कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

च्याउ टिप्ने चटारो

घनश्याम खड्का

म्याग्दी — कुइने र मंगले क्षेत्रका महिला डोकोभरि रातो च्याउ बोकेर बेनीका टोल–टोल पुग्न थालेका छन् । भारी अड्याउन नपाउँदै च्याउ किन्ने ग्राहकको भीड लाग्छ । प्रतिकेजी ८ सय रुपैयाँमा बिक्री हुन थालेपछि उनीहरू यो सिजनमा मनग्य आम्दानी गर्न थालेका छन् ।

च्याउ टिप्ने चटारो

जिल्लाको माथिल्लो क्षेत्रका गुर्जा, कुइने, मंगले र घाँसीखर्क क्षेत्रका जंगलमा रातो च्याउ पाइन्छ । मध्यजेठदेखि साउनसम्मै च्याउ टिपेर महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । ‘यो सिजनमा मात्र मैले तीन खेप च्याउ बजार ल्याएँ । एक खेपमा ३५/४० किलो च्याउ ल्याउँछु,’ पात्लेखर्ककी मनकुमारी छन्त्यालले भनिन्, ‘टिप्न र बेच्न गाह्रो छैन । बोकेर बजार ल्याउन भने सास्ती हुन्छ ।’

उनीहरूलाई बेनी आउन मात्र दुई दिन हिँड्नुपर्छ । पारखीका अनुसार यहाँको लेकाली च्याउले मासुको स्वादलाई समेत बिर्साउँछ । जिल्लामा सबैभन्दा बढी जंगली च्याउ गुर्जावासी टिप्छन् । जंगली रातो च्याउ बेचेर वार्षिक १० लाख हाराहारी आम्दानी गर्ने धेरै छन् । दैलोबाटै ठेकेदारले प्रतिकेजी ६ सयमै किन्ने गरेका छन् । टिपेको च्याउलाई सुकाएर असोजसम्म पनि बजार पुर्‍याउने गरिन्छ ।

वर्षायाममा हिमाली क्षेत्रका खर्सु, सल्लाका ढलापडा मुडा, पाखा तथा खाली चउरमा प्रशस्त उम्रने च्याउ स्वादिलो र पौष्टिक पनि हुन्छ । तर केही च्याउ विषालु पनि हुन्छन् । हेर्दा उस्तै लाग्ने च्याउ छुट्याउने राम्रो ज्ञान अभावमा मान्छेको ज्यानसमेत जान्छ । जंगली च्याउमध्ये खानयोग्य र विषालु भनी छुट्याउने ज्ञान एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै आएको छ ।

‘हामीलाई च्याउ टिप्ने हतारो छ । हिमाली क्षेत्रको च्याउ किन्न व्यापारी घर–घर आउँछन्,’ धौलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘जंगलका मुढामा पैसा फलेको छ । जति टिप्न सक्यो उति राम्रो ।’ उनी जंगली च्याउ र जडीबुटीका व्यापारीसमेत हुन् ।

वन कार्यालयको अभिलेखअनुसार ६ जना व्यापारीले ३० क्विन्टल रातो च्याउ संकलन र निकासी गर्ने अनुमति पाएका छन् । जिल्लाभित्र बिक्री हुने च्याउको संकलन र बिक्री अनुमति चाहिँदैन । व्यापारिक प्रयोजनमा निकासी हुनेले मात्र राजस्व तिरेर लैजाने गरेका छन् । गत वर्ष १० क्विन्टल च्याउ म्याग्दीबाट पोखरा र काठमाडांैका बजारमा पुगेको थियो ।

च्याउको प्रतिकेजी ५ रुपैयाँ राजस्व तोकिएको छ । म्याग्दीको जंगलमा बहुमूल्य मानिने गुच्ची च्याउ पनि पाइन्छ । गुच्ची च्याउको राजस्व मात्र प्रतिकेजी ३ सय रुपैयाँ छ । गत वर्ष २ क्विन्टल गुच्ची च्याउ बिक्रीका लागि जिल्ला बाहिर पठाइएको थियो । यो वर्ष भने कसैले संकलन पुर्जी लिएका छैनन् । म्याग्दीको जंगलमा च्याउ प्रजातिको यार्चागुम्बु पनि पाइन्छ ।

‘म्याग्दीका जंगलमा पाइने रातो च्याउको माग बढी भएकाले व्यापारीले राजस्व तिरेरै काठमाडांैसम्म पुर्‍याउँछन् । स्थानीयलाई संकलन पुर्जी दिने गरिएको छैन । कोसेलीका रूपमा आफन्तलाई पठाउने अझ धेरै छन्,’ सहायक वन अधिकृत राजकुमार ठाकुरले भने, ‘लेकाली रातो च्याउ खाएर मान्छे बिरामी परेको सुनिएको छैन ।’

प्रकाशित : जेष्ठ २४, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?