३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बहुमूल्य खनिज चोरीनिकासी

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका–२, सौरैनी खानीबाट करोडौं मूल्यको काइनाइटलगायत पत्थर चोरीनिकासी हुने गरेको छ । सरकारी निकायले व्यवस्थापन तथा संरक्षणमा ध्यान नदिँदा चोरीनिकासी बढेको हो ।

बहुमूल्य खनिज चोरीनिकासी

खानीको व्यवस्थापन नहुँदा ठूलो परिमाणमा राजस्वसमेत घाटा लागिरहेको छ । खोजतलास तथा उत्खननका निहुँमा विगत २५ वर्षदेखि काइनाइट, टुर्मालिन, क्वार्ज, क्रिस्टल, रुबी, नीलम, एकोमेरिनलगायत करोडौं मूल्यको खनिज चोरीनिकासी हुने गरेको छ । उक्त खनिज भारतीय बजार पुग्ने स्थानीयको भनाइ छ । चोरीनिकासी बढदा पनि सरोकारवाला निकाय बेखबर छ । सरकारी संरक्षण तथा व्यवस्थापन अभावले मूल्यवान खनिज खानीबाट लाभ लिन नसकिएको जिल्ला समन्वय समिति सदस्य कल्दर सिंह बताउँछन् । स्थानीय/प्रदेश सरकारले कुशे र जुनीचाँदे गाउँपालिकाका विभिन्न स्थानमा रहेका खनिजको संरक्षण तथा व्यवस्थापन गर्न नसकेको सिंहले जनाए । ‘मूल्यवान खनिजको लाभ न स्थानीय बासिन्दाले पाएका छन् न सरकारले, बिचौलियाले मात्र फाइदा लिएका छन्,’ उनले भने ।

राजस्व छलेर टालेगाउँ, अर्छानी, दह, कोर्ताङ, गर्खाकोट, पजारु, पैकलगायत स्थानका खानीबाट मूल्यवान् पत्थरको निकासी–पैठारी हुँदै आएको छ । ३ वर्षयता खानी विभागले इजाजतप्राप्त खोजतलास तथा उत्खननकर्तालाई समेत काइनाइटलगायत पत्थरको निकासी पैठारीमा रोक लगाएको छ । तर सौरेनीलगायत खानीबाट स्थानीयले उक्त पत्थर चोरी निकासी गर्न भने नछाडेको सिंहले बताए । सुरक्षा नहुँदा दैनिक लुकीछिपी मूल्यवान खनिजको चोरीनिकासी भइरहेको उनको भनाइ छ । ‘विगत वर्षमा सौरेनी खानीबाट मात्रै ४० क्विन्टलका दरले काइनाइट निकासी हुने गथ्र्यो,’ उनले भने, ‘प्रतिकिलो १५ हजारदेखि ८० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

घरनजिकै मूल्यवान पत्थर रहे पनि कुनै पनि लाभ लिन नसकेको कुशे गाउँँपालिका २ का तिलक सिंहले बताए । जथाभावी खोजतलास तथा उत्खनन गर्दा उल्टै पर्यावरण बिग्रिएको जनाउँदै उनले तत्कालीन समयमा खानी विभागले मापदण्डविपरीत व्यक्तिगत घरजग्गा भएको स्थानमा पनि उत्खनन अनुमति दिँदा समस्या बढेको बताए । ‘खनिज निकाल्न ४० मिटरसम्म गहिरो खाडल खन्दा वन विनाश हुनुका साथै उत्खननपछि आएको ढुंगा जथाभावी फाल्दा बाढीपहिरो जाने गरेको छ,’ उनले भने ।

खानीबाट चोरीनिकासी बढेपछि खोजतलास बन्द गर्नुपर्ने बाध्यता आएको उत्खननकर्ता जनकबहादुर शाहीले बताए । ‘वैधानिक बाटो बन्द छ तर चोरका लागि बन्द छैन,’ उनले भने । सौरेनीलगायत खानीको व्यवस्थापन, संरक्षण, वैधानिक खोजतलास तथा उत्खनन, निकासी र संरक्षणका लागि सम्बन्धित निकायले तत्काल पहल थाल्नुपर्ने शाहीको भनाइ छ । जिल्लामा मूल्यवान खनिजका तीन दर्जन खानी छन् । काइनाइटलगायत पत्थर जिल्लाका लागि आम्दानीको मुख्य स्रोत भएको सहायक प्रजिअ जनकराज शर्मा बताउँछन् । खनिज दुरुपयोग रोक्न सरोकालवाला निकाय सक्रिय हुनुपर्ने शर्माले जनाए । ‘मूल्यवान् खनिजको उत्खनन, जेम्स उद्योग स्थापना तथा उचित व्यवस्थापन गर्न सके जिल्लामा रोजगारी सिर्जना भई आर्थिक स्तर वृद्धि हुनेछ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?