२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘सबैको सहयोगले सफलता’

बुटवल — साँझको ७ बज्दै थियो । सृष्टि पोखरेल घरको भान्सामा आमालाई सघाउँदै थिइन् । त्यसैबेला उनको स्कुल स्कलर्स होम बोर्डिङ स्कुलका प्रधानाध्यापक बाबुराम बन्जाडेले फोन गर्दै ‘सृष्टि तिम्रो ४ जीपीए आएछ, बधाई छ’ भने ।

‘सबैको सहयोगले सफलता’

टेलिकममा फोन र एसएमएसमा आफ्नो सिम्बोल नम्बर ०४८८२९४ एम परीक्षण गर्दा पनि त्यही नतिजा निस्कियो । ‘बल्ल खुसी लाग्यो अनि मिहिनेतको फल पाएजस्तो लाग्यो,’ उनले सुनाइन्, ‘निकै मिहिनेत गरेर पढेकी थिएँ, त्यस्तै नतिजा आयो ।’

उनको उत्कृष्ट नतिजाका लागि आमाबुबा र विद्यालयका शिक्षकको सहयोग हो । आमाबुबाले दिएको संस्कार, शिक्षकले गरेको सहयोग र स्कुलको वातावरणले उत्कृष्ट परिणाम ल्याउन सहयोग गरेको उनले सुनाइन् । उनी सानैदेखि मिहिनेती, अनुशासित र मेधावी विद्यार्थी हुन् । नर्सरीदेखि नै यही विद्यालयमा पढेकी उनी कक्षा ५ सम्म द्वितीय र ६ देखि सधैं प्रथम भइन् । विद्यालयबाहेक घरमा दैनिक ५ घण्टा पढाइलेखाइमा बिताउँथिन् । सिर्जनात्मक तरिकाले उत्तर लेख्ने र हरेक विषयलाई सूक्ष्म तरिकाले पढ्ने उनको बानीले पनि उत्कृष्ट नतिजा ल्याउन सहयोग गरेको प्रधानाध्यापक बन्जाडेले बताए । उनका अक्षर सफा र सुन्दर भएको विद्यालयले जनाएको छ ।

उनीजस्तै बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलबाट परीक्षा दिएका २ छात्र र २ छात्राले पनि ४ जीपीए ल्याएका छन् । छात्रातर्फ ०४८४१४२ भी सिम्बोल नम्बरकी मनीषा थापा र ०४८४२७३ डब्लू सिम्बोल नम्बरकी सुम्निमा श्रेष्ठ हुन् । छात्रतर्फ ०४८४११५ भी सिम्बोल नम्बर भएका गौरव अमगाईं र ०४८४२१४ पी सिम्बोल नम्बर भएका सक्षम देवकोटाले पनि ४ जीपीए ल्याए । विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायका अनुसार चारै जना विद्यार्थी निकै मिहिनेती छन् ।

सामान्य परिवारका यी चारै जनाले विद्यालयकै छात्रवृत्तिमा पढ्दै आएका थिए । उनीहरूका लागि अतिरिक्त कक्षा र अन्य सुविधा पनि विद्यालयले नि:शुल्क व्यवस्था गरेको थियो । ‘चारै जना समानस्तरका थिए,’ उनले भने, ‘पढाइमा निकै चाख दिने, दोहोर्‍याएर पढ्ने अनि सफा लेख्ने गर्थे ।’ चारै जना विद्यार्थीले कक्षाका अतिरिक्त ५ देखि ६ घण्टा तयारीमा व्यस्त रहने र परीक्षाको समयमा निकै चलाख भएर समयको व्यवस्थापन गर्ने गरेकाले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।

यस्तै तिनाउ बोर्डिड. स्कुलकी छात्रा सलिना जीसीले पनि ४ जिपिए ल्याएकी छन् । उनको ०८८०३१८ जे सिम्बोल नम्बर हो । गुल्मीको मदानेकी उनले नर्सरीदेखि नै तिनाउमा पढेकी थिइन् । सहायक प्राचार्य सूर्यप्रसाद पाण्डेका अनुसार सलिना निकै चलाख र मिहिनेती छात्रा हुन् । दोहोर्‍याइ, तेहर्‍याइ पढ्ने र पढिसकेपछि लेख्ने उनको बानी थियो । परीक्षा नियन्त्रण कार्यालयले पूर्वप्रकाशित नतिजामा आइतबार दिउँसो फेरबदल गरेपछि रूपन्देहीमा ४ जीपीए ल्याउने विद्यार्थी बढ्न सक्ने शिक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ११, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?