कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सामान्य वर्षामै डुबान

अर्जुन राजवंशी

दमक — ढल निकासको उचित प्रबन्ध नहुँदा जिल्लाका थुप्रै बस्ती सामान्य वर्षामै डुबानमा परेका छन् । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएको वर्षाले दमक, बिर्तामोड, भद्रपुरलगायत क्षेत्र जलाम्मे छन् । जथाभाबी प्लटिङ र ढल निकासमा स्थानीय सरकारको ध्यान नपुग्दा बजार क्षेत्र डुबेका हुन् ।

सामान्य वर्षामै डुबान

दमकका बसपार्क, पशु हाट, दीपिनी मार्ग, दमक अस्पतालमा भित्रै पानी पसेको छ । सडक छेउका साना नालाबाट पानी भरिएर अस्पतालतिर बगेको थियो । इमर्जेन्सी भवन, औषधि स्टोरलगायत डुबेपछि बिरामीलाई अर्को वार्डमा सार्नुपरेको थियो ।

विगतमा भारी वर्षा हुँदा पनि नडुब्ने दमक केही वर्षयता नियमित डुबानमा पर्न थालेपछि नगरपालिकाका जनप्रतिनिधिले नै आपत्ति जनाइरहेका छन् । नगरपालिकाले ढल व्यवस्थापन र पानीको निकासतर्फ ध्यान नदिएको उनीहरूको आरोप छ ।

दमक ७ का वडा सदस्य श्याम कार्कीले नगरपालिकाले बर्खे पानीको निकासमा ध्यान नदिएको बताए । नगरभित्रका खोला, पैनी, होली, खोल्सीहरू अतिक्रमण भइरहँदासम्म नगरपालिका बेखबर रहनु दु:खद रहेको उनको भनाइ छ । ‘खोला, पैनी, खोल्सीहरूमा भइरहेको अतिक्रमण रोक्न नगरपालिकाले तत्काल कदम चाल्नुपर्छ । एक रातको वर्षामै नगर डुबानमा पर्दा लाखौंको क्षति पुग्ने गरेको छ,’ उनले भने ।

५ नम्बर वडा सदस्य कृतिका भट्टराईले नगरभित्रको दीपिनी खोला चौतर्फी अतिक्रमण हुँदा अहिले सानो पैनीको आकारमा रहेको बताइन् । यसैकारण स्थानीयले प्रत्येक बर्खामा ठूलो क्षति बेहोर्नु परिरहेको उनको भनाइ छ । बढ्दो सहरीकरणलाई ध्यानमा राख्दै तत्काल ढल व्यवस्थापन र पानी निकासमा खटिनुपर्नेमा भट्टराईले जोड दिइन् ।

मेयर रोमनाथ ओलीले दमक डुबान क्षेत्र नभए पनि पछिल्लो केही समययता समस्या दोहोरिइरहेको बताए । ‘ढल व्यवस्थापन नहुनु नै यसको मूल कारण हो,’ उनले भने, ‘नगरवासीले ढल व्यवस्थापनभन्दा पूर्वाधार विकासमै बढी बजेट माग्ने गरेकाले पनि समस्या देखिएको छ ।’ उनले नगरका सबै ढल व्यवस्थापनमा ३५ करोड बढी रकम आवश्यक पर्ने ओलीले बताए । ‘दीर्घकालीन रूपमा सोच्ने हो भने ३५ करोड ठूलो बजेट होइन । यति गरिए नगरलाई डुबानबाट धेरै हदसम्म बचाउन सकिन्छ,’ उनले भने, ‘तर, हाम्रा नगरवासीले ढल व्यवस्थापनमा भन्दा पूर्वाधार विकासमै बढी बजेट माग्नुहुन्छ । अनि, बर्खा लागेपछि सबै समस्यामा परिन्छ ।’

ओलीले आगामी आर्थिक वर्षदेखि नगरलाई डुबानबाट बचाउने गरी बजेट विनियोजन गरिने बताए । डुबान समस्यालाई अल्पकालीन र दीर्घकालीन दुई तरिकाले समाधान गर्ने गरी अघि बढ्ने योजना उनले सुनाए ।

प्रकाशित : असार ११, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?