कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कच्चेमा पहिलोपटक गाडी

राजबहादुर शाही

कच्चे (मुगु) — सोरु गाउँपालिकाको कच्चे गाउँमा पहिलोपटक गाडी पुगेको छ । ग्रामीण पहुँच कार्यक्रमले गमगढीदेखि कच्चे गाउँसम्म करिब १७ किमि सडक बनाएपछि गाडी चलेको हो । गाडी पुगेको खुसीमा स्थानीयले शुक्रबार नाचगानसहित झाँकी निकाले ।

कच्चेमा पहिलोपटक गाडी

सडक बनेपछि उक्त भेगका फुली, निगाले, कच्चे, आसीधाराका स्थानीयलाई सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानी गर्न सजिलो भएको छ । नन्दकली बुढाले गाउँमा पहिलोपटक पुगेका ६ जीप, चालक र अथितिलाई फूलमालाले स्वागत गरिन् । ‘घरनजिकै गाडी पुग्यो, धेरै सुबिस्ता हुने भो,’ उनले भनिन्, ‘अब गाउँमा उत्पादित सामग्रीले सजिलै बजार पाउने भए ।’

ग्रामीण पहुँच कार्यक्रमले पाँच वर्षअघि गमगढी–रारा गिलाहासम्म २१ किमि सडक खन्न सुरु गरेको थियो । अब कच्चे गाउँमुनिको पाँच सय मिटर भीर खन्न मात्र बाँकी रहेको कार्यक्रमले जनाएको छ । भीर फोडेपछि सोरुको गिलाहा, तारापानीसम्म गाडी गुड्नेछन् । गाउँमा सडक पुगेसँगै स्थानीयले रोजगारी पाएको कार्यक्रमका जिल्ला संयोजक मोहन रुवालीले बताए । ‘कात्तिकभित्रै पूरै काम सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘कच्चेमा गाडी पुगेसँगै सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ ।’ निर्माण सकिएपछि स्थानीय तहलाई सडक हस्तान्तरण गरिने रुवालीले जानकारी दिए ।

सोरुमा गाडी पुगेपछि स्थानीयले विकासको अनुभूति गर्न थालेको गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी बमले बताइन् । कच्चे, बुम्च, ख्याल्च, सिप, गिलाहा, नुवाकोट, कालै, खनायालगायत गाउँका कृषि उपजले सहजै बजार भएको उनको भनाइ छ । ‘यसअघि सदरमुकाम आउन दुई दिन हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब एकै दिनमा सदरमुकाम पुगेर फर्कन सकिने भएको छ ।’ सडक निर्माणमा अहिलेसम्म ३८ करोड रुपैयाँ खर्च भएको कार्यक्रमले जनाएको छ । सडक निर्माणका लागि ७० वटा समूह गठन गरिएका थिए । १ हजार ४ सय स्थानीयले प्रत्यक्ष रोजगारी पाएको कार्यक्रम संयोजक रुवालीले बताए । ‘फुली, निगाले, कच्चे, आसीधारा, हेन्नीकाधलगायतका स्थानीयले सडक निर्माणका क्रममा गाउँमै रोजगारी पाए,’ उनले भने, ‘उनीहरूले प्रतिव्यक्ति तीन लाखसम्म कमाइ गरेका छन् ।’

प्रकाशित : असार ३, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?