सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीतर्फको बहस जारी

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीहरूका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरू भएको छ । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने काम जारी छ ।

सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीतर्फको बहस जारी

उनीहरुले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्न सुरु गरेका हुन् । प्रतिवादीतर्फको बहस दुई–तीन दिनमा सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसपछि इजलासबाट प्रतिवादीमध्ये कसलाई थुनामा राख्ने वा छाड्नेबारे आदेश हुने अदालत स्रोतले जनाएको छ । सरकारका तर्फबाट वकिलहरुले बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुन लागेको हो ।

प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराइसकेका छन् । बहसमा सहभागी हुन काठमाडौंबाट समेत कानुन व्यवसायी आउने भएका छन् । यस्तै मोरङ, सुनसरी, झापालगायत स्थानका कानुन व्यवसायीले पनि प्रतिवादीका तर्फबाट बहस गर्न नाम दर्ता गरेका छन् ।


यसअघि सरकारका तर्फबाट ७ जनाले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए । बिहीबार र शुक्रबार गरी दुई दिन चलेको बहसमा उनीहरुले उपलब्ध प्रमाणका आधारमा प्रतिवादीहरु कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन माग गरेका थिए ।


‘अभियुक्तलाई छाडे प्रमाण लोप हुन सक्छ’

सरकारतर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुली, मोरङका सहन्याधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका मनोज आचार्य, सप्तरीका पुण्यप्रसाद सापकोटाले बहस गर्दै अभियुक्तहरुलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरेका थिए ।


यो ‘भिक्टिमलेस’ (प्रत्यक्ष पीडित नदेखिने प्रकृतिको) अपराध भएको उल्लेख गर्दै प्रतिवादीहरुलाई छाड्दा भने अपराध मौलाउन सक्ने र राज्यले थप क्षति ब्यहोर्नुपर्ने अवस्था आउने तर्क गरेका थिए । अभियुक्तहरुको घरबाट बरामद गरिएका रजिष्टर र अन्य कागजातले सुनका कारोबारी हुन् भन्ने प्रष्ट भएको उल्लेख गर्दै प्रतिवादी स्वयंले बयानमा सुन आएको स्वीकारेकाले सुन बरामद हुनु/नहुनु नै अभियुक्तहरु कारोबारी होइनन् भन्न सकिने आधार हुन नसक्ने बताएका थिए ।


‘प्रतिवादीहरु संगठित अपराधमा संलग्न हुन्’ बहसमा उनीहरुले भने, ‘यसमा ठूलो समूहको सहभागिता छ, त्यसैले प्रहरी सुरक्षाभन्दा बाहिर रहँदा उनीहरुस्वयं असुरक्षित हुने भएकाले पनि थुनामै राख्नु उचित हुन्छ ।’ अभियुक्तहरुलाई छाड्दा संगठित अपराधमा संलग्नहरुको मनोबल बढ्ने, यो प्रकरणमा अरू धेरैको समेत संलग्नता रहेको र कतिपय फरार रहेकाले अभियुक्तहरु स्वयंको सुरक्षा जोखिममा पर्न सक्ने साथै संगठित अपराध ऐन अन्तर्गत उनीहरुमाथि थप अभियोगपत्र पेस गर्न सकिने र नियन्त्रणमा नरहे सम्भाव्य प्रमाण लोप हुन सक्नेतर्फ बहसकर्ताले जिल्ला अदालतको ध्यानाकर्षण गराएका थिए ।


प्रमाणका रूपमा इजलाससमक्ष शव्यदृश्य

शुक्रबार भएको बहसका क्रममा इजलासमा अभियुक्तहरुले प्रहरीमा दिएको बयानको भिडियो रेकर्ड देखाइएको थियो । करिब ५ मिनट देखाएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बयान आफूहरुले पढिसकेको भन्दै देखाउनु नपर्ने भनेपछि रोकिएको थियो ।


अदालतसमक्ष प्रस्तुत गरिएको भिडियोमा मोरङको उर्लाबारीभन्दा उत्तर चारकोसे जंगलभित्र सुनका भरिया भनिएका सनम शाक्यलाई मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) लगायतले यातना दिएको दृश्य पनि समेटिएको एक सरकारी वकिलले बताए । त्यसमा शाक्यलाई कुटपिट गरेको र करेन्ट लगाएर ‘सुन कहाँ छ’ भनेर केरकार गरेको दृश्य छ । त्यसबेला दिइएको यातनाकै कारण शाक्यको मृत्यु भएको प्रहरी अनुन्धानबाट खुलिसकेको छ ।


प्रतिवादीहरुबीच टेलिफोनमा भएको कुराकानीको प्रहरीले ‘डिजिटल फरेन्सिक ल्याब’ मा परीक्षण गर्दा पाइएका कुरा पनि प्रमाणका रुपमा समेटिएको जनाइएको छ । यस्तै सरकारद्वारा गठित उच्चस्तरीय समितिले लिएको बयानको भिडियो रेकर्ड पनि अदालतमा प्रस्तुत गरिएको मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए । जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोगपत्रसाथ अभियुक्तका बयान, टेलिफोन कुराकानी, जंगलमा शाक्यलगायत समूहलाई दिइएको यातना जस्ता गतिविधिको श्रव्य–दृश्य समेटिएको २५ वटाभन्दा बढी ‘सीडी’ अदालतसमक्ष प्रमाणका रुपमा पेस गरेको छ ।


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १० दिनअघि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि अदालतले पाँच दिन लगाएर प्रहरी नियन्त्रणका सबै अभियुक्तहरुको बयान लिएको थियो । यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन् ।

प्रकाशित : वैशाख ३०, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?