२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सवा करोड ठगेर ‘पेटी’ ठेकेदार बेपत्ता

मुडिकुवा–झकलाक सडक
दिप्ती सिलवाल

पर्वत — गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका ‘पेटी ठेकेदार’ ले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलेको छ ।

सवा करोड ठगेर ‘पेटी’ ठेकेदार बेपत्ता

मुडिकुवा–झकलाक सडकका ठेकेदारले कुस्मा, फलेवासलगायतका स्थानीयलाई १ करोड २६ लाख २ हजार ९८७ रुपैयाँ तिर्न बाँकी रहेको फेला परेको हो । आगामी असार २० मा सम्झौता मिति सकिने उक्त सडकमा अहिलेसम्म ६० प्रतिशत काम मात्र पूरा भएको छ ।

स्थानीय विकास मन्त्रालयको ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना आयोजना (आरआरआरएसडीपी) को १२ करोड रुपैयाँ लागतमा कालोपत्रे गर्न लागिएको सडक ओएसिस इन्जिनियरिङ एण्ड बिल्डर्स कम्पनीका सञ्चालक अच्युतराज पाण्डेले ठेक्का लिएका थिए । उनले रसुवास्थित डाँडागाउँका मंगले तामाङलाई ‘पेटी ठेक्का’ दिएका थिए । उनै तामाङमाथि नगद, निर्माण सामग्री, ढुवानी भाडा, खाद्यान्न, इन्धनलगायतको रकम ठगी गरेको आरोप छ । ठगिएकाहरूले स्थानीय प्रशासन हुँदै गृह मन्त्रालयसम्म उजुरी गरेका छन् ।

‘हामी ठगिएको एक वर्ष पुगिसक्यो,’ फलेवास–५ खानीगाउँका तोरण शर्माले भने, ‘जिल्ला प्रशासन र प्रहरीमा धेरैपटक धाउँदा न्याय नपाएपछि मन्त्रीलाई नै भेट्यौं । मन्त्रालयले चासो दिएको छ । अब न्याय पाउने आसमा छौं ।’ उनीहरूले लिनुपर्ने रकम माग गर्दै जेठ ९ गते गृह मन्त्रालयमा निवेदन दिएका थिए । मन्त्रालयले सम्बन्धित ठेकेदारलाई सम्पर्कमा ल्याएर आवश्यक कारबाही गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

फलेवास–४ मुडिकुवादेखि ५ नम्बर वडा झकलाकसम्म पौने सात किलोमिटर सडकको ६ दशमलव २५ किलोमिटर कालोपत्रे गर्न ०७२ माघमा ठेक्का सम्झौता भएको थियो । ओएसिसका सञ्चालक पाण्डेले आफैंले काम गर्न नसकेपछि तामाङलाई जिम्मा लगाएका थिए । दुई वर्षसम्म फिल्डमा काम गरेका तामाङले ‘रकम आएपछि तिर्छु’ भन्दै स्थानीय व्यवसायी र सर्वसाधारणसँग नगद तथा आवश्यक सामग्री लिएको जनाइएको छ । ‘मुख्य ठेकेदार मै हुँ भन्थे,’ कुस्माका व्यवसायी राजनकुमार जोशीले भने, ‘विश्वासमा पर्दापर्दै एक्कासि गायब भए ।’

पीडितका अनुसार तामाङले प्रयोग गर्दै आएका दुईवटै मोबाइलमा अहिले सम्पर्क हुँदैन । परिवारले पनि मुख्य ठेकेदार पाण्डेबाट ठगिएपछि उनी एक वर्षदेखि आफूहरूको समेत सम्पर्कमा नरहेको जनाएको छ । ‘बुबा ल्याप्चे (अनपढ) हो,’ छोरा जगत तामाङले भने, ‘ठेकेदारले धेरै कुरामा सहीछाप गराएछन् । पछि बुझ्दै जाँदा हामीलाई ठगेका छन् । धेरै ठाउँमा यस्तै भएपछि अहिले बुवा हाम्रो सम्पर्कमा पनि हुनुहुन्न ।’

मुख्य ठेकेदार पाण्डेले भने तामाङ र आफूबीच अहिले कुनै सम्बन्ध नरहेको बताए । ‘मैले तत्कालै वर्क पेमेन्ट गरेको हो । मिति बिर्सें । ९८ लाख रुपैयाँ बैंकमा जम्मा गरिदिएको १५ मिनेटभित्रै झिकेर सम्पर्कविहीन भयो,’ उनले भने । फिल्डमा आउँदा सम्झौताबमोजिम काम नभएपछि तामाङलाई बारम्बार सम्पर्क गरेको उनले बताए । ठगिएका व्यवसायी र आफूबीच कुनै लेनदेन नभएको पाण्डेको दाबी छ । ‘मलाई सम्पर्क गरेर लेनदेन गरेकालाई आफ्नै हातले पैसा बुझाएको छु । जजसले ठगियौं भन्नुभएको छ, उहाँहरूको लेनदेन मलाई जानकारी छैन,’ उनले भने ।

पर्वत प्रशासनले ठगिएका व्यवसायीबाट प्रमाण जुटाएर आवश्यक कारबाही अघि बढाउने तयारी गरेको छ । ‘आज (शुक्रबार) उहाँहरूसँग कुराकानी भयो । प्रमाण जुटाउँदैछौं,’ प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘आइतबार मुख्य ठेकेदार आएपछि धेरै कुरा खुल्छ ।’ प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले उजुरीमा आवश्यक प्रमाण नपुगेकाले तामाङको खोजी नगरिएको बताए । ‘कोर्टमै गइसकेको विषय भए हामी लाग्नुपर्छ,’ उनले भने, ‘लेनदेनको सामान्य निवेदनका आधारमा खोजतलास गर्न मिल्दैन । लेनदेनको प्रमाण पनि छैन ।’ व्यवसायी पाण्डेलाई भुक्तानी दिएकोबारे जिल्ला इन्जिनियर जगदीश शर्माले भुक्तानी र लेनदेनको विषय फरक भएको बताए । ‘कुन ठेकेदारले कसलाई तिर्नु छ, हामीसँग सरोकार हुँदैन । हामीले सम्झौतामा उल्लेख भएअनुसार भुक्तानी दिने हो,’ उनले भने ।

प्रकाशित : असार ३, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?