कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती

हरिहरसिंह राठौर

मौवाखोला (धादिङ) — स्थानीय प्रशासनले पृथ्वी राजमार्ग वरपरको बजारमा म्याद नाघेका खाद्य पदार्थ बरामद गरेको छ । जिल्लास्तरीय अनुगमन समितिले नौबीसे र धार्केमा एक सातापछिको उत्पादन मिति राखेर पठाइएका केकलगायत बेकरी बरामद गरेको हो ।

म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती

सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले काठमाडौंको चन्द्रागिरी–५ थानकोटमा सञ्चालित विजय बेकरीले जुन १२ तारिखको उत्पादन मिति राखेर विभिन्न होटल तथा घुम्ती पसलमा केक नियमित निर्यात गर्ने गरेको पाइएको बताए । ‘हामीले आवश्यक कानुनी कारबाहीका लागि पत्र लेखेका छौं,’ होटल तथा बजार अनुगमनको नेतृत्व गरेका ढकालले भने ।

यहाँका व्यापारीले सार्वजनिक सवारीसाधनका सयौं यात्रुसँग कोक, रेडबुल, कुरकुरे, आलु चिप्स र विभिन्न चकलेटलगायत जंकफुड खरिद गर्दा मूल्यभन्दा दोब्बर रकम लिएर ठगी गर्ने गरेको गुनासो छ । अनुगमन समितिले राजमार्गका विभिन्न थोक विक्रेताले जिल्लाकै दक्षिण भेगमा रहेका ग्रामीण बजार तथा चेपाङ बस्तीमा पनि म्याद नाघेका सामान पठाउने गरेको फेला पारेको छ । स्थानीय प्रशासनले म्याद नाघेका त्यस्ता खाद्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ ।

धादिङ र चितवनको सिमाना मौवाखोलाको अशोक किराना पसलबाट ढकाल नेतृत्वको अनुगमन समितिले विभिन्न उद्योगबाट उत्पादित एक क्विन्टल म्याद नाघेका बिस्कुट लगायत अन्य जंकफुड बरामद गरेको छ । उक्त किरानाका पसलधनीले ती सामग्री मलेखुस्थित सीताराम कँडेलको भाग्यलक्ष्मी सप्लायर्सबाट नियमित रूपमा खरिद गर्ने गरेको बताएका थिए ।

उनले त्यस्ता सामग्री छोड्दा डिलरले बिल नदिने गरेको र दिएको नक्कली बिल अरूलाई नदेखाउन चेतावनी दिएर जाने गरेको गुनासो सुनाए । मौवाखोलाबाट चितवनका विभिन्न चेपाङ बस्ती र धादिङको जवाङलगायत गाउँमा सामान पठाइन्छ । दक्षिण भेगका चेपाङ समुदायमा खाद्यवस्तुको म्यादका बारेमा ज्ञान नहँुदा बजारमा आएको जस्तोसुकै वस्तु पनि खरिद गर्ने गरेको जोगीमारास्थित शंखादेवी माध्यमिक विद्यालयका शिक्षक तिलक चेपाङले बताए ।

चेपाङ समुदाय कृषिजन्य उत्पादन लगेर राजमार्गका बजार पुगेपछि दैनिक आधारभूत आवश्यकताका वस्तु खरिद गर्नुभन्दा मदिरा र जंकफुडलगायत वस्तु बढी किनमेल गर्छन् । बेनीघाट, गजुरी, थाक्रे, गल्छी, धुनीबेंसी तथा त्रिशूली किनारका गोरखातर्फका विभिन्न बस्तीमा चेपाङ समुदायको बाक्लो बसोबास छ ।

विकट ती बस्तीहरूमै पनि अन्य समुदायले साना घुम्ती पसल सञ्चालन गरेका छन् । तिनमा सस्तो मदिरा र चाउचाउलगायतका जंकफुड नै अत्यधिक बिक्री हुने गरेको छ । जिल्ला अनुगमन समितिले धादिङस्थित पृथ्वी राजमार्गमा सञ्चालित होटलहरूको अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?