जेनतेन चल्दै छन् जात्रा

९ वटा रथ निस्कने त्रिशूल जात्रामा अहिले तीन मात्रै
प्रशान्त माली

काठमाडौँ — पशुपति देवपत्तन क्षेत्रमा गत शुक्रबार त्रिशूल जात्रा मनाइयो । जात्रामा कर्मकाण्ड नगरेका तीन र रजस्वला नभएकी दुई बालिकाको प्रमुख भूमिका रहन्छ । यस वर्ष यस क्षेत्रका अभिभावकले जात्रा गर्न आफ्ना छोराछोरी दिन मानेनन् । ललितपुर लेलेका दुई बालकलाई ल्याएर जेनतेन जात्रा गरियो ।

जेनतेन चल्दै छन् जात्रा

परम्पराअनुसार ९ वटा रथको जात्रा हुन्थ्यो । २०६७ अघि २ वटा मात्र सञ्चालन थियो । अहिले तीनवटा सञ्चालनमा छन् । जात्रा प्रत्येक वर्ष असार कृष्णपक्ष भलभल अष्टमीमा मनाइन्छ ।

२०७० मा आदिकालदेखि चल्दै आएको नाच नानिचा या: बन्द भयो । यो भाद्र शुक्लपक्ष चतुर्थीदेखि ४ दिन सञ्चालन गर्ने परम्परा थियो । स्थानीय गुठियारले नाच सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषसँग समयानुकूल खान्कीमा परिमार्जन गर्न माग गरेका थिए । तर, बेवास्ता गरियो । नाच सञ्चालन गर्न ४ वाद्यवादक र ३० जना बढी जनशक्ति आवश्यक पर्छ । नाचमा जयबागेश्वरी देवीले लगाएको हीरामोती रत्नजडित बहुमूल्य गरगहना प्रयोग हुन्छ ।

वैशाख शुक्ल पक्ष अष्टमीमा धव:स्वाँ छायगु भनी दमनारोहण पर्व सञ्चालन गर्ने परम्परा छ । पशुपति, जयबागेश्वरी र राजाराजेश्वरी मन्दिरमा भक्तपुरका किसानले ल्याउने उक्त फूल चढाएर तान्त्रिक विधिबाट विशेष पूजा गर्ने प्रचलन छ । अहिले राजाराजेश्वरी बन्द भइसकेको छ । दफा भजन, यला र गुँला पर्व जेनतेन सञ्चालनमा छन् । २०७० मा सम्पन्न जयबागेश्वरीको कलेवर फर्ने पर्व जेनतेन थियो ।

यी देवपत्तन क्षेत्रमा मनाइने केही जात्रा पर्व हुन् । यहाँ बाह्रै महिना जात्रा हुन्छ । कतिपय लोप त कतिपय जेनतेन सञ्चालनमा छन् । पहिला जात्राहरू अमालकोट कचहरी कार्यालय गौशाला, जयबागेश्वरी भण्डार, पशुपति भण्डार तहबिल कार्यालयअन्तर्गत सञ्चालन हुन्थ्यो । पशुपति क्षेत्र विकास कोष स्थापनापछि यी तीनै कार्यालयलाई कोषको मातहतमा ल्याइयो । गुठी जग्गाको आयस्ता आफैंले भित्र्याए । गुठी संस्थान गौशालाले जग्गाहरू रैकरमा परिणत गर्‍यो । अमालकोट कचहरी कार्यालय गौशालाका द्वारे (मुख्य व्यक्ति) पूर्ण डंगोल भन्छन्, ‘आयस्ता नभएपछि कतिपय गुठी नास भए । जात्रा पर्व संकटमा पर्दै गएका छन् । संरक्षण सम्वद्र्धन गर्ने जिम्मेवारी पाएको निकायले चासो दिएनन् ।’

उनले जात्रापर्वलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न सकेमा पशुपति क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताए । ‘यसले कोषको आम्दानी भित्र्याउन थप मद्दत गर्छ,’ उनले भने, ‘यसतर्फ कोषको ध्यान गएको छैन ।’ २०४३ मा पशुपति क्षेत्र, त्यहाँको धर्म, संस्कृति र परम्परालाई संरक्षण सम्वद्र्धन र विकास गर्न उद्देश्यले कोषको स्थापना भयो । तर, अहिलेसम्म कोषसँग त्यहाँका मूर्त र अमूर्त संस्कृतिबारे यकिन तथ्यांक छैन । जात्रा सञ्चालन गर्न गुठी संस्थानले रथ तान्ने गुठियारलाई चिउरा र मिठाई, चरम पंखा हप्काउने, हपा: दिने (रथ निश्चित दिशामा लैजान नेतृत्व गर्ने) र पुजारीलाई ३३ पैसा दिने गर्दथ्यो ।

