कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्याराग्लाइडिङ परीक्षण

विप्लव भट्टराई

इलाम — सदरमुकाम क्षेत्रमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ । शनिबार र आइतबार विज्ञसहितको टोलीले सदरमुकाम क्षेत्रका केही स्थानमा प्याराग्लाइलिङको परीक्षण गरेका छन् ।

प्याराग्लाइडिङ परीक्षण

पर्यटन गतिविधिलाई बढाउँदै स्थानीयको आयस्रोत बढाउने उद्देश्यले बेलायतबाट फिरेर पोखरासहित विभिन्न स्थाननमा पर्यटन क्षेत्रमा काम गर्दै आएकी सुमित्रा लावुङ, पोखरामा प्याराग्लाइडिङ चलाउँदै आएका विवेक शम्शेर राणा, भारतको हिमाञ्चलका सोनाम तेन्जिङ, रविनय लावतीसहितको टोलीले उपयुक्त स्थानको खोजी गरेको हो ।

टोलीले सदरमुकामदेखि केही तल तिल्केनी क्षेत्रबाट उडान गरेर माईखोलामा अवतरण गर्न सकिने निष्कर्ष निकालेको छ । देशीविदेशी पर्यटकको आर्कषण बन्दै गएको साहसिक उडानलाई सञ्चालन गर्दै निरन्तरता दिन स्थानीयले पहल र लगानी गर्नुपर्ने उनीहरूको आग्रह छ ।

‘अहिले हेरिएको स्थानलाई सामान्य ढंगले सम्याएर अनुकूल भूगोल बनाउने हो भने केही दिनमा नै उडान गर्न सकिन्छ,’ पाइलट राणाले भने, ‘यो स्थान पोखरा जत्तिकै उपयुक्त छ ।’ उनको भनाइमा यात्रुका चाहनाअनुसार इलामको चर्चित पर्यटकीय स्थल, चियाबारी र हिमालको दृश्यसमेत देख्न यो स्थान उपयुक्त छ ।

निर्माणाधीन सुकिलुम्बा विमानस्थल आसपास पनि टेकअप (उडान) सुरु गर्न सकिने भए पनि उपयुक्त ल्यान्डिङस्थल खोज्नुपर्ने देखिएको छ । बाक्लो बस्ती, अनुपयुक्त डाँडा र बिजुलीका बग्रेल्ती तारका कारण मेची राजमार्गभन्दा माथि चियाबारीलगायत क्षेत्रबाट भने उडान गर्न नसकिने निष्कर्ष टोलीले निकालेको छ ।

उडान सुरु गर्न फराक पाखो र त्यस तल नजिकै बस्ती या बिजुलीका पोल तार वा जंगल हुनु हुँदैन । त्यसैले जुनसुकै स्थलमा प्याराग्लाइडिङको सम्भावना नहुने राणाको भनाइ छ । ‘अहिले हेरिएको स्थान सबै कुराले उपयुक्त छ,’ उनले भने, ‘यो स्थान पोखराको सरानकोट र ल्यान्डिङस्थल फेवा किनारभन्दा लामो दूरी रहेकाले पर्यटकले थप आनन्द प्राप्त गर्छन् ।’ ल्यान्डिङस्थलका लागि पनि करिब ८ सय मिटर क्षेत्रमा कुनै बस्ती, जंगल र बिजुलीको पोल र तार हुनु हँुदैन ।

‘आफैंले लगानी गरेर व्यवसाय चलाउने सोच होइन,’ इलामकै समालुबुङमा जन्मिएकी सुमित्राले भनिन्, ‘कम्तीमा धेरै भन्दा धेरै स्थानीयको लगानी जम्मा गरेर प्याराग्लाइडिङलगायत साहसिक अन्य खेल भित्र्याउने हो भने समग्र जिल्लावासीलाई फाइदा हुने ठानेर प्रयास गरेका हौं ।’

चाँडै नै आवश्यक पूर्वाधार विकास र कानुनी प्रक्रिया पुर्‍याएर सञ्लानका लागि स्थानीय सरोकारवाला लाग्नुपर्ने उनले बताइन् ।

सदरमुकाम क्षेत्रमा प्याराग्लाइडिङसहित अल्ट्रा लाइट, जिप फायर, प्यारामोटरलगायतको सम्भावना रहेको पनि विज्ञ टोलीले जनाएको छ । पछिल्लो समय इलाम आउने आन्तरिक र बाहय पर्यटन बढ्दै गएका छन् । यहाँ अवलोकन गर्नका लागि थुुपै्र स्थान र वस्तु भए पनि पर्यटकले रमाइलो गर्ने यस्ता साहसिक खेलको भने अभाव छ ।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतले यहाँको मुख्य प्राथमिकता नै पर्यटन भएकाले पहिलो चरणमा प्याराग्लाइडिङ सञ्चालनका लागि सहयोग गर्ने जनाए । ‘नगरपालिकाले आफैं सञ्चालन गर्ने कुरा आउँदैन,’ उनले भने, ‘तर लगानी गर्न चाहनेका लागि पूर्वाधार विकासदेखि वातावरण निर्माणमा पर्याप्त सहयोग गर्नेछौं ।’ यसअघि सानुबाबु सुनुवारसहितले पनि जिल्लाको विभिन्न स्थानमा प्याराग्लाइडिङका लागि सम्भावना खोजी गरेका थिए ।

प्याराग्लाइडिङ सञ्चालनका लागि पूर्वी सूर्योदय नगरपालिकाको कन्याम क्षेत्र र सन्दकपुर गाउँपालिकाको माईपातल क्षेत्रमा पनि पहल भइरहेको छ । कन्याम माउन्टेन भ्यु प्याराग्लाइडिङका नाममा कम्पनी दर्ता भएर सञ्चालनको तयारी थालिएको छ । ‘सबै प्रक्रिया पूरा गरेर जग्गा खरिदसम्मको काम सकिएको छ,’ कम्पनीका मोहन दोर्जे कागतले भने, ‘सबै परीक्षण भइसकेकाले अब असोजसम्ममा उडान सुरु गर्ने योजना छ ।’ मेची राजमार्गबाट १ सय मिटर तलबाट उडान गरेर सिद्धिखोलामा ल्यान्डिङ हुनेछ । यहाँ उडानको सफल परीक्षण भइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?