सांसदले कुटे प्रशासकीय अधिकृत

‘सांसदले दलबल लिएर कर्मचारीमाथि कुटपिट गर्नु आपत्तिजनक हो, कानुनी प्रक्रियामा जान्छौं’
अमन कोइराला

सर्लाही — कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार राति मलंगवामा प्रदेश सांसदले दुर्व्यवहार गरेका छन् ।

सांसदले कुटे प्रशासकीय अधिकृत

लेखा सहायकको कामसमेत गर्दै आएका वडा नं. १ का सचिव राजेन्द्र ठाकुर र स्थानीय राजनीतिकर्मीसँग जिविस चोकस्थित एक होटलमा बसिरहेका श्रीवास्तवलाई दलबलसहित पुगेका प्रदेश सांसद सञ्जयकुमार यादवले कुटपिट गरेका हुन् ।

यादवले वडासचिवको झोलामा रहेका कागजातसमेत नियन्त्रणमा लिएका छन् । उनले साताअघि नगरपालिकाको कार्यालयमै गएर श्रीवास्तवलाई कोठामा थुनी केही योजनामा जबर्जस्ती सम्झौता र कार्यादेशमा हस्ताक्षर गर्न लगाएका थिए । त्यसको विरोधमा अघिल्लो साता बिहीबारदेखि कर्मचारीले नगर कार्यालय बन्द गरेका थिए । उनीहरूले सुरक्षा माग गरेका छन् । यादवले आफ्नो घर रहेको वडा नम्बर १० को उपभोक्ता समिति गठनको टिप्पणी स्वीकृत नभएपछि जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएका हुन् ।

वडा सचिव ठाकुरले प्रशासकीय अधिकृतसँग छलफल चलिरहँदा सांसदले एक्कासि आक्रमण गरेको बताए । उनका अनुसार जमुनिया गाउँमा विकास योजना अघि नबढेको सम्बन्धमा बुझ्न रामवली रायलगायतले बोलाएका थिए । त्यही सिलसिलामा छलफल हुँदै थियो । आक्रमणबाट श्रीवास्तवको टाउकोमा सामान्य चोट लागेको छ ।

‘अरू ठाउँमा ५० प्रतिशत काम भइसकेकाले त्यहाँ पनि छिटो अघि बढाउन उहाँहरूले भन्नुभयो,’ उनले भने, ‘केही वेरमै सांसदको टोली आएर प्रशासकीय अधिकृतमाथि दुव्र्यवहार गर्‍यो । मेरो झोला पनि लगे ।’ झोलामा एउटा निर्णय पुस्तिका र लेखाको कागजात रहेको ठाकुरले जानकारी दिए ।

घटनाका प्रत्यक्षदर्शी रामवली रायले प्रदेश सांसद आउनासाथ केही नबोली प्रशासकीय अधिकृतमाथि झम्टिएको बताए । ‘३ नम्बर वडाध्यक्ष लालबाबु रायसहित बसेर विकास कार्य छिटो गर्नेबारे छलफल गरिएको थियो,’ उनले भने, ‘वडाध्यक्ष गइसकेपछि पनि हामी कुरा गरिरहेका थियौं, अचानक सांसद आएर कुटपिट गर्न थाल्नुभयो ।’

मेयर कौशलकिशोर रायले सातादेखि बन्द कार्यालय खुलाउने वातावरण बनिरहँदा प्रदेश सांसदले डकैती शैलीमा कर्मचारीमाथि आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । ‘सांसदजस्तो व्यक्तिले दलबल लिएर कर्मचारीमाथि कुटपिट गर्नु आपत्तिजनक हो,’ उनले भने, ‘यस्तालाई कडा कारबाही हुनुपर्छ । हामी कानुनी प्रक्रियामा जान्छौं । त्यहाँबाट न्याय नपाए कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’ यसअघिको घटनाबारे पनि मुख्यमन्त्री र स्थानीय प्रशासनलाई जानकारी गराएको रायले बताए ।

कर्मचारी कुटपिटको घटनामा बिहीबार अपराह्न जिल्ला प्रशासनमा दुवै पक्षसँग अलगअलग छलफल गरिएको छ । त्यसमा कुनै सहमति जुट्न नसकेकाले शुक्रबार पुन छलफल गर्ने प्रशासनको तयारी छ । श्रीवास्तवले अब युनियनमार्फत अघि बढ्ने बताए । ‘कर्मचारी युनियनले अबको आन्दोलन सम्बन्धमा निर्णय गर्छ,’ उनले भने, ‘काम गर्न सक्ने वातावरण नभएकोबारे प्रशासनलाई जानकारी गरायौं ।’

सांसद यादवले भने कार्यपालिका सदस्यलाई पैसा दिएर विभिन्न निर्णयमा हस्ताक्षर गराइरहेको अवस्थामा निर्णय पुस्तिकामात्र नियन्त्रणमा लिएको बताएका छन् । कर्मचारीले भने सांसद भएकै कारण प्रशासनले यादवलाई कारबाही गर्न डराएको गुनासो गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?