जयबागेश्वरी मन्दिरका पूर्व मूल पुजारी मृत्युञ्जय कर्माचार्य भन्छन्, ‘रकम र जिन्सी सामानमा समानुकूल परिमार्जन भएन । विकास कोषले पनि यसतर्फ ध्यान दिएन ।’ ‘यसले गंगामाईको जात्रामा रथ तान्ने गुठियारहरू आउन छाडे । अहिले बिजोग छ,’ उनले भने । गंगामाई जात्रा साउन ३ मा मनाइँदै छ । जात्रामा पशुपतिनाथको शिरमा विराजमान देवी गंगामाईको मूर्तिलाई नगर परिक्रमा गराइन्छ । गुरुजु पल्टन, राजप्रतिनिधिका रूपमा हनुमानढोका दरबारबाट मल्लकालीन राज खड्ग ल्याउने चलन छ ।

त्रिशूल जात्रा जोखिम मोलेर सञ्चालन गर्नुपर्छ । विकास कोषले दुर्घटना भएमा २ लाख रुपैयाँको मात्र बिमा व्यवस्था गरेको छ । जात्रामा सहभागी हुने गुठीलाई दिँदै आइरहेको रकम पर्याप्त छैन । कर्माचार्य भन्छन्, ‘कोषले दिने रकम पनि ठेकेदारमार्फत लिनुपर्छ । हरेक जात्रापर्वमा ठेकेदार खोज्दै हिँड्नुपर्ने अवस्था छ ।’ उनका अनुसार पर्वको एक दिनअगाडि पनि निकासा नपाउने, समयमा पूजासामग्री उपलब्ध नगराउनेजस्ता समस्या छन् । ‘पशुपति क्षेत्रबाट मनग्य आम्दानी भइरहेको छ । त्यही आम्दानीबाट तलब आइरहेका छन्,’ उनले भने, ‘तर, अहिले मन्दिरमा त्रिखण्डको सट्टा केशरी, रक्तचन्दनको सट्टा सिन्दुरले पूजा गर्नुपर्ने अवस्था छ ।’

पशुपति क्षेत्र विकास कोष निर्देशक भरत मरासिनीले कोषले गुरुयोजना तयारी गरिरहेको बताए । ‘योजनामा लोप भइसकेका मूर्त/अमूर्त सांस्कृतिक सम्पदाको पहिचान गरेर संरक्षण प्रवद्र्धन गर्ने खाका तयार गरिनेछ,’ उनले भने, ‘असोज मसान्तसम्म एउटा खाका आउँछ । आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना छ ।’ उनले अहिले अध्ययन अनुसन्धान भइरहेको बताए । वैशाख पूर्णिमा जयबागेश्वरी मन्दिरमा वर्षबन्धन पूजा हुन्छ । यज्ञ गरेर बेलुका ‘कुमारी खुवाउने पर्व’ गर्ने चलन छ । पर्वमा परम्पराअनुसार ९ जना कुमारी उपस्थित हुनुपर्छ । यस वर्ष सबै उपस्थित भएनन् । गुठी गाना सञ्चालन श्रद्धा र भावले गर्ने हो । ‘तर, अहिले पहिलेजस्तो अवस्था रहेन । मन्दिरमा गरिने तिथि विशेष पूजा पुजारी आफंैले खर्चेर गर्नुपर्ने अवस्था छ,’ कर्माचार्यले भने, ‘भजनकीर्तन बन्द भइसकेको छ ।’

दैनिक नृत्य र बेलुकाको आरती पूजा गर्दा दिने जिन्सी सामानको सट्टा नगद दिइयो । कर्माचार्य भन्छन्, ‘नगदीकरणले गर्दा पूजापर्वमा समस्या देखियो । हामीले पूजा गर्न आवश्यक रक्तचन्दन, त्रिखण्ड, अबिर, जौ, तिल, अक्षता, लाभा, यज्ञसूत्र, चामलको पिठो, कपुर, धूपबत्ती माग गर्‍यौं,’ उनले भने, ‘कोषले चासो दिएन ।’ पूजामा ८ गुठी संलग्न छन् । सिन्दुर, चन्दन, ध्वँ, वश्लेश्वरी, आकाशभैरव, कोटेश्वरी, कोक्ष र बालदैत्य गुठी छन् । अधिकांश गुठी जेनतेन सञ्चालनमा छन् ।

उपत्यकाका अधिकांश देवी नाच
देवपत्तन क्षेत्रमा नल्याईकन पूरा हुँदैनन् । प्राय: देवीदेवता साधना, कलेवर फेर्ने जात्राको क्रममा देवता लिन यही आउने गर्छन् । माघमा स्वस्थानी व्रत कथाको कृष्णपक्ष चतुदर्शीमा साँखुदेखि माधवनारायण व्रतालु र माधवनारायण मूर्तिसहित पदैल यात्रा गरेर यहाँ आउँछन् । औंसीमा मृगस्थली आर्यघाटमा मूर्ति स्थापना गरेर व्रतालुहरूले स्नान गरेर पूजा गर्ने चलन छ । यसरी आउने व्रतालुहरूलाई पनि उचित व्यवस्थापन गर्न नसकेको गुठियारको भनाइ छ ।

प्रकाशित : असार ३१, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?