कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विस्फोटका घाइतेलाई ह्वीलचेयर

विमल खतिवडा

काठमाडौँ — बम विस्फोटमा घाइते भएका पूर्वसांसद नारायणबहादुर कार्कीको कोटेश्वरस्थित डेरामा आजकाल शुभेच्छुकहरूको भीड लाग्ने गरेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न कोही न कोही हरेक दिन आइरहेका हुन्छन् ।

विस्फोटका घाइतेलाई ह्वीलचेयर

सोमबार भने समाजवाद अध्ययन केन्द्र, चाँगुनारायण भक्तपुरका अध्यक्ष दुर्गाप्रसाद फुयाल र संरक्षक शान्तिकृष्ण अधिकारी ह्वीलचेयर बोकेर पुगे ।

अध्यक्ष फुयालले अत्याधुनिक ह्वीलचेयर भन्दै प्रयोग गर्ने तरिका कार्कीलाई सिकाइदिए । ‘ह्वीलचेयर ल्याउनुभयो खुसी लाग्यो, तर मलाई ह्वीलचेयरमा बस्नभन्दा हिँड्न सक्ने हिम्मत दिनुस्, हिँडेरै जनताको घरमा पुगी सेवा गर्नु छ,’ कार्कीले भने ।

उनको कुरा सुनेर शुभचिन्तकहरू एकछिन स्तब्ध भए । एकैछिनको मौनतापछि फुयालले साहस दिँदै भने, ‘अहिलेका लागि सजिलो होस् भनेर यो सहयोग गरेका हौं, हामी सबैको कामना छ, तपाईं चाँडै हिँड्न सक्ने बन्नुहुनेछ ।’ आडैमा थिइन् कार्कीसँगै घाइते भएकी विद्यार्थी नेता मीरा कटुवाल । कटुवालको विस्फोटमा परी दाहिने खुट्टा गुम्यो । २०६४ देखि निरन्तर संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आएका कांग्रेस नेता कार्की गत मंसिर १३ गते चुनावी सभामा भाग लिन जाँदा बम विस्फोटमा परी घाइते भएका थिए । उदयपुर २ बाट कांग्रेस उम्मेदवार रहेका उनी दनुवारबेसीमा आयोजित सभामा जाँदै गर्दा आफू चढेको गाडी लक्षित विस्फोटमा परेका थिए । बोलेरो गाडीको अघिल्लो सिटमा उनी र विद्यार्थी नेता कटुवाल बसेका थिए ।

५ महिना शिक्षण अस्पतालमा उपचारपछि कोटेश्वर डेरामा बसिरहेका कार्कीको अवस्था बुझ्न थोरै मात्र पार्टी नेताहरू पुगेका थिए । कान्तिपुरमा उनको समाचार प्रकाशित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा ११ जेठमा डेरा खोज्दै पुगे । देउवा प्रधानमन्त्री भएकै बेला दुर्घटनामा परेर कार्की गम्भीर घाइते भएका हुन् । उनको दाहिने खुट्टामा गम्भीर चोट छ । गाडीको क्षति र उपचार खर्च सरकारमार्फत उपलब्ध गराउने आश्वासन देउवाले दिएको छोरा निरज कार्कीले बताए । ‘केपी ओलीसँग कुरा भइसकेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै निरजले भने, ‘सबै खर्च सरकारले व्यहोर्छ, बेहोरेन भने पार्टीले सहयोग गर्छ ।’

प्रकाशित : जेष्ठ १५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?