निर्माण सामग्री अभाव

धरान–चतरा–हेटौँडा सडक
डिल्लीराम खतिवडा

बेल्टार (उदयपुर) — निर्माणाधीन धरान–चतरा–हेटाैंडा सडकको काम सामग्री अभावमा रोकिने भएको छ । सरकारले राट्रिय गौरवको योजनाका रूपमा लिए पनि आवश्यक ढुंगा, गिट्टी र बालुवा, ग्राभेल प्रयोगमा रोक लगाएपछि काम प्रभावित भएको हो ।

निर्माण सामग्री अभाव

उक्त योजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसाथ काम अघि बढाइएको थियो । डेढ वर्षको अवधि सकिइसकेको छ । बाँकी डेढ वर्षभित्र कालोपत्रे गरिसक्नुपर्छ । कालोपत्रेका लागि तयारी अवस्थामा पुर्‍याउन विस्तार भएको क्षेत्रमा अहिल्यै ग्राभेल हाल्नुपर्ने निर्माण कम्पनीका प्राविधिकको भनाइ छ । असारअगावै भण्डारण गरिएको ग्राभेल प्रयोग भइसकेको पूर्वी खण्ड निर्माण गर्न ठेक्का लिएको कम्पनी जेडआईईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए ।

‘पहिलेको भण्डारण सकिँदै गएको छ, थप भण्डारण र प्रयोगका लागि स्थानीय प्रहरी प्रशासन र जिल्ला समन्वय समितिले रोक लगाएको छ,’ उनले भने, ‘स्थानीय तहले राष्ट्रिय गौरवको योजना भएकाले खोलाबाट ग्राभेल उठाउन दिने भनेको छ तर जिल्ला समन्वय समितिले स्थानीय प्रहरी प्रशासनलाई पत्रचार गर्दै ढुंगा, गिट्टी, बालुवा निकासी रोक्न भनेकाले समस्या छ ।’

यसैबीच त्रियुगा नगरपालिकाले धरान–चतरा–हेटौंडा सडकलगायत राष्ट्रिय गौरवका आयोजनाका लागि पहिल्यै वातावरण मूल्यांकन भएका खोलाबाट निर्माण सामग्री निकासी गर्न दिने निर्णय लिएको छ । सरकारले संरक्षित क्षेत्रमा ३ महिना (असार, साउन र भदौ) नदीजन्य पर्दाथको निकासीमा रोक लगाएको थियो । नगरपालिकाले जिल्ला समन्वय समितिले तोकेकै दर रेटमा निकासी गर्न दिने भनिए पनि स्थानीय प्रशासनले भने रोक लगाएको छ ।

नदीजन्य पदार्थ प्रयोगको पूर्ण अधिकार स्थानीय तहलाई भएको स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईंले बताए । ‘चालु आर्थीक वर्षमा मात्रै समन्वय समितिले नदीजन्य पदार्थको निकासी लगायतका बन्दोबस्त गरेको थियो,’ उनले भने, ‘अब यसको सम्पूर्ण अधिकार स्थानीय तहलाई छ ।’ स्थानीय तहले पनि सरकारले तोकेको मापदण्डभित्र रहेर मात्र निकासी र प्रयोग गर्न पाउने उनले बताए ।

उक्त सडक दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । धरानदेखि सिन्धुलीको भिमादसम्म पूर्वी खण्ड पर्छ । यहाँ ४३ वटा पुलसहित सडक विस्तार भइरहेको छ ।

चौदन्डीगढी नगरपालिकाको बसाहा, वीरेन्द्र चौकदेखि सिन्धुलीको भिमादसम्म १ सय ३४ किलोमिटर खण्डको जिम्मा जेडआईईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले पाएको छ । यहाँ डेढ वर्षदेखि काम भइरहेको छ । पक्की पुलबाहेक ६ अर्ब रुपैयाँको लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौता छ । यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का कोभेक/रसुवा/टुन्दि जेभी कन्स्ट्रक्सनले लिएको छ ।

२०७६ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी कार्ययोजना तयार भएको छ । निर्माण कम्पनीले उदयपुरको कटारी नगरपालिकको रिस्कुमा मुख्य कार्यालय राखी विभिन्न क्लस्टर बनाएर काम गरिरहेको हो । सवारी साधनका लागि ७ मिटर र दायाँबाँया सोल्जर क्षेत्र २/२ मिटर गरी ११ मिटर सडक कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

प्रकाशित : असार ११, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?