कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तावाखोलामा पुल निर्माण हुने

डम्बरसिं राई

खोटाङ — झन्डै एक वर्षपछि दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तरगतको तावा खोलाको सडक पुलको सम्झौता भएको छ ।

तावाखोलामा पुल निर्माण हुने

करिब चार करोड रुपैयाँको लागतमा एक वर्षभित्र सडक पुल सम्पन्न गर्ने गरी नेशनल–सिद्धिसायी–महावीर निर्माण कम्पनी र जिल्ला प्राविधिक कार्यालय खोटाङबीच सम्झौता भएको हो ।

अघिल्लो जेठमा बोलपत्र आह्वान गरी असारको तेस्रो साता सम्बन्धित निर्माण कम्पनीलाई आसय पत्र दिए पनि विभिन्न बहानामा सम्झौता हुन सकेको थिएन । कतिपयले भने कमिसनको मोलमोलाई नमिलेपछि सम्झौता हुन नसकेको आरोप लगाएका छन् ।

उक्त तावाखोलामा पुल नबन्दा वैशाख पहिलो साता आएको बाढीले बा२ख ४८९६ नम्बरको बस बगाएको थियो । सडक पुल नबन्दा दिप्रुङ चुइचुम्मा सडकसमेत अवरुद्ध छ । यसले यात्रुलाई मात्र सास्ती भएन, विकासका काममा समेत बाधा पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

त्यसो त यो सडक खण्डमै पर्ने साप्सुखोलाको पुल निर्माणसमेत दुई वर्षदेखि अलपत्र परेको छ । यसले यातायात सञ्चालनमा समस्या भएको छ । पुल निर्माण कम्पनीको बेवास्ताले स्थानीयले सास्ती खेप्नुपरेको छ । यसबारेमा पटक पटक पहल गर्दा समेत निर्माणमा संलग्नले बेवास्ता गरेको जनप्रतिनिधिहरूको भनाइ छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोलामा दुई वर्षअघि निर्माण थालिएको सडक पुल अलपत्र परेपछि निर्माण कम्पनी सम्बद्धमाथि कारबाहीको माग समेत भएको छ । यद्यपि अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन ।

दुई वर्षदेखि पुल अलपत्र परे पनि सरकारमा सामेल राजनीतिक दल चुप लागेर बसेको नेकपा मालेका केन्द्रीय सदस्य कुलप्रसाद फुयालले बताए । राजनीतिक संरक्षणमा ठेकेदारले बदमासी गरेको फुयालले दाबी गरे । ‘तत्कालीन एमालेका कार्यकर्ताले ठेक्का लिएको हो ।’ फुयालले भने, ‘त्यसैले सरकारमा भए पनि कुनै चासो नदिएको हो ।’

जिल्ला प्राविधिक कार्यालयमार्फत सरकारको करिब डेढ करोड रुपैयाँ लागतमा १८ महिनामा सक्ने गरी २०७३ वैशाखमा सम्झौता गरिएको यो पुल अहिलेसम्म पनि बन्न सकेको छैन । जगको सामान्यभन्दा अन्य काम हुन सकेको छैन । ठेकेदारको बेवास्ताले निर्माणको काम थला परेको पुल निर्माण सम्बद्ध इन्जिनियर मनोजकुमार माझीले बताए । पुल निर्माणको ठेक्का हरिहरि–गजुरमुखी जेबी कम्पनीले लिएको थियो ।

पुल निर्माणको कामै नगरी गत कात्तिकमै म्याद सकिएको छ । पश्चिमी र उत्तरी क्षेत्र तथा मुख्य सडक सन्जालसँग दक्षिणी क्षेत्रलाई जोड्ने यो सडक पुल नबनेपछि वर्षा याममा यातायात अवरुद्ध हुने गरेको छ । यसले सर्वसाधारणलाई सास्ती तथा विकास निर्माणमा समेत असर पर्ने गरेको छ । स्थानीय तथा जनप्रतिनिधिहरूसमेत आक्रोशित बनेका छन् ।

साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गौरवको आयोजनामा राखेपनि यसले अन्य विकासे योजनामा पनि प्रभाव पारिरहेको छ । सडक पुल अलपत्र बनेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माणमाा संलग्न कम्पनीको ध्यानाकर्षण गराउदा समेत अटेर गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए ।स्थानीय प्रशासन, जिल्ला समन्वय समितिलगायत विभिन्न ठाउँमा पटक–पटक ध्यानाकर्षण गराइए पनि बेवास्ता गरेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खडकाले बताए ।

सरकारी निकाय र पुल निर्माण कम्पनीकै बेवास्ताका कारण ढिलाइ भएकाले यसमा सम्बद्ध पक्षलाई कारबाही गर्नुपर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । भट्टराईले भने, ‘सम्बन्धित निकायको बेवास्ताले जनताले सास्ती खेप्नुपरेको छ ।’ भट्टराईले थपे, ‘यस्ता निर्माण कम्पनीलाई कुनै पनि हालतमा छोड्न मिल्दैन, कारबाही गर्नुपर्छ ।’

निर्माणमा संलग्न कम्पनीमध्ये हरिहर निर्माण कम्पनीकी निरु राउतले श्याम पोखरेल भन्ने व्यक्तिलाई काम गर्ने पेटी ठेक्का दिएको र उसले काम नगर्दा समस्या आएको बताइन् । ‘हामीले श्याम पोखरेल भन्ने व्यक्तिलाई पेटी ठेक्का दिएका हौं ।’ राउतले भनिन्, ‘काम त परै जाओस्, सम्पर्कबाहिर हुनुभएकाले समस्या एकदमै आएको छ ।’ राउतले थपिन्, ‘यसको वैकल्पिक उपायको खोजी भइरहेको छ ।’

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?