कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेस्क्रिप्सनबिनै औषधि

फार्मेसीमा औषधि बिक्रीको रेकर्ड राख्ने सिस्टम नहुँदा निरीक्षण प्रभावकारी हुन सकेको छैन

काठमाडौँ — अनुहारको छाला चिलाउने र राता फोका उठ्ने भएपछि ललितपुरकी एक महिला नजिकैको मेडिकल पुगिन् । समस्या बताउनासाथ विक्रेताले उनलाई ‘बेटनोभेट’ नामक औषधि थमाए । न महिलाले डाक्टरको पुर्जी देखाइन् न त औषधि विक्रेताले नै कुनै कागज मागे ।

प्रेस्क्रिप्सनबिनै औषधि

ललितपुरकै एक बालकलाई जिउभरि ठेउलाका फोका उठ्यो । समस्या र बालकको उमेर बताएकै भरमा फार्मेसीवालाले उनलाई तीनथरी औषधि थमाइदिए । डाक्टरको पुर्जी मागेनन् । छाला रातो हुने, चिलाउने भएपछि जोरपाटीका एक व्यक्ति नजिकैको फार्मेसी पुगे ।

औषधि विक्रेताले अनुमानको भरमा दिएको औषधि प्रयोग गर्दा उनको समस्या घट्नुको साटो
बढ्यो । हाल उनी अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । गलत औषधि प्रयोग गरेका कारण आफूलाई लामो समय उपचार गर्नुपर्ने भएको उनले सुनाए ।

नेपाल मेडिकल काउन्सिलको आचारसंहिताअनुसार चिकित्सकको स्पष्ट प्रेस्क्रिप्सन (पुर्जी) अनुसार मात्रै कुनै पनि विक्रेताले औषधि बिक्री–वितरण गर्नुपर्छ । औषधिको नाम, सेवन गर्ने समयावधि र अन्य विस्तृत जानकारी नभई अनुमानका भरमा बेच्न मिल्दैन । सम्बन्धित निकायबाट अनुगमन र निरीक्षण नहुँदा जथाभाबी औषधि बेच्ने अभ्यास रोकिएको छैन ।

चिकित्सकको पुर्जीबिनै औषधि बेच्ने र किन्ने अभ्यासले मानव स्वास्थ्यमा भयावह स्थिति ल्याइरहेको नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटी अध्यक्ष डा.ढुण्डीराज पौडेल बताउँछन् । भन्छन्, ‘पहिले औषधि नपाएर मान्छेले ज्यान गुमाउँथे, अहिले जथाभाबी औषधि सेवनका कारण यस्तो भइरहेको छ ।’ यसमा राज्यको अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।

विशेषज्ञका अनुसार ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता मानव स्वास्थ्यमा देखिने सामान्य समस्या केही दिनमा आफैं निको भएर जान्छन् । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार नेपालमा २२ हजार चिकित्सक कार्यरत छन् । जसमध्ये १५ हजार चिकित्सक मात्रै दर्ता भएका छन् । दर्ता नभएका चिकित्सकबाट पनि जथाभाबी औषधि बेचबिखन भइरहेको पौडेल बताउँछन् ।

फार्मेसीबाट बिरामीलाई रोगका लक्षणका आधारमा औषधि दिइन्छ । धेरै रोगका साझा लक्षण हुन सक्ने हुँदा सल्लाहबिना जथाभाबी खान हुँदैन । डा. पौडेल भन्छन्, ‘ग्रामीण क्षेत्रमा सहजै अस्पताल र चिकित्सक भेटिंदैन, बिरामी फार्मेसीकै भरमा उपचार गर्न बाध्य छन्, यसरी उनीहरूको सही उपचार हुन सकिरहेको छैन ।’

डाक्टरको पुर्जीबिनै औषधि बिक्री गर्ने गलत अभ्यासले एकातिर बिरामीको स्वास्थ्यमा खेलबाड भइरहेको छ भने अर्कातिर लागूऔषध दुव्र्यसनीलाई पनि बढावा दिइरहेको छ । पुर्जीबिना किनेको औषधि लागूऔषध प्रयोगकर्ताले लुकीछिपी सेवन गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार जथाभाबी एन्टिबायोटिक औषधि प्रयोग गरेकै कारण विश्वमा प्रत्येक ४५ सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेका छन् । सन् २०५० सम्ममा यो संख्या बढेर ३ सेकेन्डमा एक जनाले ज्यान गुमाउने स्थिति आउने संगठनले जनाएको छ । दक्षिण एसियाली राष्ट्रमा एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोग भइरहेको छ ।

जथाभाबी बेचबिखनको अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी औषधि व्यवस्था विभागको हो । फार्मेसीमा औषधि बिक्रीको रेकर्ड राख्ने सिस्टम नहुँदा निरीक्षण प्रभावकारी हुन सकेको छैन । जनशक्ति र बजेट अभावकै कारण सूक्ष्म निरीक्षण गर्न नसकिएको विभागका महानिर्देशक डा. नारायण ढकाल बताउँछन् । ‘हामीले सरकारसँग बारम्बार जनस्वास्थ्य निरीक्षकको दरबन्दी मागिरहेका छौं, न्यून बजेटले पहिलो प्राथमिकताका काम मात्रै हुन सकेको छ,’ उनले भने ।

प्रकाशित : असार २५, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?