२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लालपुर्जाविहीन जग्गामा बजार

जग्गाको लालपुर्जा नभएपछि बैंकबाट कर्जा लिन र बिक्री वितरणमै समस्या
कृष्णप्रसाद गौतम

गुटु (सुर्खेत) — चौकुने गाउँपालिका–८, गुटुबजारका बासिन्दा वर्षौंदेखि लालपुर्जाविहीन छन् । ८ नम्बर वडा कार्यालय, हुलाक, प्रहरी चौकी र वन कार्यालय समेतको लालपुर्जा छैन । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आफ्नै नामको जग्गा नहुँदा सरकारी लगानीका पूर्वाधार निर्माणमा समस्या भएको जनाएको छ ।

लालपुर्जाविहीन जग्गामा बजार

द्वन्द्वको समयमा तत्कालीन माओवादीले सामुदायिक वन पँmडानी गरी बजार बसाउन स्थानीयलाई नि:शुल्क जग्गा वितरण गरेको थियो । द्वन्द्वको समयमा माओवादीले ‘एकीकृत सामुदायिक बजार’ निर्माणका लागि स्थानीयलाई जग्गा उपलब्ध गराएको बजार व्यवस्थापन समिति अध्यक्ष गजराज वयकले बताए ।

उनका अनुसार २०६१ सालमा ‘टाउन प्लानिङ’ गरिएको हो । टाउन प्लानिङपछि पुरानो बजार मोतीसेरालाई गुटुमा सारिएको थियो । ‘प्लानिङपछि पुरानो बजार तल सर्‍यो,’ उनले भने,‘दुई दशकदेखि आफ्नै नाममा जग्गा नहुँदा ठूलो समस्या भइरहेको छ ।’ उनका अनुसार जग्गा पाएपछि स्थानीयले धमाधम घर बनाएर व्यापार थाले । पटक–पटक विभिन्न सरकारी निकायमा लालपुर्जाका लागि ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको उनको भनाइ छ ।

पश्चिम कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सुविधा नहुँदा स्थानीयवासी गुटुमा सामान किनमेलका लागि आउँथे । चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका बासिन्दा किनमेलका लागि गुटुबजार आउने गरेका छन् । गुटुमा प्रत्येक शनिबार हाटबजार लाग्छ ।

बजार विस्तार हुने क्रम बढ्दै गए पनि लालपुर्जाविहीन हुँदा व्यावसायिक काममा समस्या भएको होटल व्यवसायी दीपक वयकले बताए । दुई वर्षअघि सहरी विकास तथा भवन निर्माण विभागले बजार क्षेत्रमा नाली निर्माण र सडक ग्राभेल गरेपछि बजार थप व्यवस्थित बनेको छ । ‘बजार क्रमश: व्यवस्थित बन्दै गए पनि आफ्नै नाममा घरजग्गा नहुँदा समस्या छ,’ उनले भने, ‘न घरजग्गा छाड्न सकेका छौं न व्यवस्थित र पक्की घर बनाउन ।’

स्थानीय व्यवसायी टीकाराम आचार्यका अनुसार बजार बस्दा प्रतिघरधुरी १५ मिटर लम्बाइ र ७ मिटर चौडाइको जग्गा वितरण गरिएको थियो । ‘आफ्नै नाममा लालपुर्जा नहुँदा ढुक्कले आफ्नै घरमा बस्न सकिएको छैन,’ उनले भने,‘जग्गाको लालपुर्जा नभएपछि बैंकबाट कर्जा लिन, बिक्री वितरण गर्न लगायतका काममा समस्या छ ।’

उनका अनुसार स्थानीयले साविकको गाविसलाई वर्षेनी कर तिर्दै आएका थिए । आफ्नै नाममा पुर्जा नहुँदा पक्की घर बनाउन नसकिएको उनले गुनासो गरे । गुटु दुई दशकअघिसम्म दैलेख, जुम्ला, हुम्ला, कालिकोट, अछामलगायत सात जिल्लाको व्यापारिक केन्द्र थियो । पहाडी जिल्लाका बासिन्दा कर्णाली चिसापानी आउजाउ गर्न गुटुकै बाटो प्रयोग गर्थे ।

कर्णाली राजमार्ग र साँफेबगरको सडक खुलेपछि यहाँको व्यापार घटेको स्थानीय खडानन्द पौडेलले बताए । ‘अहिले पनि दैनिक चहलपहल र व्यापार आसपासका व्यापारिक केन्द्रको भन्दा बढी छ,’ उनले भने,‘तर आफ्नै नाममा जग्गा नहुँदा बढी रकम लगानी गरेर व्यापार गर्न सकिएको छैन ।’

गुटु बजारलाई अहिले विशालबजारका नामले चिनिन्छ । माओवादीका स्थानीय नेता विशाल ओलीको सेनाको आक्रमणमा मृत्यु भएपछि उनैको सम्झनामा विशालबजार नामकरण गरिएको हो । स्थानीयवासीले बजारमा खानेपानीको समेत समस्या भएको गुनासो गरे । बजारभरि एउटामात्रै धारा हुँदा होटल व्यवसाय सञ्चालन गर्न समस्या भएको वयकले बताए ।

चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बजारवासीलाई लालपुर्जा वितरणका लागि पहल गरिरहेको बताए । उनले लालपुर्जा वितरण गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताए । ‘बजारवासीका नाममा लालपुर्जा नहुँदा उनीहरू पनि वर्षौंदेखि विभिन्न समस्या भोग्न बाध्य छन्,’ अध्यक्ष शाहीले भने,‘हामीलाई पनि कर संकलनमा समस्या भइरहेको छ ।’ उनले जतिसक्दो छिटो स्थानीयवासीलाई पुर्जा वितरण गरिने प्रतिबद्धता जनाए । उनले गुटुलाई पूर्वाधारयुक्त बनाउन गाउँपालिकाले योजना बनाइरहेको बताए ।

प्रकाशित : असार ११, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?