‘विद्यालयले घटना गुपचुप राख्यो’

विद्यार्थी कुटपिट

चितवन — खैरहनी नगरपालिकास्थित सैनिक आवासीय माध्यमिक विद्यालयभित्रै कुटिएका विद्यार्थीका अभिभावकले विद्यालयले घटना गुपचुप राखेको गुनासो गरेका छन् ।

‘विद्यालयले घटना गुपचुप राख्यो’

छोरा सख्त घाइते हुँदा पनि आफूहरूलाई खबर नगरिएको उनीहरूको भनाइ छ । कक्षा ९ मा अध्ययनरत श्रीनव लामिछानेमाथि वैशाख २९ गते राति कुटपिट भएको थियो ।‘राति ३ बजेतिर शौचालयमा घटना भएको रहेछ तर हामीलाई विद्यालयले जानकारी गराएन । बाहिरैबाट घटना थाहा पाएपछि दिउँसो आफैं गएर सोधखोज गर्नुपर्‍यो,’ पिता नवराज लामिछानेले भने ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयअन्तर्गत सञ्चालित उक्त विद्यालयमा कक्षा ६ देखि माथि पढाइ हुन्छ । श्रीनव कक्षा ६ देखि नै त्यहीँ बसेर पढ्दै आएका हुन् । ‘उज्यालो हुनुभन्दा अघि नै उसको कुनै साथीले बेलाएर शौचालय लगेछ । शौचालयमा अरू दुई विद्यार्थी पनि रहेछन् । जानेबित्तिकै मुख थुनेर कुट्न थालेछन्,’ पिता नवराजले भने ।परिवारले कुटपिटमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा कारबाही माग गर्दै जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

प्रहरीले तीन विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । ‘छोरामाथि कुटपिट भएको भन्दै आमाका तर्फबाट जाहेरी परेपछि तीन जनालाई नियन्त्रणमा लिएका छौं,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा भने । जाहेरीमा नाम परेकाहरू सबै नाबालक रहेकाले प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । ‘नाबालकका सम्बन्धमा विशेष व्यवहार गर्नुपर्ने भएकाले उनीहरूलाई अरूजस्तो हिरासतमा राखिएको छैन,’ डीएसपी ढकालले भने, ‘अनुसन्धानका लागि उनीहरू हाम्रै संरक्षकत्वमा छन् भनेर बुझ्दा हुन्छ ।’ घटनाको तीन दिनपछि प्रहरीलाई जानकारी प्राप्त भएको र त्यसलगत्तै कारबाही प्रक्रिया सुरु गरेको उनले बताए । विद्यालयका सहायक प्रधानाध्यापक भविलाल निउरेले भने घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

आँखा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेका श्रीनव अहिले उपचारका लागि काठमाडौंमा छन् । पिता नवराजका अनुसार श्रीनवको दाहिने आँखाको तल्लो हड्डी नै भाँच्चिएको छ । देब्रे आँखामा पनि हल्का रगत जमेको छ । ढाड, कम्मर र काँधमा चोट छ । घाँटीमा डोब छ । ‘टाउको ठोक्काइदिँदा धाराको टुटी नै भाँच्चिएछ,’ उनले भने, ‘मंगलबार रगतसहित वान्ता गरेपछि डर लागेर काठमाडौं लगेका हौं ।’ घटनापछि बालकलाई भरतपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालको न्युरो युनिटका चिकित्सक डा. कुलदीप सापकोटाले अभिभावकको आग्रहपछि बालकलाई काठमाडौं रिफर गरिएको बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?