१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वनकर्मीमाथि कुटपिट: आक्रमणकारीको खोजी तीव्र

‘सांघातिक आक्रमणमा घाइते कर्मचारीको मनोबल उकास्नका लागि दोषी पहिचान गरी कारबाही दायरामा ल्याउनुुपर्छ’
मोहन बुढाऐर

धनगढी — कैलालीको वसन्ता जैविकमार्गको बजैपुर नजिक बुधबार वनकर्मीमाथि भएको सांघातिक आक्रमणमा संलग्न समूहको खोजी तीव्र पारिएको छ ।

वनकर्मीमाथि कुटपिट: आक्रमणकारीको खोजी तीव्र

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आक्रमणकारीको खोजी गरी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरीले आक्रमणमा संलग्नको खोजी भइरहेको जनाएको छ । ‘आक्रमणमा परेका जिल्ला वन कार्यालयका कर्मचारीको किटानी जाहेरी परेको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने, ‘जाहेरीमा उल्लेखित व्यक्तिलाई पक्राउका लागि टोली परिचालन गरेका छौं ।’ जिल्ला वन कार्यालय कैलालीले जिल्ला प्रहरीमा कैलारी गाउँपालिका–७ बजैपुरका स्थानीय दशीराम चौधरी, पर्शुराम चौधरी, ओमप्रकार चौधरी र गणेश चौधरीको नाममा किटानी जाहेरी दिएको छ । जिल्ला वन अधिकृत नवराज काफ्लेले पहिचान भएकाहरूको नाममा किटानी जाहेरी दिएको र घटनामा संलग्न अन्यको खोजी गरी कारबाही गर्न स्थानीय प्रशासनलाई निवेदनसहित अनुरोध गरेको बताए ।

उनले आक्रमणकारीलाई पक्राउ गरेर कारबाही नगरेसम्म वनका कर्मचारीको मनोबल कमजोर हुने बताए । ‘वन क्षेत्रको अतिक्रमण हटाउन, काठ तथा वन्यजन्तु चोरी तस्करी नियन्त्रण गर्न वनकर्मीको मनोबल उच्च राख्नु जरुरी छ,’ काफ्लेले भने, ‘त्यसका लागि आक्रमणकारी समूहलाई खोजी गरी कडा कानुनी कारबाही गरिनुपर्छ ।’

काफ्लेले प्रतीक्षालयको नाममा भइरहेको अतिक्रमित क्षेत्र खाली गर्न र अतिक्रमणकारीलाई पक्राउ गरी कारबाही गरिनुपर्ने कुरा प्रदेश ७ का वनमन्त्री माया भट्ट र वन विभागमा राखिएको बताए । वसन्ता जैविकमार्गमा पर्ने हुलाकी सडकछेउको जंगलमा बसपार्क र प्रतीक्षालय बनाउने नाममा अतिक्रमण भइरहेको थियो । त्यसलाई हटाउन पहलमानपुर सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलसहितको ८ जनाको टोली बुधबार घटनास्थल पुगेको थियो । त्यहाँ अतिक्रमणकारीले वनकर्मीमाथि सांघातिक रूपमा आक्रमण गरेका थिए । आक्रमणमा रेन्जर रामअवतार चौधरी र वन कार्यालयका सहयोगी महेश चौधरी घाइते भएका थिए ।

घटनाको सर्वत्र विरोध भएको छ । आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कैलाली, निजामती कर्मचारी युनियन, मधेसी निजामती कर्मचारी मञ्च, नेपाल फरेस्ट, वन प्राविधिक संघ लगायतका ८ वटा संगठनले आक्रमणकारीमाथि कारबाहीको माग राखेका छन् ।

जोखिममा जैविकमार्ग
कैलालीको वसन्ता जैविकमार्गमा अतिक्रमण बढ्दै गएको छ । यस क्षेत्रमा ५ वर्षको अवधिमा दोब्बर बढी अतिक्रमण भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकमा २०६८ सम्म वसन्ता वन क्षेत्रमा १ हजार ३ सय ३१ हेक्टर वन क्षेत्र अतिक्रमित थियो । हाल २ हजार बढी हेक्टर अतिक्रमणको चपेटामा परेको छ । पछिल्लो दिनमा वसन्ताको बजैपुर क्षेत्रमा ९० हेक्टर वन अतिक्रमण गरिएको छ । बाढीपीडितका नाममा यो क्षेत्र अतिक्रमण गरिएको वनकर्मीले बताए ।

इलाका वन कार्यालय वसन्ताका रेन्जर रामअवतार चौधरीका अनुसार वसन्ता जैविकमार्गअन्तर्गत घुइँयाफाँटा, मनिकापुर, मजरा, पहलमानपुरको लटुवा र झलझलीय क्षेत्रमा समेत नयाँ अतिक्रमण भएको छ ।

सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले अव्यवस्थित बसोबास, बाढीपीडित र मुक्त कमैयाको नाममा अतिक्रमण भएको बताए । पछिल्लो समयमा मन्दिर, स्कुल, बसपार्क, प्रतीक्षालय र सार्वजनिक स्थल निर्माणका लागि भन्दै स्थानीयले वन अतिक्रमण गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार सुरुमा जंगलछेउ सार्वजनिक स्थल बनाउने नाममा क्षेत्र ओगट्ने र पछि विस्तारै छाप्रो बनाउने प्रवृत्ति बढेको छ । बुधबार कैलालीको वसन्ता बजैपुरमा वनकर्मीमाथि भएको आक्रमण यस्तै प्रकारको अतिक्रमण रोक्ने क्रममा भएको सेक्टर कार्यालयका प्रमुख कँडेलले बताए ।

‘सडकछेउको जंगल मास्ने उद्देश्यले प्रतीक्षालय बनाउन खोजेका थिए,’ उनले भने, ‘उक्त निर्माण रोक्ने प्रयास गर्दा स्थानीयले सांघातिक आक्रमण गरे ।’ उनले अन्तर्राष्ट्रिय जैविकमार्गलाई जोड्ने वसन्ता वन संरक्षणमा अतिक्रमण ठूलो चुनौती भएको बताए । अतिक्रमण रोक्न नसकिए वसन्ता वन क्षेत्र चाँडै विनाश हुने उनको दाबी छ ।

रौतहटको वाग्मती किनारदेखि भारतको जिम करवेट राष्ट्रिय निकुञ्जसम्मको अन्तर्राष्ट्रिय जैविकमार्गलाई जोड्ने वसन्ता वन क्षेत्रको विभिन्न स्थानमा बढिरहेको अतिक्रमणले वन्यजन्तु नै संकटमा परिरहेको वसन्ता रेन्जपोस्टअन्तर्गतको सामुदायिक वन उपभोक्ता समूहको सञ्जाल समन्वय समितिका संयोजक विजय श्रेष्ठले बताए । उनले वसन्ता वन क्षेत्रभित्रको नयाँ र पुरानो अतिक्रमण हटाउन सरकारले तत्काल गम्भीर पहल नगरेमा वसन्ता जैविकमार्ग नासिंदै जाने जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?