चन्दा उठाएर वृद्धाश्रम

२८ कोठे पक्की भवनमा ५५ जना ज्येष्ठ नागरिकले आश्रय पाएका छन्
जितेन्द्र साह

विराटनगर — शिक्षण सेवाबाट अवकाशप्राप्त वृद्ध जगतप्रसाद अज्र्यालले दशकअघि पाँच–पाँच रुपैयाँ चन्दा संकलन गरी वृद्धाश्रम बनाउने र नागरिक समाजसँग दैनिक एक–एक रुपैयाँ मागेर आश्रितलाई भोजन गराउने योजना सुनाउँदा धेरैले पत्याएका थिएनन् । कतिले त उनलाई हाँसोमा उडाए । धेरैले पैसा उठाएर भाग्छ पनि भने ।

चन्दा उठाएर वृद्धाश्रम

विराटनगर पाञ्चालीका ७४ वर्षीय अज्र्याल त्यही सानो–सानो सहयोगले विराटनगर–८ मा १२ कट्ठा जग्गा किनी विराटेश्वर वृद्धाश्रम खडा गर्न सफल भएका छन् । आश्रमको २८ कोठे पक्की भवनमा २८ वृद्धासहित ५५ जनाले शरण लिइरहेका छन् । उनीहरूले बिहानदेखि रातिसम्म चारपटक शुद्ध शाकाहारी भोजन पाउँछन् । आश्रममा १ सय १० व्यक्ति अटाउन सक्छन् ।

१४/१४ कोठाका दुई भवनमध्ये एउटाचाहिँ करिब एक करोड रुपैयाँ खर्चेर अन्तर्राष्ट्रिय लायन्स क्लबले बनाइदिएको हो । हरेक कोठामा शौचालय सुविधा भएको अर्को भवन भने चन्दाबाट उठेको ९२ लाख रुपैयाँ लागत र श्रमदानमा बनाइएको हो । आश्रय लिएकामध्ये अधिकांश असहाय छन् । १३ वर्षयता बिहानदेखि बेलुकासम्म सेवामा सक्रिय अज्र्याल आश्रमका लागि सहयोग जुटाउन साइकलमा यताउता गुडिरहन्छन् । साइकलको अघिल्तिरको साइनबोर्डमा मोबाइल नम्बरसहित पाँच रुपैयाँ र एक रुपैयाँ अभियानबारे जानकारी दिइएको छ । ‘अब हाम्रो आश्रमले पाँच सय वृद्धवृद्धालाई पाल्न सक्छ,’ उनले भने । अज्र्यालले २०६२ भदौ ७ मा विराटनगरको रोडसेस चोकमा दुई हजार रुपैयाँमा कोठा भाडा लिई सेवा सुरु गरेका थिए ।

४२ वर्ष सेवापछि शिक्षण पेसाबाट अवकाश पाएका अज्र्यालका लागि वृद्धाश्रमको सपना साकार पार्नु सहज थिएन । श्रीमती, भाइहरू, छोरी र अमेरिकामा रहेका छोराबुहारीले साथ दिएपछि उनको हौसला बढेको हो । आश्रमका तीन नेत्रहीन ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी उनकी ६३ वर्षीया श्रीमती प्रमिलाकुमारीले लिइरहेकी छन् । अदालतको जागिरबाट अवकाशप्राप्त कान्छा भाइ ७२ वर्षीय विनोद पनि वृद्धाश्रममा सेवारत छन् । ‘पाँच रुपैयाँ सहयोगले पनि वृद्धाश्रम बन्छ भन्दै पहिले मुख खुम्च्याउनेहरू अहिले छक्क पर्छन्,’ उनले भने । अज्र्यालले ८ वर्ष लगाएर हजारौं नागरिकबाट पाँच रुपैयाँका दरले ६३ लाख रुपैयाँ जम्मा पारेका हुन् । ‘रकम उठाएर भाग्छन् र सफल हुँदैनन् भन्नेहरू धेरै थिए,’ उनले भने ।

वृद्धाश्रमको आधारशिला खडा गर्न उनी जनसम्पर्क गर्दै भारत, अमेरिका, क्यानडा र अस्ट्रेलियासम्म पुगे । अज्र्यालले संकलित रकमले १२ कट्ठा जमिन किने । आश्रम तयार भइसकेपछि वृद्धवृद्धाका लागि नियमित भोजन एवं स्याहारसुसारको पनि आवश्यकता थियो । उनले एक हजार नागरिकले दिनमा एक रुपैयाँ दिए सय जनालाई जाउलो खुवाउन पुग्छ भन्दै २०६३ फागुन ७ मा ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका थिए । अज्र्यालका अनुसार सम्पन्नदेखि विपन्नसम्मले हातेमालो गरेको यो अभियानबाट उठेको रकमले ज्येष्ठ नागरिकहरूलाई मजाले खान, बस्न पुगेको छ । वृद्धाश्रमका नाउँमा खोलिएको बैंक खातामा हजारौं दाताहरूले दैनिक एक रुपैयाँका दरले वार्षिक एकमुष्ट जम्मा गर्ने गरेका छन् ।

प्रकाशित : असार १, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?