आँधीखोलामा सुली प्रकरण : छानविन समितिले प्रतिवेदन बुझायो 

१ करोड १७ लाख बराबर क्षति
प्रतिक्षा काफ्ले

स्याङजा — भीरकोट नगरपालिका–६ मा रहेको पोल्ट्री फर्मले सुली बगाएपछि आँधीखोलामा माछालगायत जलचर मरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवदेन बुझाएको छ । खिलुङ कालिका एग्रोफर्मले गत बैशाख २१ को राति खोलामा सुलीसहित फोहर बगाएको थियो ।

स्याङजाको भीरकोट नगरपालिका–६ मा रहेको पोल्ट्री फर्मले सुली बगाएपछि आँधीखोलामा मरेका माछालगायत अन्य जलचर । गत बैशाख २१ को राति खोलामा सुलीसहित फोहर बगाउँदा ठूलो संख्यामा मरेका जलचरहरु आँधीखोला जलविद्युत्त आयोजनाको जलाशयमा तैरिएका थिए । तस्बिर : कान्तिपुर । 

उक्त घटना छानबिन गर्न गल्याङ नगरपालिका उपप्रमुख देवी थापाको संयोजकत्वमा बेलटारी र चिसापानी मत्स्य विकास केन्द्रका अनुसन्धानकर्मीसहितको सात सदस्यीय समिति गठन गरिएको थियो।

आँधीखोला जलविद्युत आयोजनाको जलाशयमा मरेका जलचर तैरिन थालेपछि घटना सार्वजनिक भएको थियो। घटनामा गल्याङ नगरका ३, ७ र ११ वडा प्रत्यक्ष रुपमा प्रभावित भएका थिए।

सम्बद्ध पोल्ट्री फर्मका सञ्चालक र कर्मचारीसहित ४ जनालाई नियन्त्रणमा लिइएको थियो। फोहोरमैला ऐन अन्तर्गत कारबाही गर्ने भन्दै पक्राउ परेका चारैजनालाई प्रशासनबाट आफ्नो जिम्मा लिएपछि नगरपालिकाले छाडिसकेको छ।

छानबिन समितिले आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा १२ देखि १३ टन माछासहित जलचर प्राणी सखाप भएको र करिब १ करोड १७ लाख बराबरको क्षति भएको देखाएको छ। आँधीखोलामा लोपोन्मुख अवस्थामा रहेका माछा कति थिए भन्नेबारे समितिले एकिन गर्न सकेको छैन। प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र सरकोकारावालासँगको छलफल एवं तथ्यांकबाट प्रारम्भिक क्षतिको अनुमान गरेको छानबिन समितिकी संयोजक थापाले बताइन्। क्षतिको बिषयमा गल्याङ नगरले सार्वजनिक सुनुवाई, जलचर बिज्ञसँग छलफल र परामर्शबाट मात्र प्रारम्भिक क्षतिको विवरण आएको छ।

उपप्रमुखसमेत रहेकी थापाले आँधीखोलालाई माछा सेन्चुरी अर्थात् माछा जु बनाउने लक्ष्य रहेको बताइन्। ‘आँधीखोला सिंगो स्याङ्जाको मात्र नभइ पाल्पा, पर्वत र गुल्मीको पहिचान र जीवन हो,’ उनले भनिन्, नदीको संरक्षण र सम्बद्र्धन गर्न कुनै कसर बाँकी राखिदैन।’ गल्याङ–७ का वडाध्यक्ष एवं छानबिन समितिका सदस्य रामबीर गुरुङले सुली मिसाउँदा गल्याङका तीन वडामात्र नभइ आँधीखोला नदीको उद्गम स्थलसम्म प्रभावित भएको बताए। ‘प्रत्यक्ष रुपमा हामी ३ वडाका बासिन्दा प्रभावित भएका छौं,’ गुरुङले भने, ‘प्रत्यक्ष र परोक्ष रुपमा सुलीको असर दीर्घकालिन रुपमा रहन्छ।’ आँधीखोलामा दूर्गन्ध अझै कायमै रहेको उनले बताए।
समितिले प्राविधिक टोलीसहितको प्रतिवेदन नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। फोहोरमैला ऐन र जलचर ऐन अनुसार कारबाही हुने प्रतिबद्धता जनाए पनि कति र कस्तो कारबाही हुने भन्ने प्रमुख जिल्ला अधिकारी र नगरपालिकामा निर्भर रहने बताइएको छ।

प्रभावित तीनवटै वडाले गरेको क्षति र असरको छुट्टाछुट्टै विवरण संकलन गरेका थिए। वडा ३, ७ र ११ ले एक/एक करोड क्षति भएको विवरण छानबिन समितिलाई बुझाएको थियो।

छानबिन समितिका अर्का सदस्य कालीगण्डकी मत्स्य ह्याचारी प्रमुख वैज्ञानिक गोपालप्रसाद लम्सालले आँधीखोलाको क्षति मापन गर्न नसकिएको बताए। आँधीखोलामा सहर, कत्ले, ठेड, गर्दी, रेवा, हाडे, बाम, बुदुना, केटा, काँडे, बाघेलगायत लोपान्मुख जातका माछा सखाप भएकोले करौडौं जरिवाना गराएर पनि नपुग्ने उनको दाबी छ।

नगरपालिका र जिल्ला प्रशासन कार्यालयले छानबिन समितिको प्रतिवेदनकै आधारमा कारबाही हुने जनाएको छ। आँधीखोलाको पानी सफा बनाउन एग्रोले १२ क्वीन्टल चुना छर्केको छ भने मरेका जलचरलाई खाल्डोमा गाडेको थियो।

प्रकाशित : जेष्ठ २७, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्

संसद भवनकै शौचालय असुरक्षित रहेको महिला सांसदको गुनासो 

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला सांसदहरुले संसद भवनका शौचालय असुरक्षित र अप्ठेरो रहेको बताएकी छन् । आइतबारको संसद बैठकमा बिशेष समयमा बोल्दै पूर्व उपसभामुख तथा नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले स‌ंसद भवनको महिला शौचालय असुरक्षित रहेको रहेको बताएकी हुन ।

असुरक्षित हुनुको कारण भने उनले खुलाइनन् ।यसअघि सांसद पम्फा भुसालले संसदको माइक र कुर्सीको विषयमा प्रश्न उठाएकी थिइन् ।

प्रकाशित : जेष्ठ २७, २०७५ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्