म ८३ पुगेको छ । सरकारी वकिलहरुको थुनछेक बहस सकिएपछि आफ्ना पक्षका तर्फबाट उनीहरुले अदालतसमक्ष बहस गर्ने छन् । सम्भवत: आइतबारदेखि उनीहरुको बहस सुरु हुनेछ ।

प्रकाशित : वैशाख २८, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?