आँधीखोलामा सुली प्रकरण : छानविन समितिले प्रतिवेदन बुझायो 

१ करोड १७ लाख बराबर क्षति
प्रतिक्षा काफ्ले

स्याङजा — भीरकोट नगरपालिका–६ मा रहेको पोल्ट्री फर्मले सुली बगाएपछि आँधीखोलामा माछालगायत जलचर मरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवदेन बुझाएको छ । खिलुङ कालिका एग्रोफर्मले गत बैशाख २१ को राति खोलामा सुलीसहित फोहर बगाएको थियो ।

आँधीखोलामा सुली प्रकरण : छानविन समितिले प्रतिवेदन बुझायो 

उक्त घटना छानबिन गर्न गल्याङ नगरपालिका उपप्रमुख देवी थापाको संयोजकत्वमा बेलटारी र चिसापानी मत्स्य विकास केन्द्रका अनुसन्धानकर्मीसहितको सात सदस्यीय समिति गठन गरिएको थियो ।


आँधीखोला जलविद्युत आयोजनाको जलाशयमा मरेका जलचर तैरिन थालेपछि घटना सार्वजनिक भएको थियो । घटनामा गल्याङ नगरका ३, ७ र ११ वडा प्रत्यक्ष रुपमा प्रभावित भएका थिए ।


सम्बद्ध पोल्ट्री फर्मका सञ्चालक र कर्मचारीसहित ४ जनालाई नियन्त्रणमा लिइएको थियो । फोहोरमैला ऐन अन्तर्गत कारबाही गर्ने भन्दै पक्राउ परेका चारैजनालाई प्रशासनबाट आफ्नो जिम्मा लिएपछि नगरपालिकाले छाडिसकेको छ ।


छानबिन समितिले आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा १२ देखि १३ टन माछासहित जलचर प्राणी सखाप भएको र करिब १ करोड १७ लाख बराबरको क्षति भएको देखाएको छ । आँधीखोलामा लोपोन्मुख अवस्थामा रहेका माछा कति थिए भन्नेबारे समितिले एकिन गर्न सकेको छैन । प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र सरकोकारावालासँगको छलफल एवं तथ्यांकबाट प्रारम्भिक क्षतिको अनुमान गरेको छानबिन समितिकी संयोजक थापाले बताइन् । क्षतिको बिषयमा गल्याङ नगरले सार्वजनिक सुनुवाई, जलचर बिज्ञसँग छलफल र परामर्शबाट मात्र प्रारम्भिक क्षतिको विवरण आएको छ ।


उपप्रमुखसमेत रहेकी थापाले आँधीखोलालाई माछा सेन्चुरी अर्थात् माछा जु बनाउने लक्ष्य रहेको बताइन् । ‘आँधीखोला सिंगो स्याङ्जाको मात्र नभइ पाल्पा, पर्वत र गुल्मीको पहिचान र जीवन हो,’ उनले भनिन्, नदीको संरक्षण र सम्बद्र्धन गर्न कुनै कसर बाँकी राखिदैन ।’ गल्याङ–७ का वडाध्यक्ष एवं छानबिन समितिका सदस्य रामबीर गुरुङले सुली मिसाउँदा गल्याङका तीन वडामात्र नभइ आँधीखोला नदीको उद्गम स्थलसम्म प्रभावित भएको बताए । ‘प्रत्यक्ष रुपमा हामी ३ वडाका बासिन्दा प्रभावित भएका छौं,’ गुरुङले भने, ‘प्रत्यक्ष र परोक्ष रुपमा सुलीको असर दीर्घकालिन रुपमा रहन्छ ।’ आँधीखोलामा दूर्गन्ध अझै कायमै रहेको उनले बताए ।

समितिले प्राविधिक टोलीसहितको प्रतिवेदन नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । फोहोरमैला ऐन र जलचर ऐन अनुसार कारबाही हुने प्रतिबद्धता जनाए पनि कति र कस्तो कारबाही हुने भन्ने प्रमुख जिल्ला अधिकारी र नगरपालिकामा निर्भर रहने बताइएको छ ।


प्रभावित तीनवटै वडाले गरेको क्षति र असरको छुट्टाछुट्टै विवरण संकलन गरेका थिए । वडा ३, ७ र ११ ले एक/एक करोड क्षति भएको विवरण छानबिन समितिलाई बुझाएको थियो ।

छानबिन समितिका अर्का सदस्य कालीगण्डकी मत्स्य ह्याचारी प्रमुख वैज्ञानिक गोपालप्रसाद लम्सालले आँधीखोलाको क्षति मापन गर्न नसकिएको बताए । आँधीखोलामा सहर, कत्ले, ठेड, गर्दी, रेवा, हाडे, बाम, बुदुना, केटा, काँडे, बाघेलगायत लोपान्मुख जातका माछा सखाप भएकोले करौडौं जरिवाना गराएर पनि नपुग्ने उनको दाबी छ ।


नगरपालिका र जिल्ला प्रशासन कार्यालयले छानबिन समितिको प्रतिवेदनकै आधारमा कारबाही हुने जनाएको छ । आँधीखोलाको पानी सफा बनाउन एग्रोले १२ क्वीन्टल चुना छर्केको छ भने मरेका जलचरलाई खाल्डोमा गाडेको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?