कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भौतिक पूर्वाधार प्राथमिकता

दुई महानगरमा बजेट

लेखनाथ/विराटनगर — पोखरा–लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट प्रस्तुत गरेको छ । मेयर मानबहादुर जीसीले आइतबार तेस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधार प्राथमिकता

पूर्वाधार विकास, वातावरण, सामाजिक विकासलाई जोड दिँदै प्राथमिकताका आधारमा बजेट लगानी हुने उनले बताए । प्रस्तावित बजेट चालु आर्थिक वर्षकोभन्दा २ अर्ब ५० करोड रुपैयाँले बढी छ । महानगरले चालु वर्षमा ४ अर्ब ३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

महानगरले बजेटमार्फत १२ वटा योजनालाई महानगरका गौरवका योजनाका रूपमा अगाडि सारेको छ । फेवा तथा बेगनास र अन्य सबै तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभर्सन, फेवा–बेगनास मोनोरेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई भूमिगत गर्ने तथा रेलिङ निर्माण, कोर सिटीका १६ किमि सडकलाई स्तरोन्नति, पर्यटक बसपार्क निर्माण र फिर्के करिडोरलाई महानगरले गौरवको योजनामा राखेको छ ।

बजेटमा पूर्वाधार विकासतर्फ २ अर्ब २३ करोड, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रुपैयाँ छुट्टयाइएको छ । विभिन्न कोषका लागि जम्मा २१ करोड रुपैयाँ, राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँट फिर्तातर्फ ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

आयतर्फ ४ अर्ब ३३ करोड ७५ लाख अनुमानित बाह्य आय रहेको छ भने आन्तरिक आयतर्फ १ अर्ब ६९ करोड ९० लाख, नगद मौज्दात ५० करोड रुपैयाँसमेत रहेको छ । जसमध्ये नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६१ करोड ४४ लाख, नेपाल सरकारबाट प्राप्त ससर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदानतर्फ ६ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ १५ करोड, नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँडबापत ३४ करोड ६५ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडतर्फको आय ३ करोड २९ लाख रुपैयाँ रहेको छ ।

महानगरले एकीकृत सम्पत्ति कर, नक्सापास दस्तुर, व्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको स्रोतका रूपमा प्रयोग गर्दै आएको छ । महानगरले यस वर्ष कर नबढाई दायरा बढाउने नीति लिएको छ । यद्यपि, कुन क्षेत्रलाई करको दायराभित्र ल्याउने भन्ने स्पष्ट खाका अघि सारिएको छैन । महानगरमा जनप्रतिनिधि आएपछि कर संकलनमा केही वृद्धि भए पनि उल्लेख्य रूपमा महानगरको राजस्व बढ्न सकेको छैन । अघिल्लो वर्ष घोषणा गरिएको पर्यटन कर हालसम्म लागू हुन सकेको छैन । सडक स्तरोन्नति र फोहोर व्यवस्थापन महानगरको मुख्य प्राथमिकताभित्र छ ।

महानगरले कनेक्टिङ रोडलाई ४० करोड, विद्युत्, टेलिफोन तथा केबल तार भूमिगत गर्न ६ करोड, शिक्षालाई २५ करोड ५० लाख, स्वास्थ्यमा २३ करोड, खानेपानी निर्माण योजनामा १५ करोड रुपैयाँ छुट्टयाएको छ । महानगरले नयाँ कार्यालय भवनको निर्माण यसै वर्षदेखि थाल्ने भएको छ । महानगरको कार्यालय भवनसहित अन्य वडा भवन बनाउन १५ करोड रुपैया बजेटमा विनियोजन भएको छ ।

नगरसभाले आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङद्वारा प्रस्तुत आर्थिक विधेयक २०७५ र विनियोजन विधेयक २०७५ पनि पारित गरेको छ ।

विराटनगरको साढे ४ अर्ब
मोरङ– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । दोस्रो नगरसभामा आइतबार उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट प्रस्तुत गरिन् ।

बजेटमा आयतर्फ आन्तरिक आयबाट ५४ करोड ३ लाख, राजस्व बाँडफाँडबाट ३७ करोड ५ लाख ४ हजार, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघीय सरकार ससर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसंस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख, महानगरमा मौज्दात ७ करोड र मझौला सहर एकीकृत सहरी सुधार परियोजना र क्षेत्रीय सहरी विकास परियोजनातर्फ संघीय सरकार र महानगरको समपूरक कोषसमेतबाट १ अर्ब ९४ करोड २५ लाख समेटिएको छ ।

