आधार शिविरसम्मै घोडेटो बाटो

‘नाउराको भीरमा डोरीले झुन्डिनुपर्ने दिन अब गयो । घोडा/खच्चड हिंड्ने बाटो बनाएका छौं ।’
घनश्याम खड्का

म्याग्दी — धौलागिरि हिमालको आधारशिविरसम्म घोडेटो बाटो निर्माण गरिएको छ । घोडेटोले पदयात्रामा सजिलो भए पनि बाटोको प्रचार हुन नसक्दा पर्यटक आगमन भने बढ्न सकेको छैन ।

आधार शिविरसम्मै घोडेटो बाटो

अब व्यक्तिगत रूपमा पनि आधारशिविर जान सकिने भएको छ । धौलागिरिको इटाली क्याम्पमा होटल बास गरी पहिलो बेसक्याम्पमा एक रात ‘ब्याग प्याक ट्रेक’ गर्न सकिन्छ । धौलागिरि हिमशृंखलामा सात हजार मिटर अग्ला धौलागिरि प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सीता चुचुरो, मानापाथी, मुकुट र टुक्चे चुचुरा छन् ।

‘सामुदायको सक्रियतामा धौलागिरि पदमार्गका भीरपहरा फोर्ने, झाडी फाँड्ने, भिरालो ठाउँमा खन्ने, नदीखोलामा झोलुंगे पुल हाल्ने र पहिरो पन्छाएपछि रुट सजिलो भएको छ,’ धौलागिरि गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले भने, ‘इटाली क्याम्प र स्विस क्याम्पबीच म्याग्दी खोलाको मुहान रहेको ग्लेसियरमाथि स्टिल डेक भएको झोलुंगे पुल राख्नसके यात्रा थप सहज हुनेछ ।’

दरबाङदेखि मुदी बगरासम्मका बस्तीमा होमस्टेमा बास बसेर माथिल्लो दोभान र इटाली बेसक्याम्पमा सामान्य होटलमा बास बस्न सकिने भएको छ । बगरा र दोभानको बीचमा पर्ने लुसिपार तथा दोभान र इटाली क्याम्पको बीचमा पर्ने तलेत्रे र सल्लाघारीमा चियानास्ता गर्ने टी हाउस उपलब्ध छन् । सुरुवात भएकाले होटल तथा टी हाउसले सुविधा वृद्धि गर्न भने सकेका छैनन् ।

तलेत्रेलगायत चार स्थानमा साना खोल्सामा हालिएका फडकेको ठाउँमा झोलुंगे पुल हाल्नसके यो पदमार्ग अगस्ट–सेप्टेम्बरको सिजनमा पनि सहज हुनेछ । सबइन्जिनियर पौडेलका अनुसार धौलागिरि पदमार्गलाई थप सहज र सजिलो बनाउन सबै साना खोलामा झोलुंगे पुल हाल्न गाउँपालिकाले योजना अघि बढाएको छ ।

‘धौलागिरि आरोहण र फन्को लगाउन मात्र पर्यटक आएका छन् । अब धौलागिरि बेसक्याम्पसम्म व्यक्तिगत रूपमा पनि पर्यटक सजिलै आउन सक्छन्,’ इटाली बेसक्याम्पका होटल व्यवसायी हरि तिलिजाले भने, ‘नाउराको भीरमा डोरीमा झुन्डिने र निगालाको झाडीमा बेपत्ता हुने दिन अब कथा भइसक्यो । घोडा/खच्चड हिंड्ने बाटो बनाएका छौं ।’

कठिन भौगोलिक अवस्थितिले धौलागिरि हिमाल पदमार्ग छायामा परेको थियो । स्थानीय सरकारले नाउराको भीर फोर्दै निगालाको झाडी फाँडेर घोडेटो बाटो निर्माण गर्न पहल गरेको हो । बाटो बनाइएपछि धौलागिरि चक्रीय पदमार्गको ३ हजार ६ सय ३६ मिटर माथिको इटाली बेसक्याम्पसम्म खच्चडमा सामान ढुवानी गर्न सम्भव भएको छ ।

पदमार्ग सहज बन्दै गएपछि यो रुटका बस्तीमा पर्यटकीय जागरण बढ्न थालेको छ । पदमार्गमा पर्ने बस्तीका परम्परागत घरलाई सुधार गर्दै पाहुना कोठा थपेर ‘होमस्टे’ का बोर्ड झुन्ड्याउन थालिएको छ । आँगनमा टेबुल र कुर्सी थपिएका छन् । तर, ट्रेकिङ व्यवसायीले अझै पनि यो रुटबाट पर्यटकलाई हिंड्न लगाउनुको साटो ताकमबाट हेलिकप्टरमा इटाली क्याम्पमा ओराल्ने गरेका छन् । यसले गर्दा बाटो वरिपरिका व्यवसायी भने निराश छन् । ‘टुरिस्ट आउने आसमा सुविधा थपेका छौं । आँगनमा कुर्सी, टेबुल पनि राखेका छौं,’ स्थानीय होमस्टे सञ्चालक दलमाया पुनले भनिन् । सगरमाथा पत्ता नलाग्दासम्म धौलागिरिलाई नै संसारको सर्वाधिक अग्लो चुचुरो मानिन्थ्यो । सन् १८०८ मा भारतमा रहेको बेलायती सर्भे टिमले धौलागिरि हिमालको उचाइ ८ हजार १ सय ४७ मिटर भनी पत्ता लगाएको थियो ।

धौलागिरि पुग्न बेनीबाट गाडीमा ताकम पुगेपछि १ घण्टा पैदल यात्रा गरी खाम्लामा बास बस्न सकिन्छ । दोस्रो दिन नाउरा हुँदै बगरा पुग्न सकिन्छ । तेस्रो दिन दोभान र चौथो दिन इटाली क्याम्प पुग्न सकिन्छ । इटाली क्याम्पबाट म्याग्दी नदीको मुहान रहेको धौलागिरि ग्लेसियर पार गरी स्विस क्याम्प उक्लेर अमेरिकी क्याम्प र जापनिज क्याम्प हुँदै ४ हजार ७ सय ४७ मिटर उचाइको धौलागिरिको पहिलो बेसक्याम्प पुग्न सकिन्छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?