१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

डेनिस सहयोगका सडक अलपत्र

विप्लव भट्टराई

इलाम — जिल्लामा डेनिस सरकारको सहयोगमा निर्माणाधीन सडक तोकिएको मितिमा सम्पन्न नहुने भएका छन् । निर्माण व्यवसायीकै लापरबाहीले सडकमा ढिलाइ भएको हो ।

डेनिस सहयोगका सडक अलपत्र

दाताले असार १५ भित्र नसके ठेक्का तोड्ने चेतावनी दिएपछि उनीहरूले पछिल्ला दिन कामको गति केही बढाएका छन् । उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत निर्माणाधीन ८ मध्ये ५ वटा सडकको काम सन्तोषजनक नदेखिएको भन्दै दाताले चेतावनी दिएको हो ।

उन्नति कार्यक्रमले कृषि उपजसँगै बजारीकरणका लागि सडक निर्माण योजना अघि सारेको थियो । अधिकांश सडकको ट्रयाक खोल्ने काम सकिए पनि ड्ेरन, ग्याबिङवाल, ग्राभेलिङलगायत काम बाँकी छन् ।

व्यवसायीले भने यस वर्ष छिटो वर्षा भएकाले पनि काममा अवरोध आएको बताउने गरेका छन् । समग्रमा सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । तर असार १५ मै सबै काम सक्न दाताले ताकेता गरेकाले सबै सडक अधुरै हुने संकेत देखिएको छ । यी सडकमा छुटयाइएको करिब ५० करोडमध्ये ३० करोड मात्र भुक्तान भएको छ ।

दुई वर्षअघि सम्झौता भएको १९ किलोमिटर लामो फिक्कल–नयाँबजार सडक, ५ किलोमिटर लामो फिक्कलको बरबोटे–माझीगाउँ–कट्टेबुङ सडक, नेपालटार–पुवामझुवाको ६ किलोमिटर सडक, ५ किलोमिटर दामो–जितपुरे–साङरुम्बा सडक, जितपुर–नवमी–आम्बोटे सडक, देउराली–फलाँटे–कोल्बोटे सडकको काम सोचेजस्तो छैन । ‘उन्नतिले म्याद थपेर भए पनि थालिएका काम पूरा गरोस् भन्ने हो,’ जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बरालले भने, ‘नत्र स्थानीय तहलाई बजेटसहित बाँकी काम जिम्मा लगाउनुपर्छ । अधुरो काम छाडेर बजेटसमेत फिर्ता गर्ने परिस्थिति बनाउनु हँुदैन ।’

आयोजनाको अवधि सकिनै लाग्दा भने निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका छन् । तर, सबै काम निर्धारित समयमै सक्न कठिन देखिन्छ । समयमै काम सक्नुपर्ने जिम्मेवारी नबुझ्नु ठेकेदारको कमजोरी रहेको उन्नति परियोजनाका केशव सिलवालले बताए । ‘सम्बन्धित निर्माण व्यवसायीलाई सबै उपाय लगाएर काममा तीव्रता दिन भनिएको छ,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुंगानाले भने, ‘स्थानीयवासीले पनि थालिएका सडक जुनसुकै अवस्थामा पूरा गर्न माग गर्दै आएका छन् ।’

१४ करोड ४६ लाख ३४ हजारमा नागार्जुन कम्पनीले ठेक्का पाएको फिक्कल–गुप्ती सडकमा ३१ प्रतिशत मात्र खर्च भएको छ । पछिल्लो समय कम्पनीले अत्यावश्यक मेसिनरी सामग्री र श्रमिक थपेर काम अघि बढाइएको जनाएको छ । ती क्षेत्रका जनप्रतिनिधिले पनि ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको औंल्याएका छन् ।

बरबोटे–कट्टेबुङ सडकको अवस्था पनि उस्तै छ । २ करोड ९२ लाख ४२ हजार लागत रहेको सडकको ३६ प्रतिशत मात्र काम सकिएको छ । नागार्जुन विष्णु जेभीले ३ करोड ७९ लाख २२ हजार रुपैयाँमा ठेक्का पाएको नेपालटार–पुवामझुवा सडक खण्डको काम ५५ प्रतिशत सकिएको छ । त्यस्तै जितपुर–साङरुम्बा सडकको काम आधा मात्र भएको छ । बिरुवा भगवती जेभीले ठेक्का पाएको उक्त सडकको लागत २ करोड ८९ लाख २२ हजार छ । त्यस्तै उपभोक्ता समितिमार्फत निर्माणाधीन जितपुर–नवमी–आम्बोटे सडकको काम अझै सुस्त रहेको प्राविधिक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ९४ लाख ९० हजार रुपैयाँ लागत रहेको यो सडकमा १० प्रतिशतभन्दा प्रगति हुन सकेको छैन । ९७ लाख ७१ हजार रुपैयाँ बजेट रहेको अर्को प्याकेजको काम पनि सन्तोषजनक छैन ।

देउराली–फलाँटे–कोल्भोटे सडकको काम १५ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । ७३ लाख ३१ हजार रुपैयाँको लागतको यो सडकसहित ९४ लाख ८२ हजार लागतमा बन्ने अर्को प्याकेजको अवस्था पनि दयनीय छ ।

१२ करोड १२ लाख २३ हजार लागतको गाग्रभन्ज्याङ–जितपुर–सिद्धिथुम्का–सोयाक जोड्ने १७ किलोमिटर लामो सडक भने ९५ प्रतिशत पूरा भएको छ । ११ करोड ५१ लाख ११ हजार रुपैयाँ लागत रहेको सोही सडकको दोस्रो प्याकेजको ७० प्रतिशत काम सम्पन्न भएको छ । पाल्टागे–सिद्धिखोला सडकको ८० प्रतिशत काम सकिएको छ । विराट कुँवर जेभीले ठेक्का पाएको ३ हजार ३ सय मिटर सडकको लागत ३ करोड २४ हजार रुपैयाँ छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?