कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमात्य सत्तलको पुनर्निर्माण अलपत्र

भक्तपुर — भूकम्प गएको ३८ महिना बित्न लाग्दा पनि नेपालकै प्राचीन चाँगुनारायण मन्दिर परिसरको अमात्य, चौघेरा सत्तल र केही मन्दिरको पुनर्निर्माण ठप्प छ ।

अमात्य सत्तलको पुनर्निर्माण अलपत्र

विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको अमात्य सत्तलको पुनर्निर्माण थालेको ‘हेरिटेज एन्ड इन्भारोन्मेन्ट कन्जरभेसन फाउन्डेसन नेपाल’ नामक संस्थाले निर्माणाधीन सत्तल अलपत्र छाडेको छ ।

पुनर्निर्माणका लागि ल्याएको काठ यत्रतत्र छोडिदिँदा कुहिएर खेर जाने अवस्थामा छ । ‘पुनर्निर्माणका लागि ल्याएको काठ व्यवस्थित किसिमले राखेको छैन, घामपानीले काठ कुहिन थालेको छ,’ स्थानीय नारायण श्रेष्ठले भने, ‘कतिपय काठ कुहिएर ढुसी/च्याउ पलाउन थालेको छ ।’

भूकम्प लगत्तै चाँगुनारायण मन्दिर परिसरको कीलेश्वर महादेव मन्दिर पुनर्निर्माण गरेको संस्थाले अमात्य सत्तल पुनर्निर्माण थालेर अलपत्र छोडेको छ । अघिल्लो वर्ष नै संस्थाले चाँगुनारायण मन्दिरसँगै त्यस परिसरका सबै सम्पदा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो । तर, मूल मन्दिरबाहेक भूकम्पले क्षति पुर्‍याएका सबै सम्पदा पुनर्निर्माण गर्ने जिम्मा पाए पनि संस्थाले निर्माण कार्य ठप्प पारेको छ ।

चौघेरा सत्तलको दक्षिणस्थित अमात्य सत्तल पुनर्निर्माण बीचमै छाडेर संस्था बेपत्ता भएको छ । निर्माणाधीन सत्तलको झ्याल/ढोकाको काठ नछोपी छोडेको छ । क्षतिग्रस्त चाँगुनारायण मन्दिरको जीर्णोद्धार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले सम्पन्न गरेको छ ।

संस्थाले दाताहरूबाट संकलित बजेटले अमात्य सत्तल पुनर्निर्माण थालेको र बजेट अभावमा कार्यलाई निरन्तरता दिन नसकेको हेरिटेज एन्ड इन्भारोन्मेन्ट कन्जरभेसन फाउन्डेसन नेपाल आर्किटेक इन्जिनियर शेखर डंगोलले बताए । करिब एक करोड अनुमानित लागतमा थालेको अमात्य सत्तलको पुनर्निर्माण चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य थियो । तर, डोनर एजेन्सीहरूले अनुदानको आश्वासन मात्र दिने, बजेट नदिने गर्दा पुनर्निर्माणमा समस्या आएको उनी बताउँछन् ।

सम्पदा पुनर्निर्माणको नाममा संस्थाले आर्थिक अनियमितता गरिरहेको स्थानीयले आरोप लगाए । पुरातत्त्व विभागले संस्थाको क्षमता र बजेट नहेरी प्राचीन, ऐतिहासिक सम्पदाहरू एउटा संस्थाको झोलामा हालिदिएको भन्दै आलोचना गरिरहेका छन् । ‘क्षतिग्रस्त अमात्य सत्तल पुनर्निर्माण गर्ने नाममा संस्थाले अलपत्र छोडेको छ,’ स्थानीय आकृति भँडेलले भनिन्, ‘झ्याल/ढोका वर्षात्को पानीले कुहिएर गइसक्यो, थुपारेका काठहरूको व्यवस्थापन समेत गरेको छैन ।’

पुरातत्त्व विभाग भक्तपुरले भने संस्थाले पुनर्निर्माणको प्रतिबद्धता जनाएका सम्पदाहरूको पुनर्निर्माण ताकेता गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । ‘ंसंस्थाले सम्पदा ओगटेर मात्रै राख्यो,’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरका सूचना अधिकारी इन्जिनियर मोहनकृष्ण श्रेष्ठले भने, ‘सम्पदा पुनर्निर्माणको प्रतिबद्धता गरेको तीन वर्ष बित्न लाग्दा समेत संस्थाले सम्पदा पुनर्निर्माण नगर्दा हामीलाई काम गर्न समस्या भएको छ ।’

कुनै पनि संस्थाले दाताको भर परेर क्षतिग्रस्त सम्पदा झोलामा राखेर बस्छ भने पुरातत्त्व विभाग चुप लागेर नबस्ने श्रेष्ठ बताउँछन् । संस्थाले ओगटेर राखेको चाँगुनारायण मन्दिरको चौघेरा सत्तललगायतको पुनर्निर्माण विभागले गर्ने तयार गरेको जनाएको छ । आगामी आर्थिक वर्ष ०७५/७६ मा विभागले चौघेरा सत्तललगायत सम्पदा पुनर्निर्माणका लागि करिब २४ करोड ३५ लाख विनियोजन गरेको र ठेक्का प्रक्रिया थालिएको जनाएको छ ।

प्रकाशित : असार २६, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?