बजारसँग जोडिँदै विकट चुरे क्षेत्र

भरत जर्घामगर

सिरहा — सुगम जिल्ला भए पनि सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका खुट्टी, महाजनी, मड्यानलगायत दुई दर्जनभन्दा बढी गाउँ आधारभूत सेवा–सुविधाबाट वञ्चित छन् ।

बजारसँग जोडिँदै विकट चुरे क्षेत्र

साबिक विष्णुपुरकट्टी गाविसबाट धनगढीमाई नगरपालिका बने पनि ती बस्तीमा आधारभूत सेवा पुगेको छैन । बाटोघाटो नहुँदा सुत्केरीले समेत पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक र पुल नहुँदा वर्षायामका तीन महिना अन्य गाउँसँग सम्पर्कविच्छेद हुन्छ ।

यही विकट चुरे क्षेत्रलाई बजारसँग जोड्न नगरपालिकाले उत्तरवर्ती चुरेडाँडामा बाटो खन्न थालेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नगरपालिकामै अत्यन्त विकट क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सडक ट्रयाक खोल्न थालिएको बताए । उनका अनुसार पूर्वाधार विकासतर्फको २२ लाख ५० हजार लागतमा ६ किलोमिटर ट्रयाक खनिएको छ । यो सडक बनेपछि धनगढीमाई नगरपालिका १४ को खुट्टी, महाजनी र मडयान गरी तीन गाउँका करिब पाँच हजार जना लाभान्वित हुनेछन् । ‘हामीले त सोचेकै थिएनौं यस क्षेत्रमा पनि सडक खुल्छ भनेर’, महाजनीका ५४ वर्षीय टुंगोबहादुर लामाले भने, ‘बाटो बन्न थालेको छ, अबचाहिँ सुखको दिन आउला कि ?’

नगरपालिकाको १४ वटै वडामध्ये अति विकट वडा १४ को सर्रे, अम्बास, भालुटार, चट्यान, खुट्टी, मरायण र महाजनीलगायत दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा विगतमा बाटोघाटो नभएकै कारण उदयपुरका निकटवर्ती गाउँमा भोट खसाल्न जान्थे । ‘जहिले भोट खसाले पनि विकासका लागि यो क्षेत्रलाई नेताहरूले उपेक्षामै राखे, त्यही भएर उदयपुरतर्फ भोट खसाउन जान्थ्यौं’, महाजनीकै मीनबहादुर मगरले भने, ‘तर यसपटक धनगढीमाईका नेताहरूले नगरपालिकामै पहिलो विकास यस क्षेत्रमा गर्छु भनेपछि सिरहातर्फ भोट हालेका हौं, नभन्दै विकास सुरु भयो ।’

एकदिने सुत्केरी पत्नीलाई पैदलै अस्पताल लैजाँदै गरेका उनले अब दु:खका दिन जाने आस जागेको बताए । यसपालि सबै राजनीतिक दलले आफ्नो वडाको विकासलाई पहिलो प्राथमिकतामा राखेपछि महाजनीवासीले मतदाता सूची सिरहामा सारेका थिए । साझा प्रतिबद्धताकै कारण धनगढीमाई नगरपालिकाको स्थानीय सरकारले चालु आर्थिक वर्षको बजेटमध्ये २० लाख विद्युतीकरणमा तथा थप २२ लाख ५० हजार सडकको ट्रयाक खोल्ने कार्यमा खर्चंदै छ । ‘चुरेका बस्तीलाई लोकमार्गसँग जोड्ने संकल्पका साथ वडा नम्बर १४ को विकासलाई प्राथमिकतामा राखेका छौं’, धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले भने, ‘चुरेको प्रत्येक बस्तीमा बाटो, विद्युत्, स्वास्थ्य र शिक्षा पुर्‍याउँछौं ।’

प्रकाशित : जेष्ठ ७, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?