२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दूधको स्रोत नै दूषित

काठमाडौँ — दूधमा कोलिफर्म रसायन मिसिनुमा मुहान नै दूषित भएको खाद्य विज्ञले बताएका छन् । आइतबार राजधानीमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले यस्तो बताएका छन् ।

दूधको स्रोत नै दूषित

डेरी उद्योगबाट उत्पादित प्रशोधित दूधको परीक्षण गर्दा सूक्ष्म जीवाणु कोलिफर्म र खाने सोडालगायतका रसायनको मिसावटले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको खाद्य तथा पेयपदार्थ विज्ञ दिलीप सुब्बाले बताए ।

उनले भने, ‘सरकारी डेरीकै उत्पादनमा कोलिफर्म जीवाणु फेला पर्दा दुग्धजन्य पदार्थको उपभोगमा कमी आइसकेको छ, नेपालजस्तो कृषिप्रधान देशका लागि दुग्ध व्यवसाय धराशायी हुनु दु:खको कुरा हो ।’ खाद्य स्वच्छता नीति निर्माताको प्राथमिकतामा नपर्नु, निरीक्षण अनुगमन गर्ने निकायमा स्रोतसाधनको र प्राविधिक अभाव नहुनु, आवश्यक प्रयोगशाला र उपकरणको अभाव यसको प्रमुख कारण भएको उनले बताए ।

गोठको सरसफाइको नपुग्दा दूधमा कोलिफर्म जीवाणु देखिने विज्ञ बताउँछन् । दूध दुहुँदा गाईको थुन र कल्चौंडामा टाँसिएको मलमूत्रबाट नै कच्चा दूधमा कोलिफर्मको संक्रमण हुने, दूध दुहुन, ओसारप्रसार गर्न र राख्न प्रयोग गरिने सामग्रीबाट कोलिफर्मको संक्रमण हुने अर्का विज्ञ डा. अतुल उपाध्यायले बताए । उनले भने, ‘गोठबाट प्रशोधनस्थल हुँदै उपभोक्तासम्म ल्याउँदा कच्चा दूधलाई ५ डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्छ, जुन मापदण्ड पूरा गरिएको पाइँदैन ।’

दूध संकलन केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र र बिक्री केन्द्रमा चिसो र उचित सरसफाइ कायम गर्न सके संक्रमण रोक्न सकिने उनले बताए । दूधजस्तो पोषिलो खानेकुरा जीवाणुको संक्रमणबाट जोगाउन र हानिकारक रसायनको मिसावटलाई निरुत्साहित गर्न सरोकारवाला संवेदनशील हुनुपर्ने खाद्य वैज्ञानिक डा. गंगा खरेलले बताए ।

उनले भने, ‘सरकारले दूध चिस्यान केन्द्र र प्रशोधन उद्योगको मापदण्ड बनाएर नभएको निरीक्षण अनुगमन गर्नुपर्छ, गुणस्तर मापन गर्ने आफ्नै प्रयोगशालाको व्यवस्था गर्नुपर्छ ।’ कोलिफर्म पाइएका डेरी र उद्योग तुरुन्त बन्द गरेर गुणस्तरीय बजार बनाउनुपर्ने उनले बताए ।

दुग्धजन्य पदार्थमा कुनै पनि किसिमको रासायनिक पदार्थ मिसावट गर्न नहुने र त्यस्तो मिसावट गरी उपभोक्तको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई विद्यमान ऐनबमोजिम कानुनी कारबाही गर्नुपर्ने विज्ञको माग छ ।

प्रकाशित : असार २५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?