कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चेपाङलाई रोपवेकै भर

हरिराम उप्रेती

भुम्लीचोक (गोरखा)– — मुग्लिन–मलेखु सडकका यात्रु तारमा झुन्डिएको बकेट तलमाथि गरेको देखेर अचम्म मान्छन् । तर यससँग जोडिएको चेपाङ परिवारको दु:ख उनीहरूलाई सायदै थाहा होला । गण्डकी गाउँपालिका–६ भुम्लीचोक, हिक्लुङका चेपाङ वर्षौंदेखि रोपवेबाट दैनिक उपभोग्य सामग्री ओसारिरहेका छन् ।

चेपाङलाई रोपवेकै भर

हिक्लुङबाट पृथ्वीराजमार्ग आउन २ घण्टा हिँड्नुपर्छ । सामान बोकेर उकालो लागे ४ घण्टा लाग्छ । त्यसैले स्थानीय बासिन्दा रोपवेबाटै उपभोग्य सामग्री ढुवानी गर्छन् । गाउँबाट कृषिउपज बजार लैजान्छन् । हिक्लुङ स्टेसनका बासु चेपाङले रोपवेको लठ्ठामा दुईचोटि मुंग्रो बजारेपछि तल्लो स्टेसनका पूर्णबहादुर चेपाङले इसारा बुझिहाले– अब माथिबाट तरकारी आउँदैछ । मुंग्राले लठ्ठामा फेरि तीनचोटि बजारेको इसारा हुन्छ– रोपवे बन्द गर्नुपर्छ ।

पूर्णबहादुरले रोपवे ‘ब्रेक’ लगाउँदै भने, ‘घिर्नीको मद्दतले चल्ने लठ्ठा एउटा काठले अड्याए रोकिन्छ । यसलाई हामी ब्रेक भन्छौं ।’ ६ सय १२ मिटर दूरीमा बस्ने बासु र पूर्णबहादुर झट्काकै इसारामा सामान ओसारपसार गर्छन् । १ सय २० घरधुरी चेपाङलाई रोपवेकै भर छ । सुरज चेपाङले गत सोमबार आफ्नो तरकारीको भारी रोपवेको माथिल्लो स्टेसनमा छाडे । अनि २ घण्टा हिँडेर धादिङस्थित रोराङको तल्लो स्टेसन आइपुगे । माथिल्लो स्टेसनमा छाडेको तरकारी भने पाँच मिनेटमै रोराङ आइपुगिसकेको थियो ।

‘तरकारी माथि नै संकलन हुन्छ अनि पालोअनुसार तल पठाउने हो,’ सुरजले भने । तल्लो स्टेसन झरेको तरकारी मलेखु, फिस्लिङ र मुग्लिनसम्मका बजारमा बिक्रीका लागि पुर्‍याइन्छ । रोपवे व्यवस्थित गर्न जलदेवी चेपाङ कृषि सहकारी गठन गरिएको छ । ‘प्रतिकिलो एक रुपैयाँ रोपवेलाई दिनुपर्छ,’ सहकारीका सचिवसमेत रहेका सुरजले भने, ‘त्यसलाई हामी रोपवे मर्मतसम्भार कोषमा राख्छौंं ।’ संकलित रकममध्ये भाग लगाएर ५० पैसा सहकारीले मर्मतका लागि राख्छ भने अर्को ५० पैसा अपरेटरले पाउँछन् ।

हिक्लुङका चेपाङ समुदायले वार्षिक १० लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्ने गरेको उनले बताए । तलबाट माथि जाने बकेटले पृथ्वी राजमार्गसँगैको बजारमा खरिद गरिएको उपभोग्य सामग्री लैजान्छ भने माथिबाट तल आउनेले तरकारी ल्याउँछ । ‘दुईवटा बकेट छन्, ब्यालेन्स मिलाउन भने जान्नुपर्छ,’ सुरजले भने, ‘ब्यालेन्स नमिले बकेटबीचमा अडकिन्छ ।’ माथिबाट आउने बकेटमा अनिवार्य ‘लोड’ हुनैपर्छ । तरकारी नहुँदा त्यसमा ढुंगा वा माटो राखेर तल पठाउने गरिएको छ । एकपटकमा ५० केजीसम्म सामान ओसार्न सकिन्छ ।

२०६६ चैतबाट सञ्चालित रोपवे जीर्ण बन्दै गएको तल्लो स्टेसनका अपरेटर पूर्णबहादुर बताउँछन् । ‘लठ्ठाको पोया एकपछि अर्को गर्दै चुँडिँदै गएको छ,’ उनले भने, ‘बनेदेखि अहिलेसम्म फेरेको छैन । यो वर्षको तरकारी ओसार्न पाउँछौं कि पाउँदैनौं भन्ने लाग्या छ ।’ रोपवे बाह्रै महिना बिहान ८ देखि साँझ ५ बजेसम्म चलाइने गरिएको छ ।

प्रकाशित : असार ३, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?