कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्ला–सुर्खेत हवाईसेवा बन्द

जुम्ला — सुर्खेत हवाईसेवा एक वर्षदेखि बन्द हुँदा स्थानीयलाई प्रदेश राजधानी आउजाउमा सास्ती भएको छ । सुर्खेतदेखि जुम्लाका लागि यात्रु नपाइने भन्दै हवाई सेवा कम्पनीले उडान बन्द गराएका हुन् ।

जुम्ला–सुर्खेत हवाईसेवा बन्द

प्रदेश राजधानी वीरेन्द्रनगर जानका लागि ५ नं. प्रदेशको नेपालगन्ज हुँदै जानुपर्ने वाध्यता रहेको स्थानीयको गुनासो छ । यात्रुहरू जुम्ला– नेपालगन्ज हवाईमार्ग र नेपालगन्ज–सुर्खेत सडकमार्गबाट यात्रा गर्न बाध्य छन् । स्थानीय सन्तोष बुढाले निजी हवाई कम्पनीले प्रदेश राजधानीसम्म सेवा दिन नसकेपनि सरकारी नेपाल वायुसेवा निगमले उडान राख्नुपर्ने बताए । ‘सवैभन्दा पहिला नामाकरण गर्न र राजधानी पारित गर्न सफल भएको कर्णाली प्रदेशले आन्तरिक धेरै कामहरू गर्न सकेको छैन,’ उनले भने, ‘सिधा हवाई सम्पर्क जोडेर प्रदेश सरकारले आवतजावतलाई सहज बनाउनुपर्छ ।’

सुर्खेत– जुम्ला दूरी कम भएकाले भाडासमेत कम हुने स्थानीयको भनाइ छ । प्रदेश सरकारले आफ्ना प्रदेशभित्रका जिल्लालाई हवाई सेवामार्फत जोड्न नसक्नु ठूलो समस्या भएको स्थानीयको भनाइ छ । आन्तरिक उडान व्यवस्थापन हुन नसक्दा यात्रु महंगो हवाई भाडा तिरेर नेपालगन्ज जानुपर्ने बाध्यता छ ।

अहिले जुम्लादेखि नेपालगन्ज सम्मको सहुलियत हवाइ भाडा ४ हजार २ सय रहेको छ भने सुर्खेतको भाडा ३ हजार ३ सय रहेको छ । जुम्ला देखि नेपालगंजसम्म ३५ मिनेट र सुर्खेतसम्म २८ मिनेटको हवाई दुरी रहेको नागरिक उड्यन कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार सुर्खेत उडान हुन छाडेको एक वर्ष भयो ।

जुम्लामा उडान भर्ने निजी एयरलाइन्सले पनि सुर्खेतमा नियमित उडानको व्यवस्थापन गर्न सकेका छैनन् । सरकारी नेपाल एयरलाइन्सले सातामा एक दिन नेपालगन्जबाट उडान भर्ने गरेको छ ।

तारा एयरले दैनिक एक उडान नेपालगन्ज–जुम्ला– नेपालगन्ज भर्ने गरेको छ । सीता र समिट एयरले पनि नेपालगन्जका लागि उडान भर्दै आएका छन् । नेपालगन्जदेखि यात्रु र सामानको ‘लोड’ सहजै पाउने भएकाले उडान धेरै हुने गरेको भिजिट कर्णाली टुर एण्ड ट्राभल्सका जुम्ला म्यानेजर रामचन्द्र न्यौपानेले वताए । ‘सुर्खेतदेखि लोड नै छैन, यात्रु पाउन मुस्किल छ,’ उनले भने, ‘एक वर्षअघि सुर्खेतको माग धेरै थियो त्यसैले सुर्खेतबाट उडान हुन्थ्यो, अहिले सबै उडान नेपालगन्जबाट हुने गरेका छन् ।’

जुम्लालाई कर्णालीका जिल्लाहरूमा आन्तरिक उडान गर्ने हव वनाउनका लागि पटक–पटक बहसहरू भएका छन् । तर कर्णालीको राजधानी सुर्खेतबाट नै आन्तरिक उडान नहुँदा समस्या परेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?