पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — वर्षासंगै खसेको पहिरोले आइतबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारी साधन ठप्प छन् भने यात्रुले पैदल हिड्नसमेत सकेका छैनन् । 

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका साना सवारी साधन बुटवलतिरै फर्किएका छन् । ठूलाठूला ढुंगा खसेकाले पहिरो सफा गर्न केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए । पहिरो खसेको थाहा पाउनासाथ लोडर पठाएको तर काम गर्न नसकेपछि रुपन्देही सडक डिभिजनबाट हेडी डोजर मगाएको उनले बताए ।


‘ठूला ढुंगा भएकाले खुलाउन केही अप्ठेरो छ,’ उनले भने, ‘गतवर्षकै जस्ता ठूला ढुंगा आएको छ ।’ सडकमा पहिरो खसेपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची, जिल्लाकै विभिन्न स्थानबाट बुटवल हिडेका र वुटवलबाट आएका अधिकांश सवारी साधन बाटोमै रोकिएका छन् । पहिरो खुलाउने प्रयास भैरहेको प्रमुख आचार्यले बताए ।


सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको दोभान सिद्दबाबा हेडबक्स क्षेत्रमा गतवर्षदेखि निरन्तर बगेको पहिरोमा यसवर्ष पनि यात्रुले सास्ती बेहोर्नु परेको स्थानीय तिनाउ, ३ दोभानका विष्णुप्रसाद पाण्डेयले बताए । पाँच दिनअघि समेत यही स्थानमा पहिरो खसेको थियो । गतवर्ष १५ दिनसम्म पहिरोले सास्ती खेप्नु परेपनि डिभिजन सडक कार्यालयले भने रोकथामको कुनै उपाय नअपनाउँदा यसवर्ष झन सास्ती बेहोर्नुपर्ने पक्का भएको स्थानीय पाण्डेयले बताए ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?