३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिकलेस–कोरी केबलकार

‘२ वर्षभित्र डीपीआर तयार गरेर निर्माण सुरु गरे पाँच वर्षभित्र केबलकार बन्छ’
दीपक परियार

लेखनाथ — कास्कीको मादी गाउँपालिकाले १ हजार ४ सय ५० मिटर उचाइको सिक्लेस, भुलकचादेखि ४ हजार मिटर उचाइको कोरीसम्म केबलकार निर्माण गर्ने योजना बनाएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा पाएको पोखराको क्युबिक इन्जिनियरिङ कन्सल्टयान्ट प्रालिले शनिबार सार्वजनिक गरेको प्रतिवेदनले मादीमा केबलकार सञ्चालन व्यावहारिक हुने देखाएको छ ।

सिकलेस–कोरी केबलकार

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले पहिलो बजेट, नीति तथा कार्यक्रममा केबलकार चलाउने योजना सार्वजनिक गरेका थिए । प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न ६ लाख रुपैयाँ छुटयाइएको थियो । तीन महिनाको अवधिमा भूगर्वविद्, वातावरणविद र प्राविधिकसहितको टोलीले कोरीसम्म पुगेर अध्ययन गरेको थियो । प्रतिवेदनअनुसार सिक्लेस–हिमालय केबलकार परियोजनाको अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । क्युबिकका प्रबन्ध निर्देशक इन्जिनियर डण्डराज पौडेलले प्राविधिक, भौगोलिक र वातावरणीय हिसाबले केबलकार उपयुक्त रहेको बताए ।

उनका अनुसार केबलकारको दूरी ६ हजार ५ सय मिटर हुनेछ । पहिलो स्टेसनबाट अन्तिम स्टेसनसम्म जाँदा १५ मिनेट र फर्किंदा २० मिनेट लाग्नेछ । १७ कारले ६ जनाका दरले यात्रु बोक्नेछन् । एक घण्टामा ३ सय यात्रु ओहोरदोहोर गराउने क्षमता हुनेछ । केबलकार दैनिक ६ घण्टा चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । टिकटदर एक हजार रुपैयाँ तोक्न सकिने सुझाव दिइएको छ । अनुमानित दैनिक १ हजार २ सय यात्रु बोक्दा खर्च कटाएर वार्षिक खुद आम्दानी २ करोड ७० लाख रुपैयाँ हुने औंल्याइएको छ । त्यसो हुँदा साढे पाँच वर्षमा लगानी उठ्छ । ‘लगानी उठाउन ६ वर्षको अवधि राखिन्छ,’ इन्जिनियर पौडेलले भने, ‘यसमा त्यति समय नलाग्ने भएकाले पनि केबलकार व्यावहारिक छ ।’

८ महिनासम्म हिउँ जमिरहने भएकाले पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने उनले जनाए । ‘काठमाडौंबाट बिहान आएर दिउँसो कोरीमा हिउँ खेलेर त्यही दिन काठमाडौं फर्किन सकिन्छ,’ उनले भने, ‘केबलकार बनेपछि सबैभन्दा नजिकको हिउँ खेल्ने ठाउँ कोरी नै हुनेछ ।’ उनले २ वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर निर्माण सुरु गरे पाँच वर्षभित्र केबलकार बन्न सम्भव रहेको उल्लेख गरे ।

पोखराबाट हाल सार्वजनिक बसमा तीन घण्टामा सिक्लेस पुग्न सकिन्छ । सिक्लेसबाट कोरी पुग्न एक दिन पैदल हिँड्नुपर्छ । कोरी पुगेपछि आँखैअगाडि लस्करै अन्नपूर्ण दक्षिण, माछापुच्छ्ेर, लमजुङ हिमाल देख्न सकिन्छ । दूधपोखरी, पोखरालगायत स्थानको अवलोकन गर्न सकिन्छ । कोरीमा ठूल्ठूला खर्क छन् । ८ महिनासम्म हिउँ जम्ने उक्त ठाउँमा बर्खामा यार्सागुम्बा पनि पाइन्छ । लामो समय हिउँ जम्ने भएकाले स्केटिङसमेत सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । अध्यक्ष गुरुङले बहुवर्षीय नीतिअनुरूप केबलकार निर्माणलाई अगाडि बढाउने योजना सुनाए । उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा स्रोत जुटाएर केबलकार चलाउने जानकारी दिए । ‘नेपालीकै लगानीमा केबलकार निर्माण हुनेछ,’ उनले भने, ‘त्यसमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिनेछ ।’

चिनियाँ कम्पनीले पनि केबलकार परियोजनामा चासो देखाएको उनले बताए । चिनियाँ कम्पनीबाट दुई प्राविधिक आएर प्रारम्भिक अध्ययन गरिसकेका छन् । उनीहरू कोरीसम्म हेलिकप्टरमा पुगेर अध्ययन गरेका थिए । उक्त अध्ययन प्रतिवेदन तयार हुने अन्तिम अवस्थामा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रदेश ४ का आर्थिक मामिलामन्त्री किरण गुरुङले वार्षिक २० लाख पर्यटक भित्र्याउने प्रदेशको योजनामा मादीको केबलकार सहयोगी बन्ने बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?