उपप्रमुख कार्कीले आगामी आवको व्ययतर्फ चालु खर्चमा ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्ता २० करोड, भौतिक पूर्वाधार निर्माणमा ३ अर्ब २५ करोड ३ लाख ३३ हजार, वातावरण, तथा सरसफाइ, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ५ करोड ९३ लाख ३० हजार र सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपक्षी विकासमा ६२ करोड ४३ लाख ३४ बजेट विनियोजन गरिएको जनाइन् । प्रस्तुत बजेटमध्ये ७२ दशमलव ७१ प्रतिशत भौतिक पूर्वाधारका लागि छुट्याइएको उनको भनाइ छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपक्षी कार्यक्रमका लागि १३ दशमलव ९६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

महानगर प्रमुख भीम पराजुलीले आगामी वर्षको नीति तथा कार्यक्रममा सुशासन, लैंगिकमैत्री एवं सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य, कृिष, वातावरणमैत्री, विपद् व्यवस्थापन र गरिबी निवारणलाई प्रमुख आधार बनाइएको बताए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नगरसभाको उद्घाटन गरेका थिए ।

म्याग्दीका स्थानीय तहको २ अर्ब ८७ करोड
यस्तै म्याग्दीका सबै ६ वटा स्थानीय सरकारहरूले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रम २ अर्ब ८७ करोड ८० लाख बराबरको छ । बेनी नगरपालिकाकी उपप्रमुख सन्जु बरुवालले नगरसभामा ५३ करोड ८९ लाख १३ हजारको बजेट सार्वजनिक गरिन् ।

बजेटमा चालुतर्फ ३७ करोड ६६ लाख र पुँजीगततर्फ १६ करोड २३ लाख १३ हजार विनियोजन गरिएको छ । आम्दानीतर्फ केन्द्रीय सरकारबाट प्राप्त अनुदान तथा राजस्व बाँडफाँडबाट ४८ करोड ८४ लाख १३ हजार र प्रदेश सरकारबाट प्राप्त १ करोड ९२ लाख र आन्तरिक स्रोतबाट ३ करोड १३ लाख गरी ५३ करोड ८९ लाख १३ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

धौलागिरी गाउँपालिकाले १५ करोड ८३ लाख चालुतर्फ र पुँजीगततर्फ १२ करोड १२ लाख ९५ हजार गरी कुल ३२ करोड २६ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ । ‘विगत वर्षको अनुभवबाट पाठ सिकेर बजेट सिलिङ बनाउँदा सबै क्षेत्रमा प्राथमिकीकरण गरेका छौं । सबै क्षेत्रलाई समेटेर टुक्रे योजनाभन्दा देखिने क्षेत्रमा बजेट विनियोजन गरेका छौं,’ गापाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भने ।

मालिका गाउँपालिकाको बजेट २९ करोड २७ लाख ६१ हजारको छ । संघीय सरकारबाट २५ करोड ५५ लाख ९८ हजार र प्रदेश सरकारबाट १ करोड ३२ लाख ८२ हजार आर्थिक अनुदान पाएको मालिका गाउँपालिकामा २ करोड रुपैयाँ सञ्चित छ । गापाको केन्द्रबाट वडा केन्द्रसम्मको सडकलाई बजेटले प्राथमिकतामा राखेको उपाध्यक्ष खरमाया विटालुले बताइन् ।

भौगोलिक रूपमा सानो मंगला गाउँपालिकाले ३१ करोड बढीको बजेट सार्वजनिक गरेको छ । रघुगंगा गाउँपालिकाले २५ करोडको बजेट ल्याएको छ । २८ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकाले जिल्लाका अन्य ५ गाउँपालिकामध्ये सबैभन्दा बढी १ करोड १ लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष्य लिएको छ ।

धनकुटामा ५२ करोड ८९ लाख
धनकुटा (कास)– धनकुटा नगरपालिकाले आगामी वर्षका लागि ५२ करोड ८९ लाख ४३ हजारको बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७५/०७६ को बजेट तथा नीति कार्यक्रमबारे शनिबार आयोजित पत्रकार भेलामा जानकारी दिइएको हो । यसक्रममा चालुतर्फ ३६ करोड १७ लाख र पुँजीगततर्फ १६ करोड ७२ लाख ४३ हजार रहेको नगरपालिकाका प्रवक्ता जम्शेर राईले जनाए । कुल बजेटको चालुतर्फ ६८.३८ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत छ ।

चालु आर्थिक वर्षको संशोधित विनियोजन ऐनअनुसार कुल बजेट ५१ करोड २८ लाख ४२ हजार छ । उक्त बजेटमा चालुतर्फ २७ करोड २८ लाख १६ हजार तथा पुँजीगततर्फ २४ करोड २६ हजार कायम भएको जनाइएको छ ।

प्रकाशित : असार ११, